धनवीर पुनमगर ##
नेपाल सांस्कृतिक रूपमा विविधता रहेको देश हो । नेपालमा वर्षभरि नै कुनै न कुनै पर्व, मेलापर्व र उत्सव मनाइन्छन् । तिज, दसैँ र तिहार नेपाल समाजका तीन प्रमुख पर्वको रूपमा मनाइन्छ, जसले केवल धार्मिक वा सांस्कृतिक अर्थ बोकेका छैनन्, ती सामाजिक र भावनात्मक सन्देशका वाहक पनि हुन् तर यी पर्वको चमकधमक र उल्लास सधैँ सबै घरमा समान रूपमा झल्किएको पाइँदैन । सहरका उज्याला घरमा हाँसो, रमाइलो र धनीपनको प्रदर्शन हुन्छ भने गाउँका झुपडीमा त्यो उल्लास सामान्य नै रहन्छ । त्यसैले प्रश्न उठ्छ, तिज, दसैँ र तिहार आयो गयो तर गरिबको घरमा के आयो र के गयो ?
तिजको बारेमा नै सामान्य रूपमा छलफल गरौँ । तिज नेपाली नारीको मुख्य चाडको रूपमा मानिएको छ । सहरमा तिजको नाममा होटल र पार्टी प्यालेस भरिन्छन् । रातो साडी र सुनका गहनाले सजिएका तस्बिर सामाजिक सञ्जालमा छ्याप्छन् । “दर खानु, नाच्नु, रमाइलो गर्नु” भन्ने सन्देश सर्वत्र फैलिन्छ ।
गाउँतिरको दृश्य अर्कै हुन्छ । त्यहाँका नारीका लागि तिज भनेको ‘उपवास’ मात्रै होइन, ‘उपाय’ पनि हो । विगतमा घरमा केही मिठो पकाएर परिवारलाई खुवाउने अवसरको रूपमा लिइन्थ्यो तर वर्तमानमा सहरिया प्रभाव विस्तारै विस्तारै प्रभावित पार्दै गएको छ । जीवनको सङ्घर्षसँग जोडिएका नारी व्यथाकथा विस्तारै विस्तारै पश्चिमा छाडा परम्पराले प्रभावित बनाउँदै गइरहेको छ । अहिले तिज पर्व नारीका व्यथाकथा प्रस्तुत गर्ने गित सङ्गीतमा पनि विस्तारै विस्तारै छाडा र अश्लीलताको भुमरीमा पर्दै गएको छ ।
सहरिया संस्कार गाउँ भित्रिदै गर्दा कतिपय महिला तिजको दर खान ऋण लिन बाध्य पनि देखिन्छ छन् । तिजको गीतमा समानता र स्वतन्त्रताको कुरा गाइन्छ तर वास्तविक जीवनमा उनीहरू अझै पनि आर्थिक र सामाजिक सिमानाभित्र कैद छन् । तिजको नाचमा ‘समानताको स्वर’ हुन्छ तर त्यो स्वर गरिबघरको भित्ताभित्र पुग्दैन ।
दसैँको सन्दर्भमा चर्चा गर्दा पनि अवस्था एउटै प्रकार देखिन्छ । समग्रमा भन्नुपर्दा दसैँ नेपालकै सबैभन्दा ठुलो पर्व हो । यो विजयको प्रतीक हो, असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको । समाजका सबै वर्गले यसलाई परिवार र ममतालाई केन्द्रमा राखेर मनाउँछन् । बालबालिकालाई नयाँ लुगा, बुढाबुढीलाई नयाँ जुत्ता, घरमा मासु र मिठाई—यिनै हुन् दसैँका प्रतीक तर सबैका लागि त्यो सम्भव देखिँदैन ।
गरिबको घरमा दसैँ आउँछ तर त्यसको अर्थ छुट्टै होइन, चिन्ताको हो किनभने छोराछोरीले नयाँ लुगा माग्छन् तर बुबाको हात खाली हुन्छ । बजारमा सामान महँगो हुन्छ, मासु र चामलको मूल्य उक्लिरहेको हुन्छ । एउटा गरिबलाई दसैँ नजिकिँदै जाँदा सधैँभरि उसलाई चाड होइन, ऋणको भारी महसुस हुन्छ ।
धनीका घरमा दसैँ खुसी ल्याउँछ तर गरिबका घरमा रित्तोपन । कसैले बाख्रा काट्छ, कसैले ऋणको पाना पल्टाउँछ । एक पक्षको दसैँ फोटोमा सीमित रहन्छ, अर्को पक्षको दसैँ आँसुमा । त्यसमाथि प्रवासमा जीवन बिताउनेको सवालमा अझै पीडादायी हुन्छ । दसैँको टिका र जमरा पवित्रताको प्रतीक मानिन्छ तर ती पनि वर्गीय भेदमा बाँडिएका छन्, जसको निधारमा टिकाको रातो रङ र जमराको पहेलोपन पैसाको उपलब्धतामाथि चम्किएको हुन्छ तर जोसँग गरिबी छ, उसको निधारमा टिकाको रङ र जमराको रङ हरियो झल्को देखिन्छ । भन्नुको अर्थ एउटा अभावमा बाचेको मान्छेले मलीन चेहेरासहित ऋणको चाङमाथि आफू आसिन भएको महसुस गरिरहेको हुन्छ ।
तिहारलाई दिपावली उज्यालोको पर्व भनिन्छ । पाँच दिन लामो यो पर्वमा प्रकृति, जनावर र सम्बन्धको पूजा गरिन्छ । काग, कुकुर, गाई, भाइ, लक्ष्मी । घरघरमा दियो बालिन्छ, बाटाघाटामा रङ्गोली बनाइन्छ, बत्ती झिलिमिली हुन्छन् तर त्यो उज्यालो सबैको घरमा बराबर फैलिएको छैन । सहरका महलमा विद्युतका बल्ब झिलिमिली हुन्छन् तर गाउँका झुपडीमा दियोमा राख्ने तेलको पनि अभाव नै हुन्छ ।
धनीका घरमा तिहार व्यापारिक अवसर बन्छ, नयाँ कपडा, गिफ्ट, सजावट, पार्टी तर गरिबका लागि तिहार केवल “छोराछोरीलाई बत्ती देखाउने” दिन बन्छ । उनले छोराछोरीलाई भन्छन्– “दियो बालौँला तर सानु, तेल बचाउनुपर्छ ।”
तिहारको चौथो दिन लक्ष्मीपूजामा सबैले धनकी देवीको आराधना गर्छन् तर जसको घरमा पेट भर्नै धौ धौ छ, त्यसका लागि लक्ष्मीको अर्थ केवल सपना हुन्छ । त्यो सपना जुन हरेक वर्ष बत्तीको उज्यालोमा झल्किन्छ तर बिहानको उज्यालोमा फेरि हराउँछ ।
यी तीनै पर्वले एउटा तितो सन्देश दिन्छन् । हाम्रो समाज अझै पनि आर्थिक समानताको दृष्टिले गहिरो विभाजनमा बाँडिएको छ । धनीका लागि चाडपर्व मनोरञ्जनको अवसर हो भने गरिबका लागि दैनिकीको दबाब । धनीले चाडमा खर्च मनाउन रुचाउँछन्, गरिबले त्यो खर्चको हिसाब व्यवस्थापन गर्न । धनीका घरमा हाँसो गुञ्जिन्छ, गरिबका घरमा मौनता ।
समग्रमा भन्नुपर्दा चाडपर्वले धर्म, परम्परा र संस्कृतिको रङ त फैलाउँछ तर त्यही रङ गरिबको ज्यानमा घुल्दैन । त्यो रङ केवल देखावटीका लागि मात्रै सीमित रहन्छ । जब समाजमा असमानता गहिरिँदै जान्छ, तब चाडपर्व एक पक्षका लागि ‘उत्सव’ र अर्को पक्षका लागि ‘दु:खको सम्झना’ बन्छन् । चाडको साँचो अर्थ तब मात्र पूरा हुन्छ, जब सबै घरमा खुसी पुग्छ, जब कसैले पनि भोकै दसैँ मनाउनुपर्दैन र जब तिहारको दियो सबै आँगनमा बल्छ ।
हाम्रो परम्पराले हाम्रा मूल्य सिकाउनुका साथसाथै सहानुभूति, दया, माया र एकताका लागि प्रेरित गर्दछ तर अहिले त्यो भावनात्मक पक्ष हराउँदै गएको छ । सामाजिक सञ्जालमा चाडपर्वको अर्थ फोटो, भिडियो र देखावटी प्रदर्शनमा सीमित हुँदै गएको छ तर वास्तविक अर्थ त्यो होइन । चाडपर्वको सार भनेको साझा खुसी बाँड्नु हो, आफ्ना कमजोर छिमेकीलाई सम्झनु हो, त्यो विषय वर्तमान परिवेशमा अभाव हुँदै गइरहेको छ ।
यदि हामीले तिजमा कुनै भोकै आमालाई दर खुवाउन सक्यौँ, दसैँमा कुनै नाङ्गा बालकलाई लुगा दिन सक्यौँ र तिहारमा कुनै एक अँध्यारो घरमा दियो बाल्न सक्यौं भने तब मात्रै यी पर्व साँचो अर्थमा पवित्र बन्नेछन् ।
तिज, दसैँ र तिहार केवल धर्मका पर्व होइनन्, ती जीवनका सन्देश हुन् । तिजले हामीलाई सम्झाउँछन् । सुख त बाँड्दा बढ्छ, दु:ख त सहानुभूति बाँड्दा घट्छ तर जबसम्म हाम्रो समाजमा आर्थिक असमानता, बेरोजगारी र गरिबी घट्दैन, तबसम्म यी पर्व केवल ‘कागजको खुसी’ मात्र हुनेछन् ।
गरिबको घरमा चाडको अर्थ अझै पनि जीविकाको सङ्घर्षबिचको एक सासको राहत हो । त्यो राहतलाई स्थायी खुसीमा बदल्ने जिम्मेवारी हाम्रो समाजकै हो । हामी सबै मिलेर जब त्यो गरिब घरमा पनि उज्यालो पुर्याउँछौँ, तब मात्रै तिजको नाच, दसैँको टीका र तिहारको दियो साँचो अर्थमा अर्थपूर्ण बन्नेछन् ।
त्यस दिन हामी गर्वका साथ भन्न सक्नेछौँ, तिज, दसैँ र तिहार आयो गयो तर यसपटक गरिबको घरमा पनि उज्यालोको साथसाथै खुसीयाली पनि आयो ।