बेजिङ । चीनको सरकारी मिडियाका अनुसार, म्यानमारमा स्क्याम सेन्टर चलाएको आरोपमा देशको एक अदालतले एउटा माफिया परिवारका ११ सदस्यलाई मृत्युदण्ड सुनाएको छ ।
यस परिवारका दर्जनौं सदस्यहरू आपराधिक क्रियाकलापमा संलग्न पाइएको थियो । परिवारका अरु धेरै सदस्यलाई पनि लामो समयका लागि जेल सजाय दिइएको छ ।
चीनको यो माफिया परिवार म्यानमारको सानो शहर लौक्काईलाई चलाउने चार जनजातिमध्ये एकको लागि काम गर्दथ्यो । यो शहर म्यानमार–चीन सीमासँग नजिकै रहेको छ, जुन जुवा, लागूपदार्थ र धेरै स्क्याम सेन्टरको केन्द्र बन्न पुगेको छ।
सन् २०२३ मा म्यानमारले यी परिवारहरूमाथि कारबाही गर्दै धेरै सदस्यलाई गिरफ्तार गरी उनीहरूलाई चिनियाँ अधिकारीहरूलाई हस्तान्तरण गरेको थियो ।
चीनको सरकारी प्रसारक सिसिटीवीका अनुसार, सोमबार वानजाउको उत्तरी शहरमा अदालतले माफिया परिवारका जम्मा ३९ सदस्यलाई सजाय सुनाएको हो ।