रवि पौडेल #
२०८२ भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलनमा जुन भयानक दृश्य देखियो, यसले देशमाथि ठुलै षड्यन्त्र हुँदैछ भन्ने बुझिन्छ । जेनजी पुस्ता, जसले आन्दोलनको घोषणा गरे, धेरैजसो अमेरिकी युथ काउन्सिलको सदस्य रहेको बुझिँदैछ । यसरी नेपाली युवालाई अमेरिकी युथ काउन्सिलको सदस्य बनाउने, आर्थिक सहयोग गर्ने र तितामिठा नारा दिएर नेपाली युवा उचाल्ने योजना हुँदै त छैन भन्ने गम्भीर प्रश्न उब्जाएको छ ।
जेनजी आन्दोलनले नेपाल मात्रै हल्लाएन, त्यसको असर भारतको लद्दाख हुँदै जर्जियासम्म फैलिएको छ । नेपालमा सडकबाट सत्ता गिराएको भन्दै भारत र जर्जियामा पनि त्यहाँका जनताले सडकबाटै सत्ता गिराउने चेतावनी दिँदै जर्जियामा राष्टपति चढेको कारमाथि नै ढुङ्गामुढा गरेका छन् ।
यस्ता आन्दोलन गोप्य रुपमा अमेरिकी एजेन्सीले गर्दै विश्वको शान्ति खलबलाउने उदेश्यमा केन्द्रित देखिन्छ । नेपालमा चीनमाथि हमला गर्न सजिलो बनाउने उद्देश्यले नेपालमा पटक पटक अशान्ति फैलाउने र नेपाली सेनालाई निरीह देखाउँदै भारतीय वा अमेरिकी सेना भित्राउने गोप्य योजना हुन सक्ने अनुमान गर्न सकिन्छ ।
यसरी समग्रमा मूल्याङ्कन गर्दा अमेरिकी युथ काउन्सिलमार्फत नेपाली युवा उचाल्ने, बारबरा फाउन्डेसनका सदस्यमार्फत रकम दिने अथवा छोटकरीमा अमेरिकी लगानीमा नेपालको अस्तित्व मेटाउने खेल साम्राज्यवादी शक्तिले खेलेका छन भन्ने थुप्रै आधार छन् । आन्दोलन गराउने र आन्दोलनमा पसेर घुसपैठ गरी नेपालका सार्वजनिक सम्पत्ति, ऐतिहासिक भवरू खरानी बनाउनुले जेनजी आन्दोलनमा पर्दापछाडि अर्कैको योजना छ भन्ने बुझ्न गाह्रो पर्दैन । नेपाली मन भएको एउटा नेपालीले यति धेरै र यति ठुलो विध्वंस गर्न सक्दैन ।
कैदी फरार गराउनु, सर्वोच्चका फाइल गायब बनाउनु, खरानी पार्नु, “हामी नेपाल” समूह जेनजी आन्दोलनमा सहकार्य गर्नु, दर्जनौँ सङ्ख्यामा मानिस मर्दा मानवअधिकारवादी संस्थाले समेत र काठमाडौँ महानगरले एम्बुलेन्स तयार नपार्नु, आन्दोलन सकिएपछि एम्बुलेन्स बाँड्नु, जेनजी आन्दोलनपछि बनेको सरकारलाई दलाई लामाले शुभकामना दिनु, प्रहरी प्रशासनमाथि आक्रमण गर्नु, कुटपिट र हत्या गर्नु, राइफल र गोली लुटिनु, यो दृश्यले जेनजी पुस्ताले यो काम गरेका होलान भन्न कठिन हुन्छ । समाजमा भएका आपराधिक गतिविधिमा संलग्न व्यक्ति र साम्राज्यवादी एजेन्टबाहेक अरूले यस्तो गर्छन्जस्तो लाग्दैन ।
अहिले देशमा सत्तारूढ राजनीतिक दलहरू त्रासको वातावरणमा छन् । आन्दोलनमा गोली नचलेको भए र यति धेरै मानिस नमरेको भए स्थिति अर्कै हुन्थ्यो होला तर सरकारले गोली हान्ने आदेश नदिएको अवस्थामा गोली कसले चलायो ? प्रधानमन्त्री, गृहमन्त्री र सिडियोपछि फिल्ड अधिकारीले बाहेक अरूले गोली चलाउने आदेश दिन मिल्दैन । आदेश दिएपछि प्रहरीले जथाभावी गोली चलाउन मिल्दैन तर त्यहाँ जथाभावी गोली चलेका छन् । यसले आन्दोलनमा घुसपैठ भएको अनुमान गर्न सकिन्छ ।
देशमा अहिले न्यायपालिका, व्यवस्थापिका र कार्यपालिका ध्वस्त भएको अवस्था छ । जेनजी आन्दोलनबाट बनेको सरकारले पनि एक महिना बितिसक्दा पनि राम्रो काम गरेको देखिँदैन । ठुला निर्णय गर्न सक्ने हैसियत पनि छैन । जेनजीका सहिद र घाइते परिवारलाई सहयोगको लागि कुनै ठोस कदम उठाउन सकिरहेको छैन ।
सरकारले चुनावदेखि चुनावसम्मको नारा लगाएको देखिन्छ । जेनजीको रगतबाट बनेको सरकारका काम चुनाव मात्रै गराउनु हो र ? गृहमन्त्रीले विध्वंसकारीलाई कारबाही गर्न सकेका छैनन् । जेनजीका पनि धेरै पक्ष भएकाले को जेनजीको नेतृत्व हो भन्नेमा नै प्रधानमन्त्री सुशीला कार्की अन्योलमा छिन । जेनजीका पनि अलग अलग समूह देखिन्छन् ।
देशमा गणतन्त्र ल्याउने शक्तिहरू अहिले पछि परेजस्तो देखिन्छ । जसले लोकतन्त्र, गणतन्त्रको लागि लडाइँ लडे, तिनीहरू अग्रपङ्क्तिमा आउन सकेका छैननन् । यो निकै गम्भीर कुरा हो । देशमा भित्री रूपमा खतराको घण्टी बजेको छ । अझै आन्दोलन हुने र मुठभेड हुने सम्भावना छ । देशको सुरक्षा अवस्था गम्भीर छ । सेनाप्रहरीको मनोबल गिर्दाे अवस्था छ । साम्राज्यवादी शक्तिले नेपाली सेनालाई बदनाम बनाउन चाहन्छन् । सेनाले यो अवस्थामा गम्भीरतापूर्वक काम गर्नुपर्नेछ ।
राष्ट्रपतिले सर्वदलीय बैठक बोलाएको सन्दर्भमा यहीँबाट राम्रो निकास निस्कियोस् भन्ने आशा गर्नुपर्ने हुन्छ । चुनाव अनिवार्य बनाउने भए पनि संसद् पुन:स्थापना गरी त्यसबाट बन्ने सरकारले चुनाव गराउनु उपयुक्त हुन्छ । यस्तो गरिएमा जेनजीका माग पनि सम्बोधन हुने गरी वातावरण तयार पार्नुपर्छ ।
देशलाई पश्चिमा र साम्राज्यवादीबाट बचाउन राजनीतिक दल र जेनजी पुस्ताले संयमित भएर निर्णय गर्नुपर्नेछ । हतियार लुटिएका छन् । यस्तो अवस्थामा सडकमा अरू आन्दोलन गर्नु सही हुने छैन । आन्दोलन कोठामै सीमित राखियोस् । देशले दुई दिनमा धेरै नोक्सान खेपेको छ । अरू नोक्सान हुन दिनुहुँदैन । जेनजी पुस्ताहरू अरूबाट परिचालन हुनुहुँदैन । जेनजी पुस्ता देश र जनताको भलोका निम्ति साम्राज्यवादीको कलोमा रमाउनुहुँदैन । राजनीतिक दलका नेताहरू छिटै सुध्रिनुपर्छ । आम जनतासँग माफी माग्नुपर्छ ।
एक्कासि भएको ध्वंसले नेपाली जनताको जनजीवन अस्तव्यस्त भएको छ । साम्राज्यवादी शक्ति चनाखो भएका छन् । उनीहरूलाई परास्त गर्न सही निर्णय गर्नुपर्ने हुन्छ । सही निर्णय संसद् पुन:स्थापना र त्यसबाट बन्ने सरकार नै हुनेछ । त्यसबाहेक लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षताका लागि लडेका शक्तिहरू एक हुनुपर्छ ।