काठमाडौं । भारतमा लगेर ५ जना नेपालीको मिर्गौला बेचेको अभियोगमा मुख्य नाइकेसहित थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सिन्धुपाल्चोक, काभ्रे, सिन्धुली, नुवाकोट, धादिङ लगातका जिल्लामा पुगेर विभिन्न प्रलोभनमा पारी भारतमा लगेर किड्नी बेच्ने उक्त गिरोहबारे प्रहरीले आइतबार जानकारी गराएको हो । श्याम कृष्ण भण्डारीको समूहले नेपालीलाई भारत पुर्याएर मिर्गौला बेच्ने गरेको अनुसन्धानका क्रममा खुलेको छ ।
समूहका नाइके भण्डारी र सहयोगी सुजन भारती भारतबाट नेपाल आउने क्रममा नाकाबाटै पक्राउ परेका छन् । मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले नाइके भण्डारीलाई कञ्चनपुर र भारतीलाई वीरगञ्ज नाकाबाट नियन्त्रणमा लिएको हो ।
भण्डारीले आफूले ६ लाख भारतीय रुपैयाँ दिने भनेर प्रलोभनमा पार्ने गरेको स्वीकारेका छन् । प्रहरीका अनुसार, मुद्दा चलिरहेका पीडितमध्ये एक जनाले ५ हजार मात्रै पाएको पनि उनले बयानका क्रममा स्वीकारेका छन् ।
सोधपुछका क्रममा भण्डारीले २५ जना व्यक्तिको किड्नी झिक्न लगाएर पैसा लिएको स्वीकारेका छन् । यद्यपि अनुसन्धानका क्रममा भने एक सयभन्दा बढी व्यक्तिहरूको किड्नी बेचबिखनमा संलग्न भएको प्रहरीले जनाएको छ ।
उक्त कार्यमा संलग्न अन्य तीन जना गत साउन २० गते पक्राउ परेका थिए ।