काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले विदेशी सेनामा नेपाली युवाको भर्ती बन्द गर्न माग गरेको छ । गोर्खा भर्ती केन्द्रका नाममा भारतीय र बेलायती सेनामा नेपाली युवाहरुलाई भर्ती गर्ने गरिएको छ । विदेशी सेनामा संलग्न नेपाली युवाहरुले नेपालकै मित्रराष्ट्रविरुद्ध लडाइँ गर्दै आएका छन् ।
असंलग्न परराष्ट्र नीति अपनाएको नेपालका युवाहरु मित्रराष्ट्रविरुद्ध प्रयोग हुनु गलत भएको मसालको ठहर छ । भारतीय सेनामा कार्यरत गोर्खा जवानहरु पाकिस्तान र चीनसँगको लडाइँमा अग्रपंक्तिमा खटिने गरेका छन् भने नेपालकै अतिक्रमित भूमि कालापानीलगायतका क्षेत्रमा गार्खा सैनिकलाई भारतले प्रयोग गरेको छ ।
नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले बुधबार जारी गर्नुभएको वक्तव्यमा भारतीय सेनामा नेपालीको भर्ती तत्काल बन्द गर्न माग गर्नुभएको छ ।
वक्तव्यको बुँदा नं १३ मा भनिएको छ, ‘हाम्रो पार्टीले विदेशी सेनाहरूमा नेपालको भर्तीको सधैँ विरोध गर्दै आएको छ । त्यस सन्दर्भमा हामीले भारतीय सेनामा पनि नेपालीहरूको भर्तीको विरोध गर्दछौँ । भारतले भारतीय सेनामा भर्ती भएका नेपालीहरूलाई हाम्रा छिमेकी मित्र राष्ट्रहरूका विरुद्ध प्रयोग गर्दै आएको छ र त्यसबाट हाम्रो देशको असंलग्न परराष्ट्र नीति तथा छिमेकी मित्रराष्ट्रहरूसितको मैत्रीपूर्ण सम्बन्धमा पनि आँच पुग्ने गरेको छ । त्यसकारण हामीले भारतीय सेनामा नेपालीहरूको भर्तीलाई तुरुन्त बन्द गर्नुपर्ने आवश्यकतामा जोड दिन्छौँ ।’
वक्तव्यको पूर्ण पाठ यहाँ हेर्नुहोस्ः रुकुम घटनाका दोषीलाई उन्मुक्ति दिने षडयन्त्र भइरहेको मसालको ठहर

