• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जनजाति मुक्ति आन्दोलन

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उत्तरजेनजी सरकार : भ्रष्टाचार विरुद्ध ‘शून्य सहनशीलता’ कार्यान्वयन होला ?


  •   शनिबार, असोज १८, २०८२ मा प्रकाशित
  • प्रकाश थापामगर ##

    Advertisement

    भत्कियो बहुमतको भ्रम

    जेनजी आन्दोलनले संसद्वादको यो भ्रम तोडिदिएको छ : ‘बहुमत भएपछि संसद् र सरकारमार्फत् जे पनि गर्न सकिन्छ ।’ राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिनिधिसभामा भन्ने गर्नुहुन्थ्यो– ‘बहुमत छ भन्दैमा ढुङ्गामाटो पल्टाउनुहुँदैन । माथिबाट पल्टायो भने आफैलाई पनि लाग्छ भन्ने बुझ्नुपर्दछ ।’ यस्तै भ्रममा रनभुल्ल परेका पछिल्ला सत्ताधारीलाई जेनजी आन्दोलनले होसमा ल्याइदिएको छ ।

    पक्कै पनि जेनजी आन्दोलनसित धेरै विषय जोडिएका छन् । आवरणमा आएका विषय र सारतत्त्वमा फरक छन् नै । भनिन्छ, ‘यदि वस्तुको रूप र सारमा भिन्नता नभइदिएको भए विज्ञानको अस्तित्व नै हुने थिएन’ । जेनजी आफैमा सङ्गठितभन्दा स्वत:स्फूर्त आन्दोलन बढी भएकाले त्यसलाई कुन पक्षले कुन स्वार्थ पूरा गर्नका लागि उपयोग गरे ? समय बित्दै जाँदा खुलस्त हुँदै जानेछ ।

    २०७९ सालको आमनिर्वाचनपछि संसदीय राजनीतिमा नेकपा (माओवादी केन्द्र) ले चरम सत्तालोलुप चरित्र प्रदर्शन गर्‍यो । संसद्मा तेस्रो ठुलो दल भएपछि सो पार्टीका अध्यक्ष पुष्पकमल दाहालले कहिले “निरन्तरतामा क्रमभङ्ग” त कहिले आफूसित “म्याजिक नम्बर” भएको दाबी गर्दथे । त्यही अतिआत्मविश्वासले पनि होला, उनी आफै सहमत भएर बनेको प्रतिगमन विरोधी मोर्चा छोडेर विरोधी क्याम्प नेकपा (एमाले) सँग मिल्न पुगे । पटक पटक उनको यस खालको पदलोलुपताको प्रतिक्रियास्वरूप नेपाली कङ्ग्रेस र एमालेको माझमा सत्तासाझेदारी सुरु भयो । त्यसपछि कङ्ग्रेस–एमालेमा बहुमतको दम्भ कायम भयो भने प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले आफूलाई सत्ताविरोधी भूमिकामा सीमित राख्यो ।

    संसदीय व्यवस्थाअन्तर्गत पनि एक हदसम्म सुशासन वा कानुनी शासन स्थापना हुन सक्छ भन्ने विश्वव्यापी मान्यतालाई सत्तावरिपरि घुमिरहने कङ्ग्रेस, एमाले र माओवादी केन्द्रले भत्काइसकेका छन् । मधेसवादी दलको त कुरै गर्नुपरेन । नयाँशक्ति भनेर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीको पनि अवस्था त्यस्तै देखियो । सहकारी ठगीआरोपमा रवि लामिछानेमाथि एकैपटक चितवन, कास्की, रुपन्देही, काठमाडौँ र पर्सामा मुद्दा चलिरहेको छ । कानुनको शासनलाई सम्मान गरिनुपर्नेमा उनले सरकारमा जान र सरकारमा गएर पनि गृहमन्त्री नै पाउन मरिहत्ते गरे । यसबाट रविले आफू विरुद्धको प्रमाण नष्ट गर्नका लागि नै गृहमन्त्रालय रोजेको भन्नेमा शङ्का थिएन ।

    अर्कोतर्फ सत्तारूढ कङ्ग्रेस–एमालेमा बहुमतको दम्भ चरममा पुग्यो । त्यसभन्दा अघि माओवादी केन्द्र नेतृत्वमा रहँदा बेथितीसित सम्बन्धित केही फाइल अगाडि बढाइयो । सँगसँगै सुनतस्करीजस्ता मामिलामा भने आफ्नो पार्टीसित सम्बन्धित आरोपीका फाइल अघि बढेनन् । त्यसका बाबजुद कङ्ग्रेस–एमाले पृष्ठभूमिका केही आरोपी जेल पुगे । फेरि पनि समग्रत: देशमा बेथिती, भ्रष्टाचार र कुशासनको अवस्था यथावत् नै रह्यो ।

    ओलीको अधिनायकवादी कार्यशैली

    एकातिर देशमा महँगी, बेरोजगारी, बेथिती, कुशासनजस्ता समस्या गम्भीर थिए, अर्कोतिर एमाले–कङ्ग्रेस सरकार देशको गम्भीर अवस्थाबारे आलोचना सुन्न तयार थिएन । प्रधानमन्त्री ओलीको कार्यशैली अधिनायकवादी रहेको विदितै छ । उनकै पहलमा एमालेभित्र दुई कार्यकाल अध्यक्ष रहने व्यवस्था र ७० वर्षे उमेरहद खारेज गरियो । पार्टीले नै निर्णय गरेर राष्ट्रपतिमा पठाइएकी विद्यादेवी भण्डारी पुन: एमालेमा सक्रिय हुन खोज्दा ओलीकै अग्रसरतामा उनको सदस्यता नवीकरण गरिएन । यी केही घटनाबाट ओलीको अधिनायकवादी चरित्रबारे धारणा कायम गर्न सकिन्छ ।

    ओलीको यस्तो कार्यशैली पछिल्लो मन्त्रिपरिषद्मा समेत देखा परेको थियो । प्रसङ्ग हो, सामाजिक सञ्जालमाथि रोकको । सर्वोच्च अदालतले कानुन बनाएर सामाजिक सञ्जाललाई नियमन गर्नू भनेको थियो तर सरकारले कार्यविधिमार्फत् यस विषयलाई नियमन गर्न चाहेको थियो । यसमा कङ्ग्रेसको असहमति थियो । कङ्ग्रेस सम्बन्धित देशका राजदूताबाससँग कूटनीतिक पहल गरेर सामाजिक सञ्जाललाई दर्ता गर्नका लागि पहलकदमी गर्ने गरी तत्कालका लागि त्यो रोक हटाउन चाहन्थ्यो । त्यसका लागि कङ्ग्रेस सभापति शेरबहादुर देउवाले नै प्रधानमन्त्री ओलीसित कुराकानी गरिरहेका थिए ।

    मन्त्रिपरिषद् बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले यस विषयमा करिब आधा घण्टा आफ्नो पक्ष राखेको सूचना मिडियामा आइसकेको थियो तर प्रधानमन्त्री ओली टसमस भएनन् । सम्भवत: यस परिघटनापछि कङ्ग्रेसले सरकार छोड्ने मन बनाइसकेको थियो । त्यसै पनि महामन्त्री गगन थापासहितको एउटा कङ्ग्रेसले सरकार छोड्न दबाब बढाइरहेको अवस्था थियो । एकातिर ओलीको अधिनायकवादी कार्यशैली, अर्कोतिर स्वयम् कङ्ग्रेस भित्रबाट सरकार छोड्ने दबाबका माझ कङ्ग्रेसको सरकारप्रतिको प्रतिबद्धता कमजोर बनेकोजस्तो देखिन्छ ।

    भदौ २३ गते साँझ जेनजी पुस्तामाथि गोली चलिसकेपछि मन्त्रिमण्डलको बैठक बस्यो । बैठकमा गृहमन्त्री लेखक ढिलो उपस्थित भए । बैठकमा प्रवेश गर्नासाथ प्रधानमन्त्री ओलीले गृहमन्त्री लेखकलाई सो दिनको घटनाबारे रिपोर्ट प्रस्तुत गर्न भने । गृहमन्त्री लेखकले सुरक्षास्थितिको रिपोर्ट प्रस्तुत गर्नुको सट्टा राजीनामा वाचन गरे र त्यसपछि बैठकबाट बाहिरिए । यस घटनाबाट प्रधानमन्त्री ओलीको मन्त्रिपरिषद्भित्रै एकताको अवस्था नभएको देखिन्छ । सम्भवत: यस्तो स्थितिकै कारण भदौ २३ गतेको सुरक्षास्थिति फितलो बनेको थियो कि ? सो बैठक र सार्वजनिक भएपछि ओलीले व्यक्त गरेका दुईओटा अभिव्यक्ति यस सन्दर्भमा उल्लेखनीय छन् : प्रथम– हामीले गोली चलाउने आदेश नै दिएका छैनौँ† द्वितीय– प्रहरीले घुँडामुनि गोली चलाउनुपर्नेमा टाउकोमा कसरी गोली चलायो ? यी अभिव्यक्तिबाट प्रधानमन्त्री र गृहमन्त्री अर्थात् सरकारभित्रै तालमेल नभएको अर्थ लाग्दछ ।

    जे होस्, भदौ २३ गते जेनजी प्रदर्शनकारीको छाती र टाउकोमा गोली चलाइयो । भदौ २४ गते त विध्वंस नै मच्याइयो । यसबाट ओली नेतृत्वको दुई ठुला भनिएका पार्टीको सरकार पूरै असफल भएको पुष्टि हुन्छ । त्यससँगै कङ्ग्रेस–एमाले सरकार रक्षात्मक बन्यो, सँगै मुख्यत: सत्ताको वरिपरि घुमिरहने अन्य पार्टी पनि रक्षात्मक अवस्थामा पुगे ।

    संविधानमाथि आक्रमण

    जेनजी आन्दोलनको परिणामस्वरूप संविधानमाथि आक्रमण भएको छ । संसद् बाहिरबाट मन्त्रिपरिषद् गठन भयो र त्यस्तो मन्त्रिमण्डलको सिफारिसमा संसद् विघटन भयो । आन्दोलनको रापताप यस्तो छ, दलहरू संविधानमाथि भएको यस्तो आक्रमण विरुद्ध सडकमा आउन सकिरहेका छैनन् । २०७७ सालमा संसद् विघटन हुँदा तत्कालै अदालत पुगेका राजनीतिक दलले अहिलेसम्म अदालतमा रिट दर्ता गरेका छैनन् ।

    यतिखेर देशमा सुशीला कार्कीको नेतृत्वमा गैरदलीय सरकार छ । मन्त्रिपरिषद्मा एनजिओको गन्ध आइरहेको छ । बारबरा फाउन्डेसनन र समता फाउन्डेसनसम्बद्ध व्यक्ति पनि मन्त्री बनेका छन् ।

    अर्कोतर्फ सरकारले राजनीतिक दलसित पूर्वाग्रह राखेको हो कि भन्ने देखिन्छ । फागुन २१ गते चुनावको मिति घोषणा गरिए पनि त्यसको ठोस तयारी अगाडि बढेको छैन । अझैसम्म निर्वाचन आयुक्तको नियुक्ति भइसकेको छैन । उता राजनीतिक दलसित सरकारले संवाद गरेको छैन । एकातिर, संविधानमाथि हमला हुनु, अर्कातिर, निर्वाचन हुने सुनिश्चितता नहुनु—यो विषम अवस्थाले देश कता जानेछ ?

    यता राजनीतिक दलमा अझै पनि शोकावधि यथावत् छ । आशा गरौँ, तिहारपछि दलमा राजनीतिक स्फूर्ति आउनेछ र उनीहरू संविधानमाथिको आक्रमण विरुद्ध जुर्मुराउनेछन् ।

    युवा नेतृत्वको सन्दर्भ

    अर्को विषय छ, राजनीतिक दलमा युवा नेतृत्व चयनको, खासगरी सत्तावरिपरि घुम्ने राजनीतिक दलको ।

    यो तथ्यमा प्रारम्भमा नै स्पष्ट हुनुपर्ने आवश्यकता छ, उमेरको आधारमा नेतृत्व चयनसम्बन्धी विचार नै गलत छ । बालबालिका अबोध हुन्छन् । वृद्धावस्थामा शारीरिक क्रियाशीलता कमजोर हुन्छ र मानसिक अवस्थामा विस्मृतिको समस्या देखा पर्दछ । त्यसबाहेकको युवावस्थामा भने सकारात्मक र नकारात्मक दुवै प्रवृत्ति देखा पर्दछ । त्यसैले युवावस्था भएकै कारणले कोही व्यक्ति सही हुन्छ र राजनीतिक दलको नेतृत्व लिनुपर्दछ भन्ने विचार गलत हो । यसलाई नेपाली राजनीतिमा ‘उमेरवाद’ भन्ने गरिएको छ ।

    नेतृत्वका लागि सही विचार, क्रियाशीलता, अनुशासन, गोपनीयता, जनसम्पर्कजस्ता तत्त्व आवश्यक मानिन्छन् । त्यसमध्ये प्रधान महŒवको विषय सही विचार हो । कम्युनिस्ट पार्टीमा यसबारे प्रष्ट धारणा रहने गरेको छ : जसको विचार सही हुन्छ, नेतृत्व पनि उसको नै हुन्छ । त्यसका विपरीत विरोधी विचार लिएका व्यक्तिको नेतृत्व स्थापित हुन्छ भने त्यो पार्टी दिशाविहीन अवस्थामा पुग्दछ ।

    सही सिद्धान्तलाई प्राथमिकता नदिने सङ्गठन वा एनजिओको प्रसङ्ग बेग्लै हुन्छ । त्यहाँ पद्धति त हुन्छ तर सही वा गलत विचारको कुनै महŒव हुँदैन । त्यहाँ उमेरहदलाई विधानमै लिपिबद्ध गरेर त्यस आधारमा युवालाई नेतृत्व दिन सकिन्छ । एनजिओ क्षेत्रमा त उमेरको आधारमा नै सङ्गठन सञ्चालन भएको देखिन्छ† जस्तै : गैरसरकारी युवा महासङ्घ । जसले राजनीतिक पार्टीलाई एनजिओ ठान्दछन्, उनीहरूले नेतृत्वमा निरपेक्ष प्रकारले युवालाई प्राथमिकता दिनुपर्ने तर्क राख्दछन् । अहिले जेनजी पुस्ताले जुन युवा नेतृत्वको कुरा उठाएका छन्, त्यसमा यस्तो विचारले काम गरेको सम्भावनालाई अस्वीकार गर्न सकिन्न ।

    एकछिनको लागि मानिलिऔँ, ठुला भनिएका तीन दलमा युवा नेतृत्व निर्वाचन गरौँ । के त्यसो गरियो भने यी दलको राजनीतिक चरित्रमा आमूल परिवर्तन आउनेछ ? त्यस्तो ग्यारेन्टी कसैले गर्न सक्दछ ? पक्कै पनि गर्न सकिन्न किनकि सबै युवा योग्य छैनन् । प्रश्न उमेरको होइन, सही विचार र प्रणालीको हो† सवाल भ्रष्टाचार, बेथिती, कुशासनका विरुद्ध ‘शून्य सहनशीलता’ को हो । जसले पनि यस खालको थिती बसाल्न अघि सर्दछ, त्यसलाई समर्थन गरिनुपर्दछ किनकि यसैबाट देशमा सुशासन कायम हुन्छ । त्यसका विपरीत बुढाले कुशासन मात्रै चलाउनेछन् र युवाले सुशासन मात्रै भनेर कसैले भन्ने छैन ।

    जहाँसम्म सक्रियताको सवाल छ, त्यो विचारको तुलनामा द्वितीय विषय हो । सही विचारको पक्षमा हुने सक्रियताको परिणाम सकारात्मक हुन्छ भने गलत विचारको पक्षमा हुने सक्रियताको परिणाम नकारात्मक नै । यस सम्बन्धमा जोडिएको अर्को पक्ष पनि छ । कुनै व्यक्तिले कुनै पार्टीमा आफू सक्रिय छु भन्ने दाबी गरेर मात्र पुग्दैन, त्यो दाबीलाई त्यस पार्टीका बहुमत कार्यकर्ताले स्वीकारेको हुनुपर्दछ किनकि राजनीतिक पार्टीमा विवादित विषयलाई बहुमत–अल्पमतको आधारमा टुङ्गो लगाइन्छ ।

    अनुशासन र गोपनीयता तुलनात्मक रूपले महत्त्वपूर्ण विषय त हुन् तर यिनीहरू पनि विचारको तुलनामा द्वितीय हुन् । खालि अनुशासन र गोपनीयता कायम गरेकै आधारमा कुनै व्यक्तिलाई राजनीतिक पार्टीको नेतृत्व दिने गरिन्न । राजनीतिक पार्टीको इतिहास र परम्परामा त्यस्तो छैन ।

    जेनजी आन्दोलनपछि सत्तावरिपरि घुमिरहने राजनीतिक दलमा युवा नेतृत्वको पक्षमा दबाब बढेको बताइएको छ । खासगरी माओवादी केन्द्रलाई यो विषयले प्रभाव बढी पारेको देखिन्छ । कङ्ग्रेसमा यस्तो प्रभाव परेको छ । एमालेमा ‘जाज्वल्यमान’ नक्षत्रको ज्योतिले अधिकतम कार्यकर्ताको आँखा तिर्मिराएको छ । ओलीको यस्तो ‘ज्योति’ कहिलेसम्म, कुन रूपमा चमचमाउनेछ ? समयले पक्कै जवाफ दिनेछ ।
    कङ्ग्रेस र माओवादी केन्द्रमा पनि नेतृत्व परिवर्तनको जुन आवाज उठेको छ, त्यसका पछाडि वर्तमान नेतृत्वको सिद्धान्तहीन, भ्रष्ट, पदलोलुप, बेथितीयुक्त प्रवृत्तिप्रतिको विरोधले काम गरेको देखिन्छ । उदाहरणका लागि माओवादी केन्द्रलाई लिन सकिन्छ । अध्यक्ष प्रचण्डमा जुन खालको सिद्धान्तहीनता र पदलोलुपता छ† भ्रष्टाचारलाई सघाउने जुन प्रवृत्ति छ† त्यसप्रति समग्र कार्यकर्ताको समर्थन रहेको छैन । त्यही स्थिति कङ्ग्रेसको पनि हो । वर्तमान सभापति देउवा महङ्गी, भ्रष्टाचार, कुशासन, बेथिती र राष्ट्रघातको विरुद्ध उभिन सकेका छैनन् । उदाहरणका लागि नक्कली भुटानी शरणार्थी प्रकरणलाई नै लिन सकिन्छ । उनले आफूपक्षीय आरोपित नेताको पक्ष लिएको कसैबाट लुकेको छैन । राष्ट्रघातको विषय पनि उनीसँग जोडिएको छ ।

    यता एमाले नेतृत्वको बहुमत पक्ष ‘जहाज डुबे डुबोस् तर एक कार्यकाल अझै ओलीलाई नै नेतृत्व दिनुपर्छ’ भन्ने पक्षमा उभिएको देखिन्छ । विधान महाधिवेशनमार्फत् ओलीले दीर्घकालसम्म जुनसुकै अवस्थामा पनि नेतृत्वमा निरन्तरता चाहेको स्पष्टै छ । एमालेभित्र “सबैका बा : केपी बा” नारा लागेकै छ । एमालेलाई “पशुपतिनाथले कल्याण गरुन्” ।

    भ्रष्टाचार र सुशासन

    जेनजी आन्दोलनपछि अब देशमा सुशासन कायम हुन्छ ?

    जुनसुकै आन्दोलनका पनि दुई पक्ष हुन्छन् : एउटा– निश्चित विचार, सिद्धान्तको लागि जनआन्दोलनलाई विजयसम्म पुर्‍याउने† द्वितीय– विजयपश्चात् त्यो आन्दोलनको उपलब्धिलाई संस्थागत गर्ने । हालसम्मका विभिन्न जनआन्दोलनपछि देखा परेको समस्या दोस्रो हो । देशमा लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता र विकेन्द्रीयता आफैमा गलत छैनन् तर जहाँसम्म कार्यान्वयनको प्रसङ्ग छ, राजनीतिक दलका नेताले पनि राजाले जस्तै आसेपासेलाई संरक्षण गर्ने नीति अपनाए । सारांशमा भन्न सकिन्छ : राजनीतिक दलले मौलिक अधिकारबाहेकका विषयमा बाहेक महँगी, भ्रष्टाचार, कुशासन, बेथिती र राष्ट्रघातको सन्दर्भमा निरङ्कुश राजतन्त्रले जस्तै शासन सञ्चालन गरे । परिणामस्वरूप जनअसन्तोष विस्फोट हुनु नै थियो, अहिले जेनजी पुस्ताको रूपमा त्यो अगाडि आयो ।

    जेनजी आन्दोलनको सन्दर्भमा उपर्युक्त दुइटै विषयमा समस्या देखा पर्दछ : न त उनीहरूमा २०६२–६३ सालको आन्दोलनमा जस्तो प्रष्ट राजनीतिक लक्ष्य थियो, न त त्यसलाई कार्यरूप प्रदान गर्ने कार्ययोजना र नेतृत्व नै । फलस्वरूप जेनजी आन्दोलनलाई आन्दोलनकै क्रममा हाइज्याक गर्ने काम भयो । नेतृत्वमा केही राम्रा व्यक्तित्व आए, सँगसँगै ‘हामी नेपाल’, ‘बारबरा फाउन्डेसन’, ‘समता फाउन्डेसन’ जस्ता एनजिओ/आइएनजिओका प्रतिनिधि पनि आए । उनीहरूको सम्बन्ध फ्री तिब्बत आन्दोलन, भारत, युरोपियन युनियन र अमेरिकासित छ । यी विभिन्न शक्तिकेन्द्रको चलखेलमाझ कार्की सरकारले कस्तो भूमिका खेल्नेछ ?

    जेनजी आन्दोलनका दुइटा माग थिए : भ्रष्टाचारको अन्त र सामाजिक सञ्जालमाथिको रोक हटाइनुपर्ने । कतिपयले अहिले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको माग गरिरहेका छन् तर त्यो माग भदौ २३ गते उठेको थिएन । त्यसैले यो माग सिङ्गो जेनजी पुस्ताको नभएर बढीमा ‘माओवादी जेनजी’ को वा पश्चिमा साम्राज्यवादीको हुन सक्दछ ।

    जेनजीका यी दुई मागमध्ये सामाजिक सञ्जालसम्बन्धी माग आन्दोलनकै क्रममा पूरा भइसकेको थियो । अब बाँकी रह्यो, भ्रष्टाचार अन्त्यको माग । यो माग वर्तमान अन्तरिम सरकारले पूरा गर्न सक्दैन । यो सरकारले उच्चस्तरीय छानबिन समिति गठन गर्न सक्ला । त्यसो गर्दा पनि एकातिर, संवैधानिक अङ्गको रूपमा कायम रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग त्यसको क्षेत्राधिकारसम्बन्धी विवाद उत्पन्न हुनेछ† अर्कोतिर, छानबिन आयोगले दिएको प्रतिवेदनको कार्यान्वयन हुनेमा नै शङ्का छ किनकि नेपालमा यस्ता प्रतिवेदन कमै कार्यान्वयन हुने गरेका छन् । भ्रष्टाचारका विरुद्ध ‘शून्य सहनशीलता’ अपनाउने राज्ययन्त्र कायम गर्नुपर्नेछ । अहिलेको जेनजी आन्दोलन र त्यसको बलमा गैरसंवैधानिक प्रकारले गठन भएको सरकार र त्यसमा सामेल एनजिओका प्रतिनिधिले यो काम गर्न सक्ला ?

    भ्रष्टाचार विरुद्ध जेनजी पुस्ताको आन्दोलन सही थियो । यो उनीहरूको मात्रै माग होइन, सम्पूर्ण नेपाली जनताको माग हो किनकि भ्रष्टाचार नेपालको महारोग साबित भइसकेको छ । भ्रष्टाचारकै कारण देशको विकास निर्माण कुण्ठित भएको छ । त्यसैले भ्रष्टाचार विरुद्ध जेनजी पुस्ताको स्वत:स्फूर्त आवाज स्वातगयोग्य छ तर यो आन्दोलन सेलाउनुहुँदैन । सर्त यो हो : यस्तो आन्दोलन विशुद्ध देशी र राष्ट्रिय चरित्रको हुनुपर्दछ । यसका विदेशी घुसपैठ हुनुहुँदैन । त्यसैगरी यस्तो आन्दोलनमा एनजिओ/आइएनजिओको प्रभाव शून्य हुनुपर्दछ किनकि भ्रष्टाचारलाई मलजल एनजिओले पनि गरिरहेका छन् । डलर खाएर आफै पथभ्रष्ट हुने र तिनैले चर्का कुरा गरेर जनतालाई भ्रमित पार्ने काम एनजिओले गरिरहेका छन् । त्यसैले एनजिओलाई अघि लगाएर भ्रष्टाचार विरोधी आन्दोलनले आफ्नो लक्ष्य प्राप्त गर्ने छैन ।

    जेनजी पुस्ता युवा समुदायको एउटा हिस्सा हो । उनीहरूले भ्रष्टाचारको विरुद्ध आवाज उठाउनु स्वाभाविक छ । त्यसका साथै यो विषय आमजनतासित पनि सम्बन्धित छ । त्यसकारण भ्रष्टाचार विरोधी आन्दोलनलाई आमजनतासम्म पुर्‍याउन जेनजी पुस्ताको पनि ध्यान जानुपर्दछ ।

    सुझाव

    जेनजी पुस्तालाई सुझाव छ : समाजमा प्रशस्त मात्रामा विभेद, शोषण, दमन र उत्पीडन छ । पहिलो कुरा त नेपाली सार्वभौमसत्ता नै स्वतन्त्र छैन । भारतीय साम्राज्यवादले सीमा मिचिरहेकै छ, सँगै माइक्रो म्यानेजमेन्ट पनि । त्यससँगै देशमा अमेरिका, युरोपसहितका साम्राज्यवादी शोषण, दमन यथावत् छ । चीन विरुद्ध युद्धभूमिको रूपमा नेपाललाई उपयोग गर्न एमसिसी पारित भइसकेको छ । यी समग्र विषयमा जेनजीको ध्यान जाओस् । यी विषयमा उनीहरूले राजनीतिक–वैचारिक प्रकारले विचार गरुन् ।

    अन्तमा माओत्सेतुङको भनाइ उद्धृत गरौँ : “युवाहरू हो । यो संसार तिमीहरूको हो, हाम्रो पनि हो तर अन्तिम निष्कर्षमा तिमीहरूकै हो ।”

    २०८२ असोज १७ गते
    बुढानीलकण्ठ–१०, काठमाडौँ

    शनिबार, असोज १८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनजाति मुक्ति आन्दोलन
    भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      जनजाति मुक्ति आन्दोलन

    • २.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • ३.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ४.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ५.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ६.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ७.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ८.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.