काठमाडौँ । राष्ट्रियसभाका सांसदहरूले नेपाली भूमि लिपुलेक क्षेत्रबाट व्यापारिक नाका खोल्नेगरी छिमेकी मुलुक चीन र भारतबीच भएको सहमतिप्रति आपत्ति जनाउँदै यो विवादको समाधानका लागि गम्भीर भएर कूटनीतिक पहल थाल्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
छिमेकी देश चीन र भारततर्फ निकट भविष्यमा हुन गइरहेको प्रधानमन्त्रीको औपचारिक भ्रमणका क्रममा सीमा विवादको विषयलाई त्रिपक्षीय सहमतिबाट टुङ्ग्याउने गरी पहल थाल्नुपर्ने सुझाव उहाँहरूले दिनुभएको छ ।
त्यस्तै, नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी मुलुकको सार्वभौमिकता र अखण्डतासँग जोडिएको विषय भएकाले यसमा राष्ट्रिय सहमतिका लागि सर्वदलीय बैठक बोलाएर सुझाव लिनुपर्ने धारणा राख्दै उहाँहरूले सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ जडान गर्दा देवनागरिक लिपि उल्लेख गर्न सरकारको ध्यानाकर्षण गर्नुभयो ।
सांसद वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन र भारत भ्रमणका क्रममा सीमा विवादको विषयलाई गम्भीर रुपमा उठाइनुपर्ने र सीमा विवादसम्बन्धी समस्या दिगो रुपमा समाधान गर्न सरकारले तत्पराता देखाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।