विष्णु शर्मा ##
Advertisement
नेपालआमाका सन्तान हामी
आफ्नै देशमा ठगिएका छौँ
गास, बास, कपासको खोजीमा
संसारैभरि छरिएका छौँ
दुखकष्ट गरी डिग्री पास गरेर
सर्टिफिकेट बाकसमा थन्काएका छौँ
खाडी मुलुकको ९० डिग्री घामले
गम्भीर रोग लागी फर्किएका छौँ
पराइको देशमा कति भए लापत्ता
कतिको त बाकसमा लास फर्कियो
बारम्बारका अप्रिय घटनाले
यो मन मुटु धेरै थर्कियो
देशभित्र नालायक शासक छ
अब आफ्नो तलब आफै तोक्दैछ
गरिबदुखी निमुखा जनतालाई
आवाजबिना गोली ठोक्दैछ
सिमानाका जग्गा आफ्ना भन्न सक्दैन
पराइलाइ नै दिन्छ मौन समर्थन
पानीमरुवा लाछी सरकार देखेर
छिमेकीले गर्छ नियम उल्लङ्घन
नेपालआमाले पुकार्दैछन् हामीलाई
परदेशी अब फर्क भनेर
मातृभूमिले भन्दैछ हामीलाई
पराइ देश रङ्ग्याउन तर्क भनेर
नेपालआमा रुँदैछन् आज
अङ्ग अङ्ग लुछेर खायो भनेर
आफ्ना सन्तानलाई चिच्याएर भन्दैछिन्
बचाउन मलाई आओ भनेर