आनन्दराज शर्मा (प्रकाशक) ##
युगदर्शन साप्ताहिक छैटौँ वर्ष पूरा गरेर सातौँ वर्षमा प्रवेश गरेको छ ।
यतिखेर देशको राष्ट्रियता, कमजोर बनिरहेको छ । विदेशी शक्तिराष्ट्रको हस्तक्षेप बढ्दै गइरहेको छ । हाम्रो देशको दुईतिर अवस्थित छिमेकी राष्ट्रहरू मिल्दा र झगडा गर्दा पनि देशलाई अप्ठ्यारो पर्ने अवस्थाबाट हामी गुज्रिरहेका छौँ । दर्जनौँ ठाउँमा भारतद्वारा सिमाना मिचिएको छ । नेपाली भूमि कालापानीमा भारतीय सेना परेड खेलिरहेको छ । एमसिसी सम्झौतामार्फत् अमेरिकासमेत नेपालमा स्वयम् उपस्थित भएको अवस्था छ । साम्राज्यवादी युद्ध र त्यसको आवश्यकताले कमजोर राष्ट्रहरूको अस्तित्व नै सङ्कटमा पर्ने खतरा बढेर गएको छ । विश्वव्यवस्था र शक्तिराष्ट्रमा व्यापक परिवर्तन भइरहेको छ । यी सबै कारणले हाम्रो देशको राष्ट्रियता अन्यन्त कठिन अवस्थाबाट गुज्रिरहेको छ ।
नेपाली जनताले बलिदानीपूर्ण सङ्घर्षद्वारा प्राप्त गणतन्त्र, धर्मनिरपेक्षताजस्ता महङ्खवपूर्ण उपलब्धि खोस्नका लागि देशभित्रका प्रतिगामी शक्ति र विदेशी प्रतिक्रियावादी शक्तिले निरन्तर प्रयत्न गर्दै आइरहेका छन् । गणतन्त्र नेपालका शासकको कुशासन, भ्रष्ट र अकर्मण्य चरित्रका कारण जनतामा निराशा र असन्तुष्टि बढेर गएको छ । जसरी तत्कालीन समयमा जर्मनका जनतामा व्याप्त निराशा र असन्तुष्टिलाई पपुलिस्ट नारा दिएर हिटलर तानाशाहको उदय भएको थियो, त्यसैगरी नेपाली जनताको निराशा र असन्तुष्टिलाई उपयोग गरेर पपुलिस्ट नाराका सहारामा कुनै पनि साम्राज्यवादी शक्तिको एजेन्ट वा कुनै तानाशाही व्यवस्थाको खतरा पनि बढेर गएको छ ।
मजदुर, किसान, महिला, जनजाति, पिछडिएको क्षेत्रमा बसोबास गर्ने नागरिकको अवस्था झन् झन् दयनीय अवस्थाबाट गुज्रिरहेको छ । राज्यव्यवस्था सञ्चालनमा बिचौलिया र माफियाको पकड बढ्दै गइरहेको छ भने निमुखा जनताको पहुँचबाट न्याय, समानता र स्वतन्त्रता बाहिरी विषय बन्दै गइरहेको छ । यस्तो अवस्थामा ‘युगदर्शन’ साप्ताहिकले निरन्तर राष्ट्रियता र गणतन्त्रको रक्षा तथा भ्रष्ट र कुशासनका विरुद्ध र आम निमुखा जनताको आवाज बन्ने प्रयास गर्दै आइरहेको छ ।
सातौँ वर्षप्रवेशको अवसरमा पत्रिकाको निरन्तरताका लागि अहोरात्र खट्नुहुने सम्पादक, संवाददाता, लेखक, विज्ञापनदाता र खासगरी पाठक वर्ग सबैमा धन्यवाद व्यक्त गर्न चाहन्छौँ । ‘युगदर्शन’ साप्ताहिकको यो कठिनतम यात्रामा हामी कहिल्यै थाक्ने छैनौँ भन्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छौँ र पत्रिकाको निरन्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दछौँ ।