धादिङ । धादिङको बेनिघाट रोराङ १० स्थित ज्वाङखोला र तिङराङखानीमा पहिरो जाँदा पृथ्वीराज मार्गमा यातायात अवरुद्ध भएको छ । सडकमा ठुलो पैमानामा माटो र ढुंगा खस्दा सवारी आवागमन दुवैतर्फ रोकिएको छ । आज बिहान करिब १० बजेबाट पहिरो झर्न सुरु भएको मुगलिन बजार फेसबुक पेजले जनाएको छ ।
Advertisement
हाल सडकमा यातायात सञ्चालनका लागि पहिरो हटाउने काम भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी धादिङका प्रहरी निरीक्षक सुरज श्रेष्ठले बताएका छन् ।
दसैँ सुरु भएसँगै घर फर्किने यात्रुको चाप बढिरहेको अवस्थामा राजमार्ग बन्द हुँदा हजारौँ सवारी साधन बाटैमा रोकिएका छन् । रोकिएका सवारी साधनलाई सम्भावित जोखिम कम हुने सुरक्षित स्थानमा सार्न सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।