काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यस वर्षको छठ पर्व मनाउनका लागि महानगरभित्र आठओटा स्थान तोकेको छ ।
महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले २०८२ कात्तिक ८ गते शनिबार पत्रकार सम्मेलन गरी यो जानकारी दिएका हुन् ।
उनका अनुसार कमलपोखरी, गौरीघाट, बोक्सीदह, बागमती दोभान, टङ्केश्वर, बल्खु कुमारी क्लबअगाडि, कुलेश्वर भलिबल ग्राउन्ड र रामघाटमा छठपर्व मनाउनका लागि ठाउँ तोकिएको छ ।
महानगरले यी तोकिएका स्थानमा सरसफाइको काम सुरु गरिसकेको पाण्डेले जानकारी दिए ।
सरसफाइका लागि तीन सयभन्दा बढी सरसफाइकर्मी खटिएका छन् । उनले छठ पर्व व्यवस्थित रूपमा मनाउन कुनै कमी नहुने गरी तयारी गरिएको जानकारी दिए ।
पाण्डेले छठपर्वको नाममा तालपोखरीमा पैसा उठाउन नपाइने स्पष्ट पारेका छन् । कसैले कुनै प्रकारको शुल्क लिन खोजेमा जानकारी गराउन पनि उनले आग्रह गरे । यस्तै, छठ मनाउन तोकिएको ठाउँमा सवारी पार्किङ नगर्न पनि उनले अनुरोध गरेका छन् ।
यस वर्ष पर्सि कात्तिक १० गते छठपर्व मनाइँदैछ ।