प्रकाश थापा मगर/काठमाडौँ
प्रगतिशील लेखक सङ्घले नेपाली राष्ट्रियताको पृष्ठभूमि र निकासबारे तेत्तिसौँ परिसंवाद सम्पन्न गरेको छ । केन्द्रीय अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरीको प्रमुख आतिथ्यतामा २०७७ असार ६ गते भर्चुअल माध्यमबाट सो कार्यक्रम सम्पन्न भएको हो ।
केन्द्रीय उपाध्यक्ष गोपिरमण उपाध्यायको अध्यक्षता तथा महासचिव समीर सिंहको सञ्चालनमा अघि बढेको सो कार्यक्रमको विषय थियो– “नेपालको राष्ट्रियताको ऐतिहासिक पृष्ठभूमि र निकास” । विषयवस्तु प्रस्तुत गर्नुभएको थियो, डा. अतिन्द्र दाहाल र रतन भण्डारीले ।
विषयवस्तु प्रस्तुत गर्दै डा. अतिन्द्र दाहालले सरकारद्वारा लिम्पियाधुरा समेटिएको नक्सा सार्वजनिक गरेर त्यसलाई संविधान र निशानछापलगायत सबै ठाउँमा राख्ने गरी संविधान संशोधन पनि भइसकेको परिस्थितिमा प्रमाण सङ्कलनमा अत्यधिक ध्यान दिनुपर्ने आवश्यकतामा जोड दिनुभयो । सीमा अतिक्रमणको सवाललाई तत्काल अन्तर्राष्ट्रिय गर्नुभन्दा भारतसितको कूटनीतिक वार्तामा नै जोड दिन उहाँले आग्रह गर्नुभयो ।
तथ्यप्रमाणको आधारमा वार्ता मार्पmत् सार्थक परिणाम हासिल गर्न सौदाबाजीको शक्ति (बार्गेनिङ पावर) तर्फ सशक्त हुनुपर्ने उहाँको भनाइ थियो । लिम्पियाधुरा नेपालको पश्चिमी सीमा रहेको पक्षमा तथ्यप्रमाण सङ्कलन गर्ने दायित्व सम्पूर्ण देशभक्त जनताको भएको बताउनुभयो ।
विषयवस्तुका अर्का प्रस्तोता रतन भण्डारीले नेपाल–भारतमाझका विभिन्न सन्धिसम्झौताबारे सर्सरी जानकारी दिनुभयो । गतकालमा भारतसित नेपालले गरेको राष्ट्रघाती सन्धिसम्झौता फेहरिस्त प्रस्तुत गर्दै उहाँले पछिल्लो समयमा महाकाली सन्धि त्यस्तै प्रकृतिको भएको बताउनुभयो ।
१८५६ सम्म स्वयम् भारतद्वारा प्रकाशित नक्सामा पनि लिम्पियाधुरा नै नेपाल–भारतमाझको पश्चिमा सीमा भएको बताउनुभयो । विभिन्न समयमा प्रकाशित नक्सा, ऐतिहासिक पत्राचार, जलविज्ञानको सिद्धान्त, तिरोतिरानसम्बन्धी प्रमाण, सनद, रुक्का र इस्तिहार तथा जनगणनाजस्ता प्रमाणको आधारमा नेपालको पक्ष बलियो भएको उहाँले दावी गर्नुभयो । सबैभन्दा बलियो प्रमाण जलविज्ञानको सिद्धान्त भएको बताउँदै उहाँले सरकारलाई बलियो गरी खुट्टा टेक्न आग्रह गर्नुभयो ।
प्रमुख अतिथि प्रा.डा. जीवेन्द्र देव गिरीले समेत मन्तव्य राख्नुभएको उक्त परिसंवाद शृङ्खलामा लिलु पाण्डे, नारायण मरासिनी, प्रा.डा. पशुपतिनाथ तिमल्सेना, रामबहादुर बुढा, पारस ढकाल र बाबुराम आचार्यले पूरक टिप्पणी राख्नुभएको थियो ।

