काठमाडौँ । बागलुङको जैमिनी नगरपालिका–१० नामदुकमा भएको दुर्घटनाप्रति राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले दुःख व्यक्त गर्नुभएको छ ।
२०८२ भदौ १३ गते शुक्रबार प्रेसवक्तव्य जारी गर्दै अध्यक्ष केसीले दुःख व्यक्त गर्नुभएको हो ।
दुर्घटनामा घाइते भएका आठै जनाप्रति वक्तव्यमा शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गरिएको छ ।
यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :
“हिजो बेलुका अर्थात् २०८२ भदौ १२ गते बागलुङबजारबाट बरेङ जाँदै गरेको ७४८० नम्बरको पिकअप जिप जैमिनी नगरपालिका वडा नम्बर १० को नामदुकमा दुर्घटना हुन गएको खबरले धेरै दुःख लागेको छ । हामीलाई धौलागिरी प्रादेशिक अस्पतालबाट प्राप्त जानकारीअनुसार सबैको अवस्था खतरामुक्त रहेको बताइएको छ ।
उक्त दुर्घटनामा पर्नुभएका बरेङ–३ का ४० वर्षीय सुनिता परियार र २० वर्षीय मनिता सुनार, बरेङ–१ का २० वर्षीय मोहन दर्जी, १९ वर्षीय रवि थापा, २१ वर्षीय शुष्मिता सुनार, १९ वर्षीय विक्की परियार, ६० वर्षीय टुकुला सुनार र चितवन भरतपुर नगरपालिकाका ५४ वर्षीय हेमा आचार्यको बागलुङ धौलागिरी प्रादेशिक अस्पतालमा उपचाररत हुनुहुन्छ । उहाँहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ ।”
