काठमाडौँ । नेपाली कङ्ग्रेसका नेता एवम् पूर्वमन्त्री मोहम्मद आफताब आलमको निधन भएको छ ।
उच्च रक्तचाप, सुगरलगायत स्वास्थ्यमा समस्या देखिएपछि विगत एक महिनादेखि काठमाडौँको सिनामङ्गस्थित काठमाडौँ मेडिकल कलेजमा उपचार गराइरहेका आलमको २०८२ कात्तिक २२ गते बिहान २ बजे निधन भएको हो ।
आलमलाई दसैँअघिदेखि अस्पतालमा भर्ना गरेर राखिएको थियो । पछिल्लो एक सातादेखि स्वास्थ्यमा थप समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
आलमको उपचारका क्रममा निधन भएको अस्पतालका सञ्चालक एवम् काङ्ग्रेसका निवर्तमान सांसद डा सुनिल शर्माले जानकारी दिनुभयो ।
आलम २०५१ को उपनिर्वाचनमा पहिलोपटक संसदीय निर्वाचनमा विजयी भएका थिए । विजयी भएसँगै २०५४ सालमा श्रम राज्यमन्त्री र २०५५ मा वन राज्यमन्त्री भएका थिए ।
उनी २०५६ सालको संसदीय निर्वाचन र २०६४ को पहिलो संविधानसभा निर्वाचनमा पनि निर्वाचित भएका थिए । त्यसपछि उनी भूमिसुधारमन्त्री र श्रम तथा यातायातमन्त्रीसमेत बनेका थिए । २०६७ सालमा सम्पन्न कङ्ग्रेसको बाह्रौँ महाधिवेशनबाट उनी केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।
२०६४ चैत २७ गते पहिलो संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजपुरमा बमविस्फोटमा परेका यमुनामाई गाउँपालिका घर भएका घाइतेद्वय पिन्टु भनिने त्रिलोकप्रताप सिंह राजपुत र ओसी अख्तरलाई इँटाभट्टामा जलाएर हत्या गरेको कसुरमा जन्मकैदको फैसला भएपछि उनी कारागार जीवन बिताएका थिए ।
गत जेठ १४ गते रौतहट जिल्ला अदालतको फैसलाबाट कारागारमुक्त भएपछि उनलाई ब्रेनस्टोक भएको थियो ।
पूर्वमन्त्री आलमको परिवारमा दुई छोरा र एक छोरी रहेका छन् ।