हटियाबजार (बागलुङ) । राष्ट्रिय जनमोर्चानिकट जनवर्गीय सङ्गठनको संयुक्त कार्यशाला सम्पन्न भएको छ ।
राजमो केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापाको प्रमुख आतिथ्यमा २०८२ भदौ ७ गते शनिबार गलकोटको हटियाबजारमा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यशालाको उद्घाटन गर्दै प्रमुख अतिथि थापाले सबै जनवर्गीय सङ्गठनको सक्रियतापूर्वक परिचालनले मात्रै मुलुकको समस्या समाधानतर्फ अगाडि जान सकिने दाबी गर्नुभयो ।
राज्यसञ्चालकले नै भ्रष्टाचार, कमिसन, कालोबजारी र सहकारी ठगीजस्ता आपराधिक क्रियाकलापमा संलग्न रहेकाले मुलुक यस्तो अवस्थामा पुगेको बताउँदै उहाँले देशलाई असफल राष्ट्र हुनबाट जोगाउन सबै सङ्गठनले गणतन्त्र, राष्ट्रियता, धर्मनिरपेक्षता र जनजीविकाको आन्दोलनलाई सफल पार्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
कार्यक्रममा राजमो केन्द्रीय सदस्य गौरीश्वर पाण्डेलगायतका वक्ताले शुभकामना दिनुभएको थियो ।
कार्यशालामा राजमो बागलुङका सचिव भीमलाल पोखरेल, अखिल नेपाल किसान महासङ्घ (अप्फा) बागलुङका अध्यक्ष बेदीलाल सापकोटा, अखिल नेपाल युवक सङ्घ बागलुङका अध्यक्ष वीरेन्द्र थापा, अखिल नेपाल शिक्षक सङ्घ बागलुङका अध्यक्ष मित्रदत्त ढकाल, अखिल नेपाल राष्ट्रिय उद्योग ब्यापार सङ्घ तथा रक्तिम सांस्कृतिक अभियान बागलुङका अध्यक्ष सबिन अर्गेजा, अखिल नेपाल महिला सङ्घ बागलुङकी सचिव रुनमाया थापा, अखिल नेपाल जनजाति सम्मेलन बागलुङका सचिव तुलवीर श्रीस, जातीय समता समाज बागलुङका अध्यक्ष नरबहादुर विक र अखिल (छैठौं) बागलुङका अध्यक्ष विमल खरेलले बागलुङमा सङ्गठनको अवस्था र आगामी कार्ययोजना प्रस्तुत गर्नुभएको थियो ।
कार्ययोजनामाथि छलफलपछि कार्यशालाले २०८२ चैतसम्मका लागि जिल्ला, पालिका र वडास्तरीय बैठक, भेला र सम्मेलनको कार्यक्रम तय गरेको राजमो बागलुङले जनाएको छ ।
राजमो बागलुङका अध्यक्ष तिलक थापाको अध्यक्षता तथा सचिव भीमलाल पोखरेलको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा राजमो बागलुङका सल्लाहकार बेदिलाल सापकोटाले स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा राजमो गण्डकी प्रदेश समितिका उपाध्यक्ष धर्म कुँवर, राजमो जिल्ला सल्लाहकार भीमसेन वनलगायत विभिन्न जनवर्गीय सङ्गठनका केन्द्रीय सदस्य, प्रदेश र स्थानीय समितिका प्रतिनिधिको सहभागिता रहेको थियो ।
