दमौली (तनहुँ) । तनहुँको व्यास नगरपालिका-३ शान्तिनगरस्थित गोरखकाली आवासीय माध्यमिक विद्यालयका विद्यार्थीले खाजा खर्च बचाएर जम्मा गरेको रकमबाट ३०० जना सर्वसाधारणलाई निःशुल्क कपडा वितरण गरेका छन् ।
विद्यालयमा गठित इन्ट्र्याक्ट क्लबमा सहभागीहरूले पूर्वविद्यार्थी स्वर्गीय प्रजिता श्रेष्ठको स्मृतिमा आज व्यास-५ पाटनमा १५० र व्यास-३ प्रशासनचोकमा १५० जना सर्वसाधारणलाई निःशुल्क कपडा वितरण गरेका हुन् ।
तीन वर्षदेखि प्रत्येक दसैँको पूर्वसन्ध्यामा निःशुल्क कपडा वितरण गर्दै आइएकाले यस वर्ष पनि निरन्तरता दिइएको क्लबका अध्यक्ष निजल आलेले बताउनुभयो । विपन्न वर्ग लक्षित कार्यक्रममा आफूलाई मन परेको पाँच-पाँच थान कपडा वितरण गरिएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “विद्यालयमा गठित क्लबमा रहेका विद्यार्थीले खाजा खर्च कटाएर रकम सङ्कलन गरेका थियौँ । सोही रकमबाट विपन्नलाई कपडा वितरण गरेका हाैँ ।” विद्यार्थीले खाजा खर्च कटाएर रु १२ हजार सङ्कलन गरेका जनाउँदै आलेले केही सहयोगी दाताहरूले पनि कपडा प्रदान गर्नुभएको उल्लेख गर्नुभयो ।
दसैँलाई लक्षित गरी विद्यार्थीले अतिआवश्यक हुनेलाई निःशुल्क कपडा वितरण गर्ने गरिएको विद्यालयका वीणा कैनीले बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यार्थीमा सहयोगको भावना अभिवृद्धि गर्ने उद्देश्यले पनि यो अभियान सञ्चालन गरेका हौँ ।”