• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

भूमि नेपालको : लेनदेन चीन र भारतको


  •   आइतबार, भदौ ०८, २०८२ मा प्रकाशित
  • रामबहादुर रावल ##

    Advertisement

    तीनदिने भ्रमणका लागि २०७२ वैशाख ३१ गते चीन गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चिनियाँ समकक्षीसँग २०७२ जेठ १ गते (मे १५, २०१५) ४१ बुँदे समझदारी गरे । समझदारीको अट्ठाइसौँ बुँदामा भनिएको छ– ‘सीमाव्यापार, दुवै देशका बासिन्दाको तीर्थाटन र अन्य आदानप्रदानका माध्यमबाट आपसी विश्वासलाई प्रभावकारी रूपमा प्रवर्द्धन गर्न सकिने कुरामा दुवै पक्ष सहमत भए साथै सीमालाई सहकारिता र विनिमय पुलका रूपमा विस्तार गर्दै सम्बन्धलाई अझ विस्तार गर्ने कुरामा पनि एकमत भए । दुवै पक्ष व्यापारवस्तुको सूची बढाउन वार्ता गर्न र नाथुला, च्याङ्ला/लिपुलेक नाका र सिप्किलामा सीमाव्यापार बढाउन पनि राजी भए ।’

    सामान्यतः तीन हजार तीन सय ८० किलोमिटर सीमा जोडिएका दक्षिण एसियाका दुई ठुला अर्थतन्त्रबिच यस्तो समझदारी हुनु न नौलो विषय हो, न त वर्जित नै मान्न सकिन्छ तर माथिको बुँदामा उल्लिखित च्याङ्ला/लिपुलेक नेपालको दार्चुला जिल्लाको पश्चिमोत्तर भागमा अवस्थित चीनसँग जोडिएको सीमानाका हो । यही लिपुलेकको दक्षिण फेदीमा भारतीय इन्डोतिब्बतियन बोर्डर पुलिस (आई.टी.बी.पी.) ५३ वर्षभन्दा अघिदेखि शिविर स्थापना गरी बसेको छ, त्यो पनि नेपाली सिमानाभित्र प्रवेश गरेर ।

    चीन, भारत र नेपालको यो सामरिक महत्त्वको नाका प्रयोग गर्ने समझदारी दुई मुलुकबिच यस्तो समयमा भएको छ, जतिखेर अर्को छिमेकी मुलुक नेपाल ठुलो प्राकृतिक विपत्तिको सामना गरिरहेको छ र पुनःस्थापना तथा पुनःनिर्माणको सहयोगका निम्ति अन्तर्राष्ट्रिय समुदायलाई गुहारिरहेको छ । यति मात्र होइन, संविधान निर्माण र राज्य पुनःसंरचनाजस्ता आन्तरिक मामिलामा दलबिच रस्साकसीपूर्ण छलफल चलिरहेका बेला दुवै छिमेकीबाट संयुक्त रूपमा भएको यो व्यवहारबाट नेपाललाई नराम्ररी झस्काइदिएको छ ।

    दुई छिमेकी मुलुकबिचको समझदारीको खुला दस्तावेजबारे सरकारी धारणा खोज्दा परराष्ट्र मन्त्रालयका प्रवक्ता ताराप्रसाद पोखरेल यस्तो प्रतिक्रिया दिन्छन्; मानौँ : सरकारलाई यस खालको समझदारीप्रति पत्यारै लागेको छैन । ॅद्विविधा सिर्जना गर्नुभन्दा पनि पहिला आफै स्पष्ट भएर यस्ता विषयमा प्रतिक्रिया दिनु ठिक हुन्छ’ उनी भन्छन्– ‘समझदारीले के भन्न खोजेको हो ? त्यसको स्कोप के हो ? कहाँसम्म हो ? हाम्रो स्वार्थमा के कति असर पुग्छ ? हामी बुझ्ने क्रममै छौँ ।’

    नेपाल सरकारले प्रस्ट भाषामा सार्वजनिक रूपमा नभने पनि चीन–भारतबिचको यो समझदारीले दुवै देशसँगको नेपालको सम्बन्धमा भने पेचिला प्रश्न तेर्स्याइदिएको छ । विगत लामो समयदेखि चिसिएको नेपाल–भारत सम्बन्धमा मोदीले केही मुद्दा पहलकदमीका साथ सल्टाउन खोजेको देखिएको थियो, जसबाट दुई मुलुकको सम्बन्धमा आशलाग्दा सङ्केत देखिएका थिए । त्यसमा शङ्काको बादल मडारिन सक्ने जोखिम यही समझदारीका कारण बढेको छ । यसअघिको आफ्नै अडान विपरीत चीनले नेपाललाई थाहै नदिई समझदारी गर्नुले उसको नेपाल सद्भावमा समेत प्रश्न उठेको छ । यसका थप प्रभाव र परिणाम के कस्ता र कहिलेसम्म देखिन्छन् भन्ने किटान गर्न नसकिए पनि समयमै सुल्झाइएन भने जटिल रूप देखिन सक्ने प्रष्ट छ ।

    लिपुलेक र कालापानी

    दार्चुला जिल्लाको पश्चिमोत्तर क्षेत्रमा अवस्थित लिपुभञ्ज्याङ प्राचीनकालदेखि नै नेपाल–तिब्बतबिचको प्रमुख व्यापारिक नाकाको रूपमा रहँदै आएको छ । समुद्र सतहदेखि पाँच हजार २९ मिटरको उचाइमा रहेको यो नाका लिम्पियाधुरादेखि ५३.१२ किलोमिटर पूर्वमा अवस्थित छ । लिम्पियाधुरा भञ्ज्याङ पनि पाँच हजार पाँच सय ३२ मिटर उचाइमा छ, जुन महाकाली नदीको प्रमुख जलाधार एवम् उद्गम भन्दै सुगौली सन्धिपछिका ब्रिटिस इन्डिया सरकारका विज्ञ अधिकारीले गरेका अध्ययन र नक्साङ्कनमा उल्लिखित छ ।

    मार्च ४, १८१६ मा नेपाल र इस्ट इन्डिया कम्पनीबिच भएको सुगौली सन्धिको धारा ५ मा महाकाली नदीलाई सिमाना निर्धारण गरेर यसभन्दा पश्चिमको भूभागमा नेपालका राजाले आफ्नो अधिकार त्याग्नुपर्ने उल्लेख गरियो । त्यसपछि महाकालीको कुन नदी मुख्य र कुन सहायक हो भन्ने खोजी भएको थियो ।

    सीमाविद् एवम् नापी विभागका पूर्वमहानिर्देशक बुद्धिनारायण श्रेष्ठका अनुसार अमेरिकास्थित वासिङ्टन डिसीको लाइब्रेरी अफ कङ्ग्रेस (जियोग्राफी एन्ड म्याप डिभिजन) तथा लन्डनको ब्रिटिस लाइब्रेरी (इन्डिया अफिस रेकर्ड्स एन्ड कलेक्सन्स) मा यस्ता कैयन् पुराना नक्सा छन् । सन् १८६० सम्ममा निर्माण भई प्रकाशित गरिएका नक्सामा भएको विवरणअनुसार लिम्पियाधुरासम्मको भूभाग नेपालकै देखिन्छ किनभने यी नक्सामा लिम्पियाधुराबाट उद्गम भएको नदीलाई ‘कालीनदी’ भनी अङ्कित गरिएका छन् ।

    श्रेष्ठकै भनाइमा छिङ वंशको शासक गुआङसु–२९ लेखी पुरानो चिनियाँ लिपिमा मुद्रित सन् १९०३ मा प्रकाशित चीनको प्राचीन एट्लसमा पनि लिम्पियाधुराबाट उद्गम भएको नदीलाई नै सिमाना मानी त्यसपूर्वको भूभागमा नेपाल लेखिएको छ । भन्छन्– ‘भारतले कालापानी लिम्पियाधुरा क्षेत्र नेपालको हो भनी मान्न आनाकानी गरिरहेको छ तापनि पुराना नक्सा, दस्तावेज, पत्राचार, जग्गाको तिरोतिरान, तत्कालीन जनगणनाका आधारप्रमाणमा यो नेपालकै भूभाग ठहरिन्छ ।’

    भारतीय सुरक्षाफौज बस्न थालेपछि स्थानीय ब्यासी समुदायले तिल्सी भन्ने गरिएको ठाउँमा सानो पानीको मुहानसँगै पोखरी निर्माण गरी नजिकै मन्दिरसमेत बनायो । त्यसैलाई कालापानी भनेर प्रचार गर्न थालियो । ब्यास क्षेत्रमै जन्मथलो भएका नेपाली सेनाका पूर्वजर्नेल गोपालसिंह बोहराले नेपाल प्रतिनिधिलाई २०६४ सालमा बताएअनुसार कृत्रिम खोला बनाएर र काल्पनिक नाम दिएर तिल्सीनुराङ क्षेत्रलाई महाकालीको मुहान भन्न थालियो ।

    लिम्पियाधुराबाट सुरु हुने कुटीयाङदी (स्थानीय भाषामा कालीनदी) महाकालीका अन्य सहायक नदीहरू टिङ्कर, लिपु र पङ्खागाडभन्दा लामो दुरी र ठुलो आकारको छ । विज्ञहरूले त्यसैलाई आधार मानेर यसलाई मुख्य कालीनदी भन्ने गरेका छन् भने स्थानीय बासिन्दा पहिलेदेखि नै खास कालीनदी कुटीयाङ्दीलाई नै मान्दै आएको बताउँछन् । यो कुरा पूर्वजर्नेल बोहराले पत्रपत्रिकामा पनि प्रकाशित गरेका थिए ।
    भारतीय सुरक्षाफौज लिपुभञ्ज्याङबाट १० किलोमिटर दक्षिण फेदीमा बसेपछि त्यहाँको सहज आवागमन अवरुद्ध भयो । २०३० सालमा नापी विभागबाट प्रकाशित नक्सामा लिपुलेकलाई पश्चिमोत्तर सिमाना देखाइएको छ, जसलाई पूर्वजर्नेल बोहरा, ऋषिराज लुम्सालीलगायत त्यस क्षेत्रका अग्रजले अस्वीकार गरेका छन् ।

    लिपुलेकमै किन प्रतिस्पर्धा ?

    चीन–भारत सम्बन्ध बिग्रेर युद्धकै तहमा पुगेपछि भारतले उत्तरी सीमामा सुरक्षा तैनाथी बढायो । तत्कालीन तिब्बती क्षेत्रबाट ताक्लाकोट हुँदै लिपुलेक भञ्ज्याङ भएर नेपाल तथा भारततर्फ पस्नेलाई सहजै पहिचान गर्न सक्ने ठाउँका रूपमा कालापानीलाई रोजेको हुन सक्ने सुरक्षा अधिकारीको अनुमान छ, जहाँ उत्तरतर्फ तिब्बती क्षेत्रको गतिविधिमा निगरानी राख्न र दक्षिणतर्फ नेपाल र भारतबाट हुने आवागमनबारे अवलोकन गर्न सुविधा छ । सुरुमा पाल टाँगेर बसेको भारतीय सुरक्षा फौज सामरिक दृष्टिकोणले उपयोगी क्षेत्र भएका कारण क्रमशः पक्की भवन थप्दै गएको छ ।

    भारतको राजधानी नयाँ दिल्लीबाट कैलाश मानसरोवर जाने सबैभन्दा छोटो बाटो लिपु भएर नै जान्छ, जसको दुरी सात सय ९९ किलोमिटर छ । यसवाहेक कैलाश जाने भारतीय तीर्थयात्रीका लागि नेपालको बाटो भएर जाने वा सिक्किमको नाथुला मात्र विकल्प छन् । भारतको नयाँदिल्लीबाट चीन पुग्ने सबैभन्दा छोटो दुरीको नाका भएकाले पनि यो दुवै देशका लागि सामरिक महत्तत्त्को छ । दिल्ली चीन/तिब्बततर्फबाट हुन सक्ने सुरक्षा खतराका लागि त्यो ठाउँमा उपस्थिति राखिरहन चाहन्छ, जुन अन्य क्षेत्रमा उसका लागि सहज छैन । चिनियाँ गतिविधि नियाल्न, नियन्त्रण र निगरानी राख्नका लागि पनि यो ठाउँजति उपयुक्त त्यस क्षेत्रमा वरपर छैन । भारत चीनबिचका उत्तरी सीमामा रहेका तीनओटा मात्र खुला व्यापार नाकामध्ये पश्चिम क्षेत्रमा यही सबभन्दा कम उचाइको नाका हो, जुन आवतजावतका लागि पनि तुलनात्मक रूपमा सहज छ ।

    चीनको पुराङ काउन्टीअन्तर्गत प्रसिद्ध प्राचीन ताक्लाकोट बजार त्यहीँबाट पुगिन्छ । प्रायः भारतीय हिन्दु धर्मावलम्बी जीवनमा एकपटक कैलाश मानसरोवर पुग्न चाहन्छन्, त्यसका लागि सहजीकरण गर्न केन्द्र र प्रदेश सरकारका विभिन्न औपचारिक संयन्त्र नै छन् । यही बाटोबाट आवागमन केन्द्रित गर्न सके व्यवस्थापन पनि सहज हुन सक्ने भारतीय अधिकारीको धारणा रहेको कूटनीतिक मामिलाका जानकार बताउँछन् ।

    उत्तरतिर चीनले ताक्लाकोटमा पूर्वाधार र सुविधा बढाउँदै अत्याधुनिक सहरका रूपमा विकास मात्र गरेको छैन, सैन्य उपस्थिति पनि बलियो बनाएको छ । लद्दाख, कस्मिरलगायतका क्षेत्रमा सीमाविवाद भएकाले पनि चीन र भारतबिच पश्चिमोत्तर सीमामा सैन्य उपस्थिति बढाउने होड नै चलेको छ । त्यसैले ती दुबै छिमेकीको सामरिक स्वार्थ लिपुलेक भञ्ज्याङमा केन्द्रित रहेको प्रष्ट छ, जहाँ नेपालसँग दुवै देशको सीमाबारे विवाद र अस्पष्टता कायम रहे पनि ती दुई मुलुकबिच आपसमा भने खासै समस्या छैन जबकि त्यसभन्दा पश्चिम क्षेत्र जम्मुकस्मिरमा उनीहरूबिच बारम्बार तनाव हुँदै आएको छ । ती दुई मुलुकका लागि यो क्षेत्र अन्य तीनओटा सीमासम्बन्धी बैठक विन्दुभन्दा बढी उपयोगी हुन सक्ने दुवै देशका रणनीतिकारले बुझेको यसअघिका विभिन्न घटनाक्रमले देखाउँछन् ।

    किन बदलियो चीन ?

    सन् १९९९ (२०५६ साल) मा अटलबिहारी बाजपेयी सरकारका भारतीय विदेशमन्त्री जसवन्त सिंहको चीन भ्रमणका बेला लिपुभञ्ज्याङलाई व्यापारिक नाका बनाउने समझदारी भएको खबर भारतीय सञ्चार माध्यममा प्रकाशित भएको थियो । त्यसको खण्डन गर्दै नेपालका लागि तत्कालीन चिनियाँ राजदूत जङ सुयाङले रिपोर्टस् क्लबमा २०५६ भदौ १७ गते भनेका थिए– ‘चीन र भारतबिच सम्पन्न सीमाव्यापार सम्झौतामा लिपुलेकलाई समेटिएको छैन’ (हेर्नुहोस्, कान्तिपुर दैनिक, २०५६ भदौ १८ गते) । यति मात्र होइन, त्यस दिन चिनियाँ राजदूत सुयाङले भनेका थिए– ‘नेपाल र चीनबिच सीमा सम्झौता हुँदा लिपुलेक भञ्ज्याङलाई त्रिदेशीय सीमाविन्दु मानिएको थियो । त्यसअनुसार कालापानी नेपालतर्फ पर्छ ।’

    २०६१ चैत २७–३० मा भारतमा १२ ओटा सम्झौता भए । चिनियाँ विदेशमन्त्री बु डाबे र भारतीय समकक्षी श्यामशरणबिच भएका ती सम्झौतामध्ये सीमासम्झौतामा कालापानी क्षेत्रमा भइरहेको भारतीय कब्जालाई मान्यता दिने प्रकारको थियो (हेर्नुहोस्, नेपाल, “चीनको कोसेली भारतलाई”, २०६२ जेठ १ गते) ।

    ‘मोडालिटिज फर द इम्प्लिमेन्टेसन अफ कन्फिडेन्स बिल्डिङ मिजर्स इन मिलिट्री फिल्ड एलङ द लाइन अफ एन्चुअल कन्ट्रोल इन इ इन्डिया–चाइना बोर्डर एरियाज’ नामको उक्त सम्झौतामा दफा ५ को उपदफा (२) मा भनिएको छ– ‘मध्यसेक्टरको लिपुलेक/च्याङला भन्ज्याङ र पूर्वी सेक्टरको किविथु–दामाईलाई संलग्न गरी सीमाबैठक बिन्दुको संयन्त्र विस्तार गर्न दुवै पक्ष सिद्धान्ततः सहमत भएका छन् ।’

    उक्त सहमति विरुद्ध नेपालमा आवाज उठेपछि मे १०, २००५ (२०६२ वैशाख २७ गते) मा परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी सो विषयमा चीन सरकारसँग सोधिएको र चीन सरकारले चिनियाँ राजदूताबासमार्फत भारत र चीनबिच हस्ताक्षर भएको उक्त सम्झौतामा कालापानीबारे कुनै सरोकार नरहेको जनाएको थियो ।

    सेप्टेम्बर १८, २०१४ (२०७१ असोज २ गते) मा चिनियाँ राष्ट्रपति सी जिन पिङको भारत भ्रमणका क्रममा भारत र चीनका विदेश मन्त्रालयबिच कैलाश मानसरोवर यात्रा गर्ने भारतीय तीर्थयात्रीका लागि नयाँ रुट खोल्ने समझदारी बन्यो । त्यसमा भारतीय विदेशमन्त्री सुषमा स्वराज र चिनियाँ समकक्षी वाङ यीले हस्ताक्षर गरे । चल्तीको लिपुभञ्ज्याङका साथै नाथुला (सिक्किम) मा पनि वार्षिक मानसरोवर यात्रा गर्न सकिने व्यवस्था समझदारीपत्रले गऱ्यो ।

    विगतका यी सबै प्रयासलाई यसपालिको मोदीको बेइजिङ भ्रमणमा निष्कर्षमा पुयाइएको छ, जसले लिपुलेक नाका प्रयोगका बारेमा दुई मुलुकबिच हुने गरेका छलफलप्रतिका नेपाली आशङ्कालाई तीतो यथार्थमा परिणत गरिदिएको छ । यसअघि चीनले भन्ने गरेको ॅलिपुलेक त्रिदेशीय सीमाविन्दु’ र ’कालापानी नेपालकै’ भन्ने अडानमा पनि आघात पुग्ने गरी सम्झौतामा हस्ताक्षर गरेपछि नेपाली पक्षलाई झनै निराशा र आश्चर्यमा पारेको छ । चीनका लागि पूर्वराजदूत राजेश्वर आचार्य भन्छन्– ‘अहिले के प्रभावमा परेर हो, चीनले यस्तो समझदारीमा हस्ताक्षर गयो भन्ने कुरा शङ्काको विषय बनेको छ, जुन नहुनुपर्ने, अस्वाभाविक र आश्चर्यजनक छ ।’

    भारतीय सन्तमहन्थ र तीर्थयात्रीहरू बझाङको उरैपछि यही नाकालाई बढी प्रयोग गर्थे । परम्परागत नेपाल, भारत र चीनबिच यही नाका भएर सीमापार व्यापार हुँदै आएको थियो । सन् १९६२ को युद्ध हुनुअघि ब्यासक्षेत्रका नेपाल–भारत सीमावर्ती गाउँबिच सम्बन्ध राम्रो थियो । १९५९ मार्च महिनामा दलाई लामा भागेर भारत पुगेपछि परम्परागत चलनमा अवरोध आउन थाल्यो । तिब्बतीले लुकीछिपी टिङ्कर र लिपुलेक हुँदै भारत पस्ने क्रम सुरु भयो । नेपाल सरकारले वास्ता गरेन तर भारत सरकारले तिब्बती आवागमनको अनुगमन र निगरानी गर्न थाल्यो । खम्पा विद्रोहपछि चीन सरकारले सहज आवागमनमा प्रतिबन्ध लगायो र अनुमति लिनुपर्ने व्यवस्था गऱ्यो ।

    चीनले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कमा आफ्नो भूमिका बढाउन चाहेको कुरा गत मङ्सिरमा सम्पन्न अठारौँ सार्क शिखर सम्मेलनताका नै बताइसकेको थियो । भारत–चीन समझदारीपत्रमा सार्कमा सहकारिता विस्तार गर्न दुवै पक्ष सहमत भएको कुरासमेत उल्लेख गर्नुले चीनको यो आकाङ्क्षामा भारतले साथ दिनेगरी लेनदेन भएको जनाउ दिन्छ । यसबाहेक कैलाश मानसरोवर धार्मिक पर्यटनको विस्तार, चीनको दिल्लीसँगको सहज पहुँच र व्यापार सञ्जाल विस्तारजस्ता दुई ठुला छिमेकीका स्वार्थले नेपालको सहभागिताबिना नै त्रिदेशीय रणनीतिक महत्त्वको र विवादग्रस्त भूमिसम्बन्धी समझदारीमा पुऱ्याएको देखिन्छ । ‘सीमाको विवाद सदाका लागि अन्त्य गर्नुपर्छ भन्ने छिमेकी नेताका भनाइ उनीहरूको व्यवहारबाट खण्डित भएको छ’ ढङ्गेल भन्छन् ।

    गृहमन्त्रालयका पूर्वसचिव श्रीकान्त रेग्मीका अनुसार नेपालले उत्तरतिरको सीमासुरक्षा र व्यवस्थापन राम्रोसँग गर्न सक्दैन भन्ने ठान्दै आएको छ ।

    ‘लिपुलेकजस्ता संवेदनशील नाका भारतीय स्वार्थ विरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धतामा उसले विश्वास गर्दैन’ रेग्मी भन्छन्– ‘त्यसैगरी राज्यको नीति एक चीन हुँदाहुँदै हाम्रै कतिपय सभासद र अधिकारकर्मी तिब्बती धर्मगुरु दलाई लामालाई भेट्न पुग्छन् । यी कारणले पनि चीन भारतलाई एक ठाउँमा ल्याएको हुन सक्छ ।’

    सीमामा के भइरहेछ ?

    नेपाल–भारत दक्षिणी सीमाक्षेत्रमा दुवै देशका प्राविधिकहरू जीर्ण सीमास्तम्भको पुनःनिर्माणमा सक्रिय रहेकै बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीन भ्रमणमा गए र त्यही क्रममा दुई मुलुकबिच पछिल्लो सम्झौता भएको छ । नेपाल–भारत सीमासमस्या सुल्झाउने कामले गति लिएकै बेलामा बेइजिङमा यस्तो समझदारी भएपछि नेपाली पक्षलाई त झस्काएको छ नै, लामो समयदेखि विवादमा रुमल्लिँदै आएको र द्विदेशीय सम्बन्धमा समेत खटपटको विषय बन्दै आएको सीमा मामिला देखिएको छ ।

    २०७१ साउन १८–१९ मा भएको मोदीको नेपाल भ्रमणका क्रममा सीमासमस्या सुल्झाउने सहमति भएको थियो । त्यसअन्तर्गत रहेर परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र उनका भारतीय समकक्षी सुषमा स्वराज रहेको संयुक्त आयोगले प्राविधिक काम गर्न सीमा कार्यदल (बाउन्ड्री वर्किङ ग्रुप) लाई जिम्मा दियो । २०७१ भदौमा सम्पन्न आयोगको बैठकले सुस्ता र कालापानी क्षेत्रको विवाद निरुपण गर्न परराष्ट्र सचिवस्तरीय संयन्त्रलाई जिम्मा दियो ।

    नापी विभागका महानिर्देशक एवम् संयुक्त कार्यदलमा सहभागी नेपाली टोलीका संयोजक मधुसूदन अधिकारी भन्छन्– ॅभारतसँग सुस्ता र कालापानीमा मात्र विवाद बाँकी छ, अरू सबै ठाउँमा प्राविधिक तहमा द्विपक्षीय समझदारी भइसकेको छ तैपनि फिल्डस्तरमा अतिक्रमण, सीमापार भोगचलनलगायतका मुद्दा छन् ।’

    त्यसो त मोदी सत्तामा आएपछि नेपाल–भारतबिचका सीमालगायतका समस्या समाधानका लागि केही देखिने काम नभएका पनि होइनन् । दुवै तर्फबाट तत्परताका साथ काम भएको आभास पनि मिलेको थियो । समस्या सुल्झाउन हिजो देखाएको गम्भीरतालाई पछिल्लो घटनाले कमजोर त बनाएको छ नै, अब त्यो क्रम अवरुद्ध हुने र पुरानै अवस्था दोहोरिने जोखिम बढेको परराष्ट्र मन्त्रालयका एक अधिकारी बताउँछन् ।
    वीरगन्ज, विराटनगर र भैरहवा गरी तीन क्षेत्रमा संयुक्त द्विदेशीय टोलीले सीमास्तम्भको अवस्थिति हेर्ने, जीर्ण स्तम्भको मर्मतसम्भार गर्ने, हराएका ठाउँमा पुनःस्थापना गर्ने, मानव अतिक्रमण हटाउनेलगायतका काम भइरहेको छ ।

    ‘ढिलो गरी सुरु भए पनि कामले गति लिएको थियो । अब के हुन्छ भन्न सकिन्न’ महानिर्देशक अधिकारी भन्छन् ।

    नेपाल–चीन सीमासम्बन्धी समस्या समाधान गर्न परराष्ट्र मन्त्रालयका सहसचिवको नेतृत्वमा ज्वाइन्ट इन्स्पेक्सन कमिटी छ । यस कूटनीतिक संयन्त्रलाई ज्वाइन्ट एक्स्पर्ट ग्रुपले प्राविधिक सहयोग गर्छ, जसमा दुवै मुलुकका नापी विभाग प्रमुखहरू रहन्छन् । अहिले तेस्रो चरणको संयुक्त निरीक्षणको काम भइरहेको महानिर्देशक अधिकारीको भनाइ छ ।

    ‘फिल्डमा इन्स्पेक्सनको काम सकियो । त्यो तथ्याङ्क ल्याएर अहिले डकुमेन्टेसनको काम भइरहेको छ’ उनी भन्छन्– ‘अब प्रोटोकल तयार गरी नक्सा बन्छ र संयुक्त रूपमा हस्ताक्षर हुन्छ ।’

    ‘चीनसँग पनि मुख्यतः सगरमाथा र कोलडपारि डाँडा (दोलखा) मा विवाद छ, जसमध्ये सगरमाथामा उचाइसम्बन्धी विवाद छ भने कोलडपारि डाँडामा सीमास्तम्भको अवस्थितिबारे’ अधिकारी भन्छन्–’रफ्तारमा काम भइरहेको छ । यस्तो बेलामा नकारात्मक वातावरण बन्ने कल्पना पनि गर्नु हुँदैन बरु नहुनेलाई पनि कसरी हुनेतिर अग्रसर गराउने र सकारात्मक दिशातिर अघि बढाउने भन्ने सोच्नुपर्छ ।’

    महानिर्देशक अधिकारीले भनेजस्तै त्रिदेशीय सम्बन्धको संवेदनशीलतालाई बुझेर तीनै पक्ष सकारात्मक दिशातर्फ अग्रसर भए त ठिकै छ तर यही कारणले चिसिएको सम्बन्ध पारस्परिक हितका अन्य विषयमा समेत प्रतिबिम्बित हुन थाल्यो भने परिस्थिति झनै जटिल बन्न सक्छ ।

    (नेपाल राष्ट्रिय साप्ताहिक, वर्ष १५, अङ्क ४४, २०७२ जेठ ३१ गते, पृ. २२–२७ बाट)

    आइतबार, भदौ ०८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.