काठमाडौँ । राष्ट्रिय बिपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौँ उपत्यकाका नदी वा खोलाकिनारका सडक (करिडर सडक) मा साँझ ६ देखि बिहान ६ बजेसम्म सवारी आवागमनमा रोक लगाउन आग्रह गरेको छ ।
प्राधिकरणले असोज १८ गते सूचना जारी गर्दै काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा भारीदेखि अतिभारी वर्षा भइरहेको जनाउँदै करिडोर सडकमा आवागमन रोक लगाउन उपत्यकाका तीनओटै जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको हो ।
शनिबार राति वर्षाको मात्रा अझै बढ्न गई नदीखोलामा पानीको तह थप बढ्ने एवम् नदी वा खोलाकिनारका सडक डुबानमा परी जोखिम बढ्ने सम्भावना रहेको उल्लेख गर्र्दै प्राधिकरणले सतर्क रहन भनेको छ ।
“सम्भावित जोखिम कम गर्न काठमाडौँ उपत्यकाका नदी खोला किनारका सडक (करिडर सडक) मा आज साँझ ६ बजेदेखि भोलि बिहान ६ बजेसम्म सवारी आवागमनमा आवश्यकताअनुसार रोक लगाउनु हुन निर्णयअनुसार अनुरोध छ” प्राधिकरणद्वारा जारी सूचनामा उल्लेख छ ।