• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

पपुलारिज्म र त्यसका नकारात्मक प्रभाव


  •   आइतबार, असोज १२, २०८२ मा प्रकाशित
  • गणेश आचार्य ##

    Advertisement

    विश्व राजनीति र समाजको इतिहासलाई नजिकबाट नियाल्दा एउटा पुनरावृत्ति हुने तर कहिल्यै स्थायी समाधान नदिने एउटा प्रवृत्ति बारम्बार देखापरेको छ । त्यो प्रवृत्ति हो—(परिज्ञान) पपुलारिज्म । जनताको नाममा, जनताको दुःखलाई आफ्‌नै शक्ति–केन्द्रमा बदल्ने, तर जनताको दीर्घकालीन हितलाई पन्छाउने यस्तो प्रवृत्ति यतिसम्म व्यापक छ कि विश्व इतिहासका धेरै निर्णायक क्षण पपुलारिज्मको कारण जन्मिएका हुन् । तर विडम्बना के छ भने, पपुलारिज्मले ल्याएको ऊर्जा प्रायः क्षणिक हुन्छ, त्यसले संरचनागत समस्या समाधान गर्दैन, बरु नयाँ भ्रम र नयाँ निराशा उत्पादन गर्दछ ।

    हामीले जर्मनीको हिटलरलाई सम्झनै पर्छ । प्रथम विश्वयुद्धमा हार, वर्साई सम्झौताले जर्मनीलाई दिएको अपमान, बेरोजगारी र चरम आर्थिक संकट—यी सबै पीडा भोगिरहेका जर्मन जनता भावनात्मक रूपमा कमजोर बनेका थिए । त्यस्तो बेला हिटलरले राष्ट्रिय गौरव, आर्य श्रेष्ठताको कथा र सैनिक पुनरुत्थानको सपना बाँडे । उनी जनताको आँसु र क्रोधलाई भाषणमा भरेर प्रस्तुत भए । केही वर्षमै हिटलर जर्मनीका सर्वशक्तिमान भए । तर त्यो लोकप्रियता एक तानाशाहीमा बदलियो र अन्ततः जर्मनी मात्र होइन, पूरै विश्वलाई द्वितीय विश्वयुद्धको नरसंहारमा डुबायो । यही हो पपुलारिज्मको भयावह उदाहरण—जहाँ जनताको असन्तोषलाई समाधान गर्ने बहानामा झन् ठूलो विनाश जन्मिन्छ ।

    यस्तै कथा इटलीमा मुसोलिनीको उदयमा पनि देखिन्छ । उनले “जनताको गौरवशाली इटली” को नारा दिए, तर फलस्वरूप इटली फासिस्ट अधिनायकत्वमा धकेलियो । टर्कीमा एर्दोआन, भारतमा नरेन्द्र मोदी, ब्राजिलमा बोल्सोनारो, अमेरिका भित्र डोनाल्ड ट्रम्प, फ्रान्समा लपेन—सबैको सूत्र एउटै हो । उनीहरूले जनता र अभिजात्यबीचको विभाजनलाई उत्तेजित गरे, भावनात्मक राष्ट्रवादलाई बढाए र “मात्र म जनताको साँचो प्रतिनिधि हुँ” भन्ने दावी गरे । प्रारम्भमा जनताले उत्साहपूर्वक साथ दिए, तर समयसँगै यी सबै पपुलार नेता आफ्‌ना कमजोरी, घोटाला र असफलताबाट पलायन भए ।

    नेपालमा अहिले त्यही क्रम दोहोरिएको छ । पुराना दलहरू लथालिङ््‌ग, भ्रष्टाचारमा डुबेका, आपसी किचलोले जर्जर भएका बेला स्वतन्त्र नाममा नयाँ अनुहारहरू उदाएका छन् । बालेन शाह काठमाडौंको मेयर भए, रवि लामिछाने गृहमन्त्रीसम्म पुगे, हर्क साम्पाङ धरानको नेतृत्वमा आए । यी सबै घटनामा एक साझा तत्व छ—जनताको असन्तोषलाई उनीहरूले आफ्‌नो लोकप्रियतामा बदल्न सके । दलहरूले दिन नसकेको ताजगी उनीहरूले दिए । भाषणमार्फत, सामाजिक सञ्जालमार्फत, करिश्माई शैलीमार्फत उनीहरूले जनताको मन जिते ।
    के यसले दीर्घकालीन समाधान दिन्छ ?

    बालेन शाह लोकप्रिय छन्, तर उनको लोकप्रियता व्यवस्थापकीय सुधारमा सीमित छ । सडक खन्ने, ढल सफा गर्ने, गीत गाउँने, कठोर शैलीमा काम गर्ने—यी कुरा प्रतीकात्मक रूपमा आकर्षक छन्, तर त्यसले शहरका संरचनागत समस्या समाधान गर्दैन । काठमाडौँको अनियोजित बसोबास, प्रदूषण, यातायात अव्यवस्था, आर्थिक असमानता, श्रमिकको पीडा—यी गहिरा समस्या पपुलारिज्मले हल गर्न सक्दैनन् । उल्टै, जब बालेन अमेरिकी दूतावाससँग घनिष्ठ देखिन्छन्, नेपालमा अमेरिकी दूताबासद्वारा सञ्चालित योथ काउन्सिल (Youth Council) जस्ता गतिविधिमा संलग्न भएको प्रसंग आउँछ, तब प्रश्न उठ्छ— उनको लोकप्रियता केवल स्वतन्त्रता र स्वाभिमानको हो कि विदेशी शक्ति–सन्तुलनसँग पनि गाँसिएको हो ?

    रवि लामिछानेको प्रसंग अझै रोचक छ । उनले भ्रष्टाचार विरोधी नारा दिए, जनतालाई “अब नयाँ नेतृत्व चाहिन्छ” भन्ने भावना जगाए । तर उनको नागरिकता विवादले नै उनको नैतिक आधारलाई कमजोर बनायो । सहकारी घोटालामा उनको नाम जोडियो । पार्टीभित्र नेतृत्व शैलीमा विवाद देखियो । जनताले पपुलर नेता सम्झेका रवि पनि विवादको दलदलमा फसे । यसले प्रमाणित गर्छ—पपुलारिज्मले क्षणिक ऊर्जा दिन्छ, तर संस्थागत राजनीतिक मूल्य र उत्तरदायित्व बिना त्यो ऊर्जा शीघ्र समाप्त हुन्छ ।

    धरानका हर्क साम्पाङले सामुदायिक शैली, कामदारसँगै खटिने, पानी र ढुंगा बोकेर डाडाँ चढ्ने, जनतालाई छुन सक्ने किसिमको छवि बनाए । तर नगर सञ्चालन, बजेट व्यवस्थापन, दीर्घकालीन नीति निर्माण—यी सवालमा उनी अनुभवहीन देखिए । यसरी पपुलारिज्मले कामदारसँगै पसिना बगाउने रमाइलो त देखाउँछ, तर राज्य सञ्चालनलाई केवल प्रतीकात्मक क्रियाकलापमा सीमित पार्छ ।

    विश्वका दार्शनिकहरूले पपुलारिज्मलाई गहिरो विश्लेषण गरेका छन् । मार्क्सले भनेका थिए—वर्ग संघर्षलाई छोप्ने जुनसुकै राजनीतिक शक्ति अन्ततः भ्रमको खेती मात्र हो । ग्राम्स्चीले भने, जनतामा वर्गीय चेतना कमजोर हुँदा, उनीहरू भावनात्मक नारा र नेताको करिश्मामा आकर्षित हुन्छन् । अर्जेन्टिनी दार्शनिक एर्नेस्टो लाक्लाउले पपुलारिज्मलाई “जनताको नाममा, तर नेतृत्वको स्वार्थमा निर्माण भएको भाषिक संरचना” भनेका छन् । यी सबै दृष्टिकोणले पपुलारिज्मको मूल स्वरूप देखाउँछन् की यो दीर्घकालीन समाधान होइन, बरु दीर्घकालीन समाधानतर्फ जाने बाटोलाई अवरुद्ध गर्ने भ्रमजाल हो ।

    नेपालमा अहिले यही खतरा छ । जनता दलहरूप्रति आक्रोशित छन् । त्यो आक्रोशलाई व्यवस्थित, संगठित, वर्गीय संघर्षमा परिणत गर्ने हो भने समाजवादतर्फको बाटो खुल्छ । तर जब त्यो आक्रोश पपुलर नेतामा मात्र सीमित हुन्छ, समाजवादको यात्रा कमजोर हुन्छ । “विर पुजक मानसिकता” यहाँ बलियो देखिन्छ । नेतालाई देवत्व बनाउने, उनको हरेक कुरा चमत्कार ठान्ने, आलोचना नगर्ने प्रवृत्ति । यो प्रवृत्ति विशेष गरी भावनात्मक रूपले प्रभावित महिलामा बढी देखिन्छ भन्ने सामाजिक अध्ययनहरूले पनि औंल्याएका छन् । हिटलरको भाषणमा महिलाको आँसु, ट्रम्पका सभामा महिलाको उत्साह वा नेपालमा रविको समर्थनमा महिलाको सक्रियता, यी सबै कुरा पपुलारिज्मको मनोवैज्ञानिक पक्ष हो । तर यस्तो भावनात्मक आकर्षणले दीर्घकालीन राजनीतिक चेतना निर्माण गर्दैन ।

    अर्को महत्वपूर्ण पक्ष हो— विदेशीसँगको सम्बन्ध । पपुलार नेता बाहिरबाट स्वतन्त्र देखिए पनि प्राय उनीहरूको शक्ति कुनै न कुनै अन्तर्राष्ट्रिय प्रभावसँग गाँसिएको हुन्छ । बालेनको अमेरिकी सम्पर्क होस्, रविको MCC समर्थन होस् वा अरु नयाँ नेताको विदेशी सञ्जाल होस् यी सबैले देखाउँछन् कि पपुलारिज्म केवल भित्री असन्तोषको खेल मात्र होइन, बाहिरी शक्ति सन्तुलनको पनि खेल हो । यस्तो अवस्थामा पपुलार नेता राष्ट्रियताको नाममा लोकप्रिय देखिए पनि, व्यवहारमा विदेशी स्वार्थसँग मिल्ने खतरा रहन्छ ।

    अब प्रश्न उठ्छ— के पपुलारिज्मबाट समाजवाद आउँछ ? जनतामा समानता स्थापित हुन्छ ? यसको सिधा उत्तर हो— हुदैन । बरु पपुलारिज्म समाजवादको बाटोमा ठूलो अवरोध बन्छ । किनकि पपुलारिज्मले वर्गीय चेतनालाई धुमिल पार्छ । उत्पादन, श्रम, स्वावलम्बन जस्ता आधारभूत मुद्दा छायाँमा पार्छ । जनता नेताको भाषण, शैली र प्रतिमामा रमाउन थाल्छन् । यसरी श्रमिक वर्गको शक्ति विखण्डित हुन्छ ।

    समाजवादको बाटो कठिन छ, त्यहाँ संगठन चाहिन्छ, सिद्धान्त चाहिन्छ र वर्गीय एकता चाहिन्छ । पपुलारिज्म सजिलो छ, त्यहाँ केवल नारा, करिश्मा र क्षणिक भावनात्मक आकर्षण चाहिन्छ । त्यसैले जनता सजिलो बाटोतर्फ आकर्षित हुन्छन् । तर सजिलो बाटोले दीर्घकालीन मुक्तिको ढोका कहिल्यै खोल्दैन।

    नेपालका नयाँ पुस्ता अहिले यही खतरामा छ । सामाजिक सञ्जालले पपुलारिज्मलाई झन् तीव्र बनाएको छ । टिकटक, फेसबुक, युट्युबमार्फत नेता छिट्टै लोकप्रिय हुन्छन् । जनताले भिडियो हेरेर तुरुन्तै भावनात्मक समर्थन दिन्छन् । तर यति सजिलो लोकप्रियता सजिलोसँगै हराउँछ पनि । यसरी सामाजिक सञ्जालले पपुलारिज्मलाई तीव्र बनाउँछ, तर लोकतान्त्रिक संस्था कमजोर बनाउँछ ।

    यदि हामीलाई दीर्घकालीन समाधान चाहिएको हो भने, पपुलारिज्मको मायाजालबाट बाहिर आउनै पर्छ । यसको अर्थ पुराना दललाई जसरी छ त्यसरी स्वीकार्नु होइन, बरु दलभित्र सुधार, नयाँ पुस्तालाई संगठित, विचारमा आधारित, वर्गीय चेतना सम्पन्न बनाउनु पर्ने हुन्छ । पपुलारिज्मलाई चुनौती दिने शक्ति यही हो, संगठित विचार, उत्पादनमुखी अर्थनीति, सामाजिक न्याय र समानताको आन्दोलन ।

    पपुलारिज्म वसन्तको फूलजस्तै आकर्षक हुन्छ, तर त्यसको आयु छोटो हुन्छ । समाजवाद वोटबृक्ष जस्तै दीर्घकालीन हुन्छ, जसलाई हुर्काउन घाम–पानी, श्रम र धैर्य चाहिन्छ । नेपाली जनता कुन बाटो रोज्छन् भन्ने प्रश्न अहिले इतिहासको मोडमा छ । यदि हामी पपुलारिज्ममा रमायौं भने, क्षणिक फूलसँगै हराउँछौं । यदि संगठन र विचारमा लाग्यौं भने, दीर्घकालीन बृक्ष रोप्न सक्छौं । यही हाम्रो जिम्मेवारी हो ।

    आइतबार, असोज १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.