काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापति पदमा नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेको मात्र उम्मेद्वारी परेको छ ।
उनको उम्मेद्वारीको प्रस्तावकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा र समर्थकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद कृष्णगोपाल श्रेष्ठ रहेका छन् । न्यौपाने पनि सोही समितिकी सदस्य हुन् ।
२०८२ भदौ १० गते दिउँसो १ः०० बजेदेखि ४ः०० बजेसम्म उम्मेद्वार मनोनयन गर्ने कार्यतालिका रहेकामा उनले दिउँसो ३ः०० बजे मनोनयन दर्ता गराएकी हुन् ।
सभापतिमा उनको उम्मेद्वारी दर्ता गराउन नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र एमालेका मुख्य सचेतक महेशकुमार बर्तौला समेत गएका थिए ।
समितिको भोलि बस्ने बैठकमा प्रस्तावकले एक मात्र प्रस्ताव परेको जानकारी दिएपछि उहाँ निर्विरोध भएको घोषणा गरिने छ ।
नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेकी न्यौपाने हाल पार्टीको केन्द्रीय सदस्य छिन् । यसअघि उनी दुवै संविधानसभामा सदस्य थिइन् भने पार्टीका तर्फबाट संसदीय दलको सचेतकको भूमिका निर्वाह गरिसकेकी छिन् ।