धनवीर पुनमगर ##
परदेशको सहरमा —
न्यानो छैन, तीजको हरियाली छैन,
यहाँ घाम त छ, तर माया छैन,
आफ्नो भाषा बोल्दा पनि, आफ्नै जस्तो कोही छैन।
कामका पाइलाहरू
घडीसँग बाँधिएका छन्,
दुई रूपैयाँका लागि —
मन हजार टुक्रा भएको छ।
यता घरमा —
आमा ढोका हेरिरहेकी होलिन्,
बाबा खेतको बाटोमा नजर गाडेका होलान्,
बाल्य सम्झनाको आँगनमा
संस्मरणको धुलो उडिरहेको होला।
चार्डपर्व आउँछ —
देउसीको गीत सुनिन्छ,
तर कानले होइन, मनले मात्र सुनिन्छ।
माताको ढिकीको ठकठक,
भैलोको स्वर — सहरको आवाजले ढाक्दैन।
राति निदाउँदा, सपना देख्छु —
पहाडको हावा, महको गन्ध,
साथीहरूको हाँसो, खोलाको गुनगुन,
त्यो सब हराएको होइन, बस टाढा छ।
तर मन भन्छ —
एकदिन फिर्ता हुन्छु,
परिश्रमका चुरोट धुलो बनेर
देशको माटोमा मिसिन्छ।
मुक्ति केवल देशको होइन,
आफ्नो आत्माको पनि खोज हो —
जहाँ कामको गुलामी होइन,
सपना र स्वाभिमानको खेती हुन्छ।

