काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको तीनदिने औपचारिक भ्रमणमा आउनुभएका भियतनामका उपराष्ट्रपति भो थि आन सुआन भ्रमण सम्पन्न गरी सोमबार स्वदेश फर्किएका छन् ।
उपराष्ट्रपति सुआनले भ्रमणका दौराने राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेकी थिइन् । साथै उनले आफ्ना नेपाली समकक्षी रामसहायप्रसाद यादवसँग द्विपक्षीय भेटवार्ता गरेकी थिइन् भने परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले उहाँसँग शिष्टाचार भेटवार्ता गर्नुभयो ।
नेपाल र भियतना दुवै मुलुकको सेतुका रुपमा बौद्ध धर्म रहेकाले अधिकांश द्विपक्षीय भेटवार्तामा धार्मिक–सांस्कृतिक पर्यटनका प्रचुर सम्भावनाबारेमा छलफल भएको थियो । दुवै मुलुकबीच सन् १९७५ मे १५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।
राष्ट्रिय जनगणना २०७८ को जनगणनाअनुसार नेपालमा बौद्ध धर्मावलम्बीको संख्या २३ लाख ९३ हजार ५४९ छ । जुन कूल जनसंख्या दुई करोड ९१ लख ६४ हजार ५७८ को आठ दशमलव दुई प्रतिशत हो । त्यस्तै भियतनाम सरकारको धार्मिक मामिलासम्बन्धी समितिको तथ्यांकअनुसार त्यहाँ करिब एक करोड ४० लाख बौद्ध धर्मावलम्बी रहेको उल्लेख छ । झण्डै १० करोड जसंख्या भएको भियतनामको कूल जनसंख्याको यो लगभग १३ दशमलव तीन प्रतिशत हो ।
भेटका क्रममा राष्ट्रपति पौडेलले नेपाल र भियतनामबीच व्यापार, पर्यटन, लगानी र प्रविधि हस्तान्तरणका क्षेत्रमा द्विपक्षीय आर्थिक सम्बन्ध प्रगाढ बनाउने सम्भावना रहेको बताए । साथै उनले विशेषतः बौद्ध धर्म दुवै देशका जनताबीचको गहिरो सम्बन्धका लागि सेतुका रूपमा रहेको बताउँदै लुम्बिनीलाई धेरै भियतनामीले आफ्नो जीवनमा एकपल्ट अवश्य दर्शन गर्नुपर्ने पवित्र स्थलका रूपमा हेर्नु खुसीको विषय भएको उल्लेख गरे ।
त्यस्तै, उपराष्ट्रपति सुआनले संस्कृति, खेलकुद र पर्यटनका क्षेत्रमा दुवै देशबीच सहकार्य गर्न आवश्यक रहेको बताउँदै अन्तरराष्ट्रिय क्षेत्रमा नेपालले शान्ति कायम गर्न देखाएको अग्रसरता र जलवायु परिवर्तनको असरका सम्बन्धमा गरेको प्रतिबद्धताबाट आफू प्रभावित भएको बताएकी थिइन् ।
उपराष्ट्रपति यादव र उनीबीच भएको द्विपक्षीय भेटवार्तामा दुवै मुलुकबीचको सम्बन्ध मित्रता, सद्भावना र सार्वभौमिकताको सम्मानमा आधारित रहेको र अन्तर्राष्ट्रिय मञ्चमा साझा धारणाका साथ अघि बढ्ने सम्बन्धमा कुराकानी भएको थियो ।
दुवै उपराष्ट्रपतिबीच मन्त्रालयगत र विभिन्न तहमा भ्रमण आदानप्रदान गर्ने सहमति हुनुका साथै दुवै मुलुकबीच धार्मिक सांस्कृतिक पर्यटनको प्रचुर सम्भावनाका ढोका खोल्नेबारेमा छलफल भएको थियो । त्यसका लागि दुवै मुलुकबीच हवाई सम्बन्ध विस्तारका लागि आपसी छलफल गर्ने विषयमा कुराकानी भएको थियो ।
भियतनामकोतर्फबाट यो पहिलो उच्चस्तरीय भ्रमण हो । यो वर्ष नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठसमेत परेकाले यस भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ । उपराष्ट्रपति सुआन शनिबार नेपाल आएकी थिइन् ।
उपराष्ट्रपति सुआन स्वदेश प्रस्थान
समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन नेपालको तीनदिने औपचारिक भ्रमण पूरा गरी आज मध्यरात स्वदेश फिर्ता भएकी छिन् । उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल भ्रमणमा आएको हो ।
उपराष्ट्रपति सुआनलाई आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डे, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले बिदाइ गरेका हुन् ।

त्यसअवसरमा नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका पदाधिकारीलगायत विशिष्ट व्यक्तित्व उपस्थिती रहेका थिए । यस्तै, उपराष्ट्रपति सुआनले उनको सम्मानमा नेपाली सेनाले प्रदान गरेको गार्ड अफ अनरको निरीक्षण गरेका थिए ।
यही भदौ ७ गते नेपाल भ्रमणमा आएकी उपराष्ट्रपति सुआनले राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग सँग शिष्टाचार भेटवार्ता गरेकी थिइन् । प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग पनि उपराष्ट्रपति सुआनले भेटवार्ता गरेकी थिइन् ।
भियतनामकोतर्फबाट नेपालमा भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो । यसवर्ष नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठसमेत परेकाले यस भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ ।