प्रकाश थापामगर, काठमाडौँ ।
देशमा सात सय ५३ ओटा स्थानीय तह छन् । त्यसमध्ये एउटा स्थानीय तह हो, काठमाडौँ महानगरपालिका । यसका प्रमुख हुन्, बालेन्द्र साह अर्थात् बालेन ।
उनी प्रदेश सांसद, प्रदेश मन्त्री, मुख्यमन्त्री केही होइनन्, न त सङ्घीय सांसद, मन्त्री वा प्रधानमन्त्री, राष्ट्रपति नै हुन् तर उनको प्रस्तुति यस्तो छ, सम्भवत: यति दम्भसाथ उनीभन्दा माथिका कसैले आफूलाई प्रस्तुत गरेका छैनन् ।
पछिल्लो जेनजी आन्दोलन भड्काउन बालेनको हात थियो भन्ने तथ्य जगजाहेर भइसकेको छ । स्थिति यस्तो देखा पर्ने गरेको छ, अघि अघि बालेनका सामाजिक सञ्जालका स्टाटस, पछि पछि जेनजीको नाममा क्रियाकलाप तर जेनजीका फोन नउठाएपछि भने उनको चरित्र एकाएक फेरिन थालेको छ । सामाजिक सञ्जालमै उनीप्रतिको फरक धारणा व्यक्त हुन थालेको छ ।
अब उनलाई “लुसिफर” भन्न थालिएको छ, जसको अर्थ हुन्छ, इसाई देवदूत, जो पहिले सत्य र न्यायका लागि काम गथ्र्यो, पछि आफ्नो बाटोबाट भड्कियो ।
त्यस्तै राजनीतिक वृत्तमा उनलाई गैरराजनीतिक व्यक्तित्व मान्न थालिएको छ । विश्लेषक देवप्रकाश त्रिपाठीले सामाजिक सञ्जालमा भनेकै छन्, उनी नेता होइनन्, यदि नेता भए उनले पब्लिक फेस गर्नुपर्दथ्यो । त्रिपाठीले भनेझैँ उनी राजनीतिक दलको नेताले झैँ जनता र आलोचकका प्रश्नको सामना गर्दैनन्, बरु मध्यरातमा सामाजिक सञ्जालमा कुण्ठापूर्ण अपशब्द पोख्दछन् ।
अहिले उनी फेरि अर्को स्टाटसका कारण चर्चामा छन् । त्यो चर्चा उनीप्रति गरिएको आलोचना “लुसिफर” सित सम्बन्धित छ ।
उनले २०८२ कात्तिक ५ गते साँझ फेसबुकमा लेखेका छन्– “चियाको टाइममा रगत पिएर अरूलाई लुसिफर भन्छौँ लाज लाग्दैन ?”
उनले प्रयोग गरेको शब्दप्रति गम्भीरतापूर्वक ध्यान दिनुहोस्, “चियाको टाइममा रगत पिएर” । यस्तो शब्द प्रयोग गर्ने प्रयोक्ता कुनै जनसाधारण होइन, जननिर्वाचित नगरप्रमुख हुन् । उनले यस्ता शब्द प्रयोग गरिरहँदा उनलाई भोट हाल्ने लाखौँ मतदाताले के सोच्लान् भनेर उनले सोचेको देखिन्न ।
बालेनले यस्तो अपशब्द प्रयोग गरेको पहिलोपटक होइन । उनले २०८० भदौ १७ गते सामाजिक सञ्जालमै लेखेका थिए– “आजको केही भएन । भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख, चोर सरकार ।”
प्रसङ्ग थियो, उनकी पत्नी सबिना काफ्ले चढेकी वाहनमाथिको प्रहरी केरकार । कोटेश्वरमा प्रहरीले बालेनपत्नी चढेको सवारी साधनबारे सोधपुछ गरेपछि बालेन यसरी प्रस्तुत भएका थिए ।
यहाँ पनि उनले प्रयोग गरेको शब्द स्मरण गर्नुहोस्– “सिंहदरबारमा आगो लगाइदिन्छु”, “चोर सरकार” । आखिर ठिक दुई वर्षपछि २०८२ भदौ २४ गते सिंहदरबारमा आगो नै लगाइयो । काठमाडौँ महानगरपालिकाले दमकल पठाएन, ललितपुर महानगरपालिकाले पठाएको दमकलले आगो निभायो ।
अहिले बालेनले यस सम्बन्धमा विभिन्न जवाफ दिइरहेका छन् । पछिल्लो समयमा उनले यो स्टाटस हटाएका छन् ।
नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवन काठमाडौँ महानगरपालिकाकै स्वामित्वमा छ । त्यसबाट पालिकालाई वार्षिक करोडौँ राजस्व पनि प्राप्त हुन्छ तर “लुसिफर” ले त्यसलाई बचाउन पनि वास्ता गरेनन् ।
अझै अर्को प्रसङ्गमा जाऔँ ।
२०८१ चैत ११ गते बालेनले सामाजिक सञ्जालमै लेखेका थिए– “काठमाडौँ महानगरपालिकाको सरसफाइ कर्मचारीले विगत तीन महिनादेखि तलब पा’को छैन, सरकारको दम्भले । को कोले के के आन्दोलन गर्ने हो, मलाई थाह छैन । अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु । त्यो पछि हेरौँला तिमीहरूको के के तन्त्र हो ?”
प्रसङ्ग थियो, महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसित उनको विवाद । उनले अधिकृत सरोज गुरागाईंमाथि रत्नपार्कको निर्माणाधिन टावरबारे एउटा आरोप लगाएका थिए । त्यसबारे सत्य तथ्य टुङ्गो नलागीकनै गुरागाईंलाई हटाउनुपर्ने उनको माग थियो । उनी त्यसको सट्टा अर्का अधिकृत चाहन्थे ।
यहाँ पनि उनले प्रयोग गरेको शब्द हेरौँ : “टुकुचामा गाड्दिन्छु” ।
पाँच वर्षका लागि निर्वाचित भएको एउटा प्रतिनिधिको यस खालको अपशब्द वा अराजनीतिक शब्दावलीको प्रयोगले सामाजिक सद्भाव बिग्रने नै भयो । त्यसै त शासनसत्ताको भ्रष्ट कुशासनले जनता आक्रोशित छन् नै, त्यसमाथि बालेनका यस्तो अपशब्दले समस्या बल्झिने भयो ।
फलस्वरूप भदौ २४ गते काठमाडौँ उपत्यका र उपत्यका बाहिर तोडफोड, आगजनीसहितको ठुलो विध्वंस भयो । त्यस्तै अहिले संसद् बाहिरबाट प्रधानमन्त्री चयन र उनको सिफारिसमा जननिर्वाचित प्रतिनिधिसभा विघटन भई संविधानमाथि आक्रमण भएको छ ।
वर्तमान संविधानका कमजोरी छन् नै तर यसभन्दा उच्च प्रकारको जनगणतान्त्रिक संविधान नबन्दासम्म यसको रक्षा गर्नुपर्ने हुन्छ ।
जननिर्वाचित संविधानसभाले निर्माण गरेको संविधानलाई खारेज गर्नुको अर्थ पुन: पछाडितिर फर्किनुहुनेछ । त्यसैले यो भन्दा अग्रगामी संविधान निर्माणको आधार तयार नहुँदासम्म यसमाथिको आक्रमण प्रतिगमन हो । “लुसिफर” ले प्रकारान्तरले प्रतिगमनलाई मदत पुर्याएका छैनन् भनी कसरी भन्न सकिन्छ ?