ठाकुर खनाल
दर्शन भनेको के हो भन्ने विषयमा सबै विद्धान तथा दार्शनिक एकमत छैनन् । यसको क्षेत्र व्यापक र विस्तृत छ । फरक–फरक विद्धानले फरक–फरक अर्थ/परिभाषा गरेका छन । उनीहरूले आआफ्नै तरिकाले अध्ययन–अनुसन्धान गरेका छन । त्यसअनुसार धारणा बनाएका छन ।
मानव सभ्यताको सुरुवातबाटै दर्शनको पनि सुरुवात भएको मान्न सकिन्छ । दर्शनको क्षेत्र ज्यादै व्यापक भएका कारण यस सानो लेखमा दर्शनको सम्पूर्ण व्याख्या गाह्रो छ । तर दर्शनसम्बन्धी केही आधारभूत ज्ञान हामी सबैलाई हुन जरुरी छ ।
दर्शन शब्द सर्वप्रथम इ.पू. ५८० मा पाइथागोरसले गरेका थिए । पाइथागोरस एक ठुला गणितिज्ञ, दार्शनिक र धार्मिक व्यक्तित्व थिए । उनले अल थिङ्स आर नम्बर भन्थे । त्यसपछि यो शब्द सर्वत्र प्रयोग हुँदै आयो ।
नेपालीमा दर्शन शब्द संस्कृत भाषाको “दृश्” धातुबाट भएको मानिन्छ, जसको नेपालीमा अर्थ देख्नु वा हेर्नु भन्ने हुन्छ । कुनै वस्तु, घटना, व्यक्ति, व्यवहार, विचार, सिद्धान्त, विश्व ब्रह्माण्डलाई हेर्ने विश्व दृष्टिकोणलाई दर्शनले प्रतिबिम्बत गर्दछ । त्यसैगरी दर्शनलाई अङ्ग्रेजी भाषामा फिलोसफी भनिन्छ । यो शब्द ग्रीक भाषाका दुई शब्द फिलोस र सोफियाबाट भएको हो । यहाँ फिलोसको अर्थ मोह (लभ) र सोफियाको अर्थ लभ अफा विज्डम अथवा ज्ञानप्राप्तिको मोह भन्ने बुझिन्छ । जुन व्यक्तिमा ज्ञान प्राप्त गर्ने मोह हुन्छ, त्यसैतिर हरदम लागिरहन्छ, त्यस्ता व्यक्तिलाई दार्शनिक भनिन्छ ।
दर्शन एक अमूर्त चिन्तन हो, जसमा आत्मा–परमात्मा, जीवन, जगत्, जीवन, मृत्यु, प्रकृतिजस्ता कुराको रहस्य थाहा पाउन कोशिस गरिन्छ । मानिस के हो ? संसार के हो ? प्रकृति र त्यसका नियम के हुन ? सत्य के हो ? सुखदुःख भनेको के हो ? मानव जीवनका मूल्यमान्यता के हुन् ? यस जगत्को उत्पत्ति कसरी भयो ? पुनर्जन्म हुन्छ कि हुँदैन ? स्वर्गनर्कको अस्तित्व छ कि छैन ? ईश्वर के हो ? आत्मा–परमात्मा के हो ? आदि विषयमा दर्शनले खोजी गरी दृष्टिकोण बनाउने र तार्किक प्रश्नको व्यवस्थित उत्तर दिने गर्दछ । मानव आचरणका लागि मार्गदर्शन गर्दछ र विज्ञानका उपलब्धीलाई अर्थसहित व्याख्या–विश्लेषण गर्दछ ।
दर्शनलाई पूर्वेली दर्शन (इस्टर्न फिलोसफी) र पाश्चात्य दर्शन (वेस्टर्न फिलोसफी) गरी दुई भागमा बाँडी अध्ययन गर्न सकिन्छ । पूर्वीय वा पूर्वेली दर्शन खासगरी वेदमा आधारित दर्शन हो । वेद आफैमा दर्शन भने होइन तर दर्शनको आधार भने अवश्य हो । वेदलाई आधार मानी ६ वटा दर्शन बनेका छन्: न्यायदर्शन, वैशेषिक दर्शन, साङ्ख्य दर्शन, योगदर्शन, मिमांशा दर्शन, वेदान्त दर्शन । अर्कोतर्फ वेदलाई पूर्ण रूपमा नमान्ने दर्शन पनि छन् । जस्तै– चार्वाक दर्शन, बुद्धदर्शन, जैनदर्शन । यी दर्शन जे भएता पनि केही न केही आध्यात्मवादतर्फ झुकेका छन । चार्वाक दर्शनले जगत् सत्य मान्दछ । चेतनाको उत्पत्ति भौतिक तत्त्वबाट हुन्छ, शरीर नै आत्मा हो, शरीर मरेपछि आत्माको पनि नास हुन्छ भन्ने यसको मान्यता छ । यसले ईश्वर र परलोकलाई मान्दैन । पूर्वीय दर्शनमा षडदर्शनलाई आस्तिक र चार्वाक, बुद्ध, जैनदर्शनलाई नास्तिक दर्शनको रूपमा लिने गरेको छ ।
पाश्चात्य दर्शनहरूमा भौतिकवादी, आध्यात्मवादी, अनुभववाद, व्यवहारवाद, यथार्थवाद, अस्तित्ववाद, प्रगतिवाद, बहुलवाद आदि दर्शन छन । कालखण्डको आधारमा पाश्चात्य दर्शनलाई तीन भागमा बाँडेर अध्ययन गरिन्छ । ई.पू. ५०० सम्मको काललाई प्राचीनकाल भनिन्छ । यसकालमा सोक्रेटस र अरस्तुसम्मका दार्शनिकले दर्शनमा ठुलो योगदान दिएका छन् । मध्यकालीन दर्शन ई.पू. ५०० देखि लगभग पन्ध्रौँ शताब्दीसम्मको अवधिलाई मध्यकालीन दर्शन मानिन्छ । यस कालका दार्शनिकमा प्लेटो, अगस्टिन, सेन्ट थोमस अक्वानिस आदि छन् । मध्यकालीन दार्शनिकहरू बढी आध्यात्मिक दर्शनबाट प्रभावित भएको पाइन्छ । ईश्वर सर्वशक्तिमान भएकाले ईश्वरको तुलना अरू कसैसँग हुन नसक्ने तर्क पेश गर्दै ईश्वरको अस्तित्व प्रमाणित गर्ने कोशिस गरेका छन् ।
आधुनिक पाश्चात्य दर्शन पन्ध्रौँ शताब्दीपछिको समयलाई मानिन्छ । यस कालमा थुप्रै दार्शनिकले दर्शनमा योगदान दिएका छन् । जस्तै– देकार्त, जसलाई आधुनिक पाश्चात्य दर्शनका जन्मदाता मानिन्छ,उनले अप्रमाणित कुरा असत्य र अविश्वासी हुने बताएका छन् । जोहन लकले इन्द्रिय बिना कुनै ज्ञान प्राप्त गर्न नसकिने कुरा भन्दै इन्द्रियजन्य ज्ञान नै सर्वशक्तिमान ज्ञान हो भनेका छन् । त्यसैगरी, हेगेल, कार्ल माक्र्स, रुसो आदि पनि यसै कालका दार्शनिक पर्दछन् । यस कालमा पाश्चात्य दर्शनमा कार्ल माक्र्स विशेष चर्चित मानिन्छन् । उनले द्वन्द्वात्मक भौतिकवादी दर्शन प्रस्तुत गरेर दर्शनको क्षेत्रमा ठुलो क्रान्ति नै ल्याए ।
दृष्टिकोणको आधारमा दर्शनलाई दुई भागमा बाँडेर अध्ययन गर्न सकिन्छ: भौतिकवादी र आदर्शवादी । यी दुवै दर्शन एकअर्कामा विरोधी छन् । आदर्शवादी दर्शनले यो विश्व ब्रह्माण्ड अबोधगम्य छ । यो ब्रह्माण्ड एउटा सुपर शक्तिले सञ्चालन गरेको छ । यो ब्रह्माण्डमा जे जति घटना हुन्छन्, उनैको लला हो, मानिसजस्तो तुच्छ प्राणीले उनको लीला बुझ्न सक्दैन अर्थात् संसार अबोधगम्य छ भन्ने मान्यता राख्दछ । भौेतिकवादीहरूले संसार बोधगम्य छ, चेतनाभन्दा वस्तु प्रधान हुन्छ, मानिसले चाहेमा सम्पूर्ण कुराको ज्ञान प्राप्त गर्न सक्दछ भन्ने मान्दछ । संंसारमा कतिपय कुरा अनुत्तरित छन् । त्यसो हुनुको कारण त्यस विषयमा अध्ययन हुन बाँकी छ भन्ने हो । भौतिकवादले विज्ञानसम्मत कुरालाई मान्दछ भने आदर्शवादले धर्मलाई अगाडि सार्दछ ।
कार्ल माक्र्सद्वारा प्रतिपादित द्वन्दात्मक भौतिकवाद माक्र्सवादी दर्शन हो । यो माक्र्सवादी सिद्धान्तको दार्शनिक आधार हो । हेगेलको द्वन्द्ववाद र फायरवाखको भौतिकवादमा रहेका कमजोरीलाई हटाएर माक्र्सले द्वन्द्वात्मक भौतिकवादको विकास गर्नुभयो । यही द्वन्द्वात्मक भौतिकवादी सिद्धान्तको आधारमा सर्वप्रथम माक्र्सले मानव समाजको व्याख्या गर्नु भयो । अर्थात् ऐतिहासिक भौतिकवाद, द्वन्दात्मक भौतिकवादको मानव समाजको क्षेत्रमा प्रयोग हो । त्यसैले यसले यो व्याख्या गर्दछ कि मानव समाज वा इतिहासको विकास पनि द्वन्द्वात्मक भौतिकवादका नियमको आधारमा नै हुन्छन् । माक्र्सवादी सिद्धान्तले वर्गसङ्घर्षलाई अगाडि सारेको छ । माक्र्सवादी दर्शनको प्रधान पक्ष समाजको व्याख्या गर्ने मात्र नभएर त्यसलाई बदल्नु पनि हो ।