चित्रबहादुर केसी, अध्यक्ष, राष्ट्रिय जनमोर्चा
‘युगदर्शन’ साप्ताहिक पत्रिका सञ्चालन भएको छैटौँ वर्ष पूरा भएर सातौँ वर्षमा प्रवेश गरेको थाहा पाउँदा खुसी लागेको छ । पहिला ‘युगदर्शन’ मासिक बुलेटिनको रूपमा प्रकाशन हुने गर्दथ्यो । झन्डै एक दशक ‘युगदर्शन’ त्यस रूपमा प्रकाशन भयो । त्यसपछि मात्र साप्ताहिक रूपमा प्रकाशन हुन थालेको हो । त्यसरी ‘युगदर्शन’ प्रकाशनको इतिहास झन्डै डेढ दशकभन्दा लामो रहेको छ ।
विश्वव्यापी रूपमा फेसबुक, इन्स्टाग्राम, ट्विटर, ह्वाटसपलगायतका सामाजिक सञ्जालको प्रयोग तथा डिजिटल सञ्चारको विकासका कारण अहिले छापापत्रिका ओझेल पर्दै गएको छ । अझ त्यसमा पनि ठुला व्यापारी, तस्करको लगानी तथा सञ्चालनका कारण जनताको पक्षमा लेख्ने छापापत्रिकासमेत सङ्कटको बिचबाट गुज्रिरहेको छ । त्यसका साथै मिसन पत्रिका अर्थात् पार्टी, जनता, क्रान्ति, राष्ट्रियताप्रति निष्ठामा सञ्चालित पत्रिका केही दशकयता नेपालमा एक प्रकारले लोप हुँदै गइरहेका छन् ।
उपर्युक्त प्रतिकूलताका बाबजुद ‘युगदर्शन’ साप्ताहिक अहिलेसम्म टिकेर देश, पार्टी, क्रान्ति, राष्ट्रिययता, साम्यवादका लक्ष्यको पक्षमा दृढतापूर्वक उभिनु चानेचुने विषय होइन । तसर्थ नेपालमा गणतन्त्रको संस्थागत विकास तथा रक्षा, राष्ट्रियताका अगाडि देखा परेका सम्पूर्ण खतराका विरुद्ध सङ्घर्ष, सङ्घीयताको खारेजी, अत्यन्तै आर्थिक विपन्नता झेलिरहेका मजदुर, किसान अपहेलित, उपेक्षित, उत्पीडित वर्गको पक्षमा ‘युगदर्शन’ साप्ताहिकले खेलिरहेको भूमिका अत्यन्तै प्रशंसनीय छ ।
आगामी दिनमा समेत ‘युगदर्शन’ ले गणतन्त्र तथा राष्ट्रियताको रक्षा, सङ्घीयताको खारेजी, साम्यवादका उद्देश्यका लागि जनतामा जागरण तथा गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकोस् । ‘युगदर्शन’ साप्ताहिक सातौँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा पत्रिकाको उत्तरोत्तर प्रगति तथा उज्ज्वल भविष्यको कामना गर्दछु ।