काठमाडौँ । साउदी अरबले ७० वर्ष पुरानो कफाला प्रणालीलाई औपचारिक रूपमा समाप्त गरेको छ । त्यससँगै नेपाली श्रमिकलाई फाइदा हुने अपेक्षा गरिएको छ ।
समाचार संस्था एपीका अनुसार यो परिवर्तनको घोषणा जुन २०२५ मा नै गरिएको थियो तर अब यो आधिकारिक रूपमा समाप्त भएको हो ।
कफालाको अन्त्यले एक करोड ३० लाखभन्दा बढी विदेशी श्रमिकलाई फाइदा हुने बताइएको छ । यी श्रमिकमध्ये धेरैजसो भारत, बङ्गलादेश, नेपाल र फिलिपिन्सबाट आउने तथ्याङ्क रहेको छ ।
साउदीले कफाला प्रणाली समाप्त गरे पनि मध्यपूर्वमा युएई, कुवेत, ओमान, बहराइन, लेबनान र जोर्डनजस्ता देशमा यो प्रणाली अझै पनि विद्यमान छ।
कफाला प्रणाली
कफाला शब्द ‘कफिल’ बाट बनेको हो । ‘कफिल’ को अर्थ हुन्छ– प्रायोजक वा जिम्मेवार व्यक्ति अर्थात् त्यो व्यक्ति जो कुनै विदेशी श्रमिकको बसोबास र कामको लागि जिम्मेवार हुन्छ । यसलाई स्पोन्सरसिप प्रणाली पनि भन्न सकिन्छ ।
सन् १९५० को दशकमा खाडीका देशमा तेल उद्योग तीव्र गतिमा बढिरहेको थियो । तेलको माग धेरै बढिरहँदा यी देशमा स्थानीय मानिसको सङ्ख्या कम थियो । त्यसैले उनीहरूलाई धेरै विदेशी श्रमिकको आवश्यकता थियो ।
विदेशी श्रमिकको आवागमन र कामलाई नियन्त्रण गर्न पनि आवश्यक थियो । यसैका लागि कफाला प्रणाली बनाइएको थियो। यसमा कफिललाई अत्यधिक शक्ति दिइएको थियो।
मध्यपूर्वमा कफाला प्रणाली अन्त्य गर्नुपर्ने माग लामो समयदेखि चल्दै आएको थियो।
समस्या के थिए ?
कुनै श्रमिक यी खाडी देशमा काम गर्न आउँदा कफाला प्रणालीअन्तर्गत नै प्रवेश गर्नुपर्ने हुन्छ र त्यहाँका नियम तथा कानुन उनीहरूमाथि लागु हुन्छन् ।
कफिलले नै श्रमिकले के काम गर्ने, कति घण्टा काम गर्ने, उसको तलब कति हुने र कहाँ बस्ने भन्ने तय गर्दथ्यो ।
कफिलको अनुमतिविना श्रमिकले जागिर बदल्न र देश छोड्न पाउँदैनथ्यो । सरकारी अधिकारीसँग सिधै गुनासो गर्न पनि सक्दैनथ्यो । यसकारण श्रमिक प्राय: कफिलको नियन्त्रणमा फस्ने गर्दथे ।
मानवअधिकार सङ्गठन र अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) ले कफाला प्रणालीको दशकौँदेखि आलोचना गर्दै आएका थिए र यसलाई ‘आधुनिक दासता’ बताएका थिए किनभने यस व्यवस्थाले श्रमिकको सबैभन्दा आधारभूत अधिकार खोसेको थियो र जबरजस्ती श्रम तथा मानव तस्करीलाई बढावा दिएको थियो ।
तीन ठुला समस्या
१. जागिर परिवर्तनमा प्रतिबन्ध
यदि मालिकले श्रमिकसँग नराम्रो व्यवहार गर्दा, कम तलब दिँदा वा उनीहरूलाई १८–१८ घण्टा काम गराउँदा पनि उनीहरू सजिलै जागिर छोडेर अर्को ठाउँमा काम खोज्न सक्दैनथे । उनीहरूलाई नयाँ काम सुरु गर्न आफ्नो कफिलको अनुमति लिनुपर्दथ्यो । यदि कुनै श्रमिकले अनुमतिविना जागिर छोड्दथ्यो भने उसलाई अवैध बासिन्दा मानिन्थ्यो र उसलाई गिरफ्तार गर्न सकिन्थ्यो ।
२. देश छोड्नमा रोक
श्रमिकहरू देश छोडेर आफ्नो घर जान सक्दैनथे, पारिवारिक आपतकालमा समेत पनि । उनीहरूलाई देशबाहिर जान आफ्नो रोजगारदाताबाट बहिर्गमन भिसा (एक्जिट भिसा) स्वीकृत गराउनुपथ्र्यो तर मालिकले प्राय: अस्वीकार गरिदिन्थे, जसले गर्दा कर्मचारी बन्धक बनिरहन्थे।
३. राहदानी जफत
श्रमिकलाई कैदीजस्तै बनाउन कफिलले प्राय: उनीहरूको राहदानी जफत गरिदिन्थे । परिचयपत्र नहुँदा र यात्राको कुनै माध्यम नहुँदा उनीहरू साँच्चै फस्ने गर्दथे।
नियम लागु
साउदीले कफाला प्रणाली समाप्त गरेपछि नयाँ नियम लागु गरेको छ, जसअन्तर्गत श्रमिकलाई पहिलेको तुलनामा बढी स्वतन्त्रता मिल्नेछ ।
नयाँ व्यवस्थाअनुसार अब श्रमिकलाई आफ्नो कफिलको अनुमतिविना जागिर बदल्ने अनुमति मिल्नेछ । यसका अतिरिक्त देश छोड्न वा फर्कनका लागि सधैँ एक्जिट भिसा वा कफिलको अनुमति आवश्यक हुनेछैन ।
नयाँ नियममा अब श्रमिकलाई कानुनी सहायता दिने प्रावधान छ । यदि उनीहरूलाई तलब मिलेन, कामको वातावरण खराब छ वा अन्य समस्या छन् भने गुनासो गर्न र न्याय माग्ने बाटा सजिला हुनेछन् ।
यसका साथै नयाँ नियममा रोजगार सम्झौताको व्यवस्था स्पष्ट गरिएको छ । अब गैरसाउदी श्रमिकका लागि कामको अवधि, श्रमिक र कम्पनीको अधिकार, तलब र भत्तालाई लिखित रूपमा तय गर्नु अनिवार्य हुनेछ ।
साउदीमा एक करोड ३४ लाख विदेशी श्रमिक छन्, जो देशको कुल जनसङ्ख्याको लगभग ४२ प्रतिशत हो ।
किन बन्द भयो कफाला ?
१. छवि सुधार्ने प्रयास
साउदी अरबमाथि लामो समयदेखि कफाला प्रणाली आप्रवासी श्रमिकका लागि ‘आधुनिक दासताֹ’ जस्तै रहेको आरोप लाग्दै आएको थियो । मानवअधिकार सङ्गठनहरू; (जस्तै : ह्युमन राइट वाच र एम्नेस्टी) ले लगातार यसको आलोचना गरिरहेका थिए ।
२. भिजन २०३० को हिस्सा
क्राउन प्रिन्स मोहम्मद बिन सलमानको भिजन २०३० कार्यक्रम साउदी अर्थतन्त्रलाई तेलमाथिको निर्भरताबाट बाहिर निकाल्ने प्रयास हो । यसका लागि विदेशी लगानी र अन्तर्राष्ट्रिय कम्पनीको आवश्यकता छ तर कफालाजस्तो प्रणालीले लगानीकर्ता डराउँथे ।
३. विदेशी श्रमिकमाथि निर्भर अर्थतन्त्र
साउदीको कार्यबलमा लगभग ७० प्रतिशत बढी विदेशी श्रमिक छन् । कफाला प्रणालीका कारण धेरै श्रमिक फेरि आफ्नो देश फर्कन थालेका थिए वा नयाँ मानिस साउदी आउन चाहँदैनथे । सरकारलाई यदि प्रणाली परिवर्तन गरिएन भने श्रमिकको कमीले निर्माण, तेल र सेवा क्षेत्रमा असर पर्ने डर छ ।
४. कतारसँग प्रतिस्पर्धा
कतारले फिफा विश्व कप (२०२२) भन्दा पहिले कफाला प्रणाली लगभग समाप्त गरिदिएको थियो, जसले उसलाई अन्तर्राष्ट्रिय प्रशंसा दिलायो । साउदी पछाडि देखिन चाहँदैनथ्यो । (एजेन्सी)