गणेश आचार्य ##
मान्छेले प्राकृतिक रूपमा धेरै कुरा लिएर आएको छ । कसैले त्यसलाई पहिचान गरेको छ भने कसैले पहिचान गर्न सकेको छैन । मान्छेमा क्रान्तिकारी वीरता पनि हुन्छ र कुनै कुरामा अन्धसमर्थन पनि हुन्छ । क्रान्तिकारी वीरता योजना र विचारको आधारमा हुन्छ भने अन्धसमर्थन भनेको एक प्रकारको अलौकिकता र डरको परिणाम हो । यसलाई प्राकृतिक र दार्शनिक रूपमा बुझ्न जरुरी हुन्छ ।
ऐतिहासिक रूपबाट हेर्दा मानव समाज सधैँ शक्तिशाली व्यक्तिप्रति आकर्षित रहँदै आएको छ । दर्शनले यसलाई वीरपूजक प्रवृत्ति भन्दछ । मानिसले आफू कमजोर ठान्ने र आफ्नो कमजोरीलाई असाधारण शक्ति भएको व्यक्तिमा प्रक्षेपण गर्ने प्रवृत्ति राख्दछ । यस प्रवृत्तिले मानिसलाई भय र श्रद्धा दुबै अनुभव गराउँछ । प्राचीन कालदेखि आधुनिक समाजसम्म मानिसले शक्तिशाली व्यक्तिलाई केवल सम्मान मात्र होइन, कहिलेकाहीँ दैवीशक्ति वा अविनाशी शक्ति भएको ठान्दै पूजा गरेको पाइन्छ । तिनै व्यक्तिलाई भगवान् भनेर पुज्ने गरेका दृष्टान्त हाम्रासामु धेरै छन् ।
यसको प्रतीक नेपालमा “अग्लो बाघ” को रूपमा स्थापित छ । सामाजिक चेतनामा कुनै व्यक्ति, समूह वा शक्ति भयङ्कर देखियो भने डर लाग्छ तर त्यही डरसँगै श्रद्धा पनि उत्पन्न हुन्छ । मानिस त्यसको करिस्मा र शक्ति देखेर मोहित हुन्छ । बाघ भय र शक्ति दुवैको प्रतीक हो । यसै “अग्लो बाघ” लाई मानवीय समाजमा शक्ति, साहस र करिस्माको प्रतीक मानेर पूजा गर्ने प्रवृत्ति वीरपूजा हो ।
मानव समाजमा मानिस कसरी शक्तिपूजक हुन्छ ? यसको मूलकारण उसको डर, असुरक्षा र व्यक्तिगत कमजोरीमा छ । जब मानिस आफ्नो अस्तित्वको क्रममा असहाय महसुस गर्छ, तब ऊ बाहिरी शक्ति खोज्छ । यो शक्ति कहिलेकाहीँ व्यक्तिमा, कहिलेकाहीँ संस्थामा र कहिलेकाहीँ प्रतीकात्मक देवता वा नेतारूपी बाघमा देखा पर्छ । मानिस आफ्नो सामूहिक शक्ति बिर्सेर बाहिरको करिस्मामा भरोसा गर्छ । यही मानसिक संरचना वीरपूजक प्रवृत्तिको आधार हो ।
वीरपूजक प्रवृत्ति केवल पुरुषमा मात्र होइन, महिलामा अझ तीव्र देखिन्छ । पुरुषप्रधान समाजमा मनोवैज्ञानिक दृष्टिले महिलाले जीवनमा सुरक्षा र स्थिरताको खोजी बढी गर्छन् । सामाजिक संरचनाले पनि यसलाई प्रोत्साहित गर्छन् । पुरुष शक्तिशाली, निडर र निर्णायक देखिएमा महिलामा सहज रूपमा आकर्षण उत्पन्न हुन्छ । यही कारणले कहिलेकाहीँ समाजमा नैतिक दृष्टिले कमजोर, “ट्यापे” वा “गुन्डा” छवि भएका व्यक्तितर्फ पनि राम्रा राम्रा महिला तानिन्छन् । शक्ति र करिस्माप्रति आकर्षणले महिलामा अन्धसमर्थन उत्पन्न गर्छ । यो समर्थन केवल व्यक्तिगत आकर्षणमा सीमित रहन्छ, विचारधारा, नीति वा दीर्घकालीन दृष्टि प्रायः सहायक हुन्छ ।
इतिहासले यो प्रवृत्तिको परिणाम प्रष्ट देखाएको छ । जर्मनीमा हिटलरको उदय महिलामाझ अत्यधिक लोकप्रियताको कारणसमेत थियो । महिलाले उनलाई राष्ट्रको उद्धारकर्ता र असाधारण नेता ठाने । यही अन्धसमर्थनले आलोचनात्मक चेतना कमजोर बनायो र जर्मनी द्वितीय विश्वयुद्धको विनाशमा फस्यो । इटलीमा मुसोलिनी, भारतमा इन्दिरा गान्धीको आपतकालीन लोकप्रियता, अमेरिकामा डोनाल्ड ट्रम्पको अन्धराष्ट्रवादी करिस्मा-यी सबै अन्धसमर्थनका उदाहरण हुन् । यसले समाजलाई अस्थायी उत्साह त दियो तर दीर्घकालीन सङ्कट र विभाजन ल्यायो ।
वीरपूजक प्रवृत्ति सधैँ विनाश मात्र ल्याउँदैन । जब यो प्रवृत्ति वैचारिक क्रान्तिकारी नेतृत्वसँग जोडिन्छ, त्यसले समाजलाई नयाँ दिशा दिन पनि सक्छ । लेनिनको अक्टोबर क्रान्ति व्यक्तिगत करिस्मामा आधारित थिएन, यो वैज्ञानिक समाजवादको मार्गनिर्देशनमा आधारित थियो । लाखौँ मजदुर र किसानले उनको नेतृत्वमा सामूहिक चेतनाका साथ क्रान्ति गरे । यो समर्थन व्यक्तिगत करिस्मामा आधारित थिएन, विचारधारामा आधारित थियो । त्यसैले सो क्रान्तिले पुँजीवादलाई चुनौती दिँदै समाजमा नयाँ युगको सुरुआत गऱ्यो ।
स्टालिनको नेतृत्वमा सोभियत सङ्घले सामाजिक संरचना परिवर्तन गर्न सफल भयो । उनका प्रयास केवल व्यक्तित्वको करिस्मामा निर्भर थिएन, उनले समाजवादी विचारधारालाई केन्द्रबिन्दु बनाएर आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण गराए । विश्व फासीवाद विरुद्ध सोभियत सङ्घको सङ्घर्षमा जनताको पूर्ण समर्पण, विचारधारात्मक चेतनामा आधारित थियो । यसले देखाउँछ कि वीरता र अन्धसमर्थनबिचको फरक केवल व्यक्तित्वको आकर्षणमा होइन, विचारधारात्मक चेतनामा पनि निर्भर गर्छ ।
माओको नेतृत्वमा चीनका किसानले सामन्तवाद र साम्राज्यवाद विरुद्ध लडाइँमा लागे । माओको करिस्मा मात्र होइन, उनका विचार र सामाजिक न्यायका सिद्धान्तले जनतालाई प्रेरित गऱ्यो । जनताको क्रान्तिकारी वीरता अन्धभक्तिमा आधारित थिएन, त्यो सामूहिक चेतना, वर्गसङ्घर्ष र क्रान्तिकारी उद्देश्यमा आधारित थियो । यही कारणले चीनमा सामाजिक रूपान्तरण सम्भव भयो ।
यी अन्तर्राष्ट्रिय उदाहरणले प्रमाणित गर्छन्, वीरपूजा व्यक्तिगत करिस्मामा मात्र सीमित रह्यो भने विनाश ल्याउँछ तर विचारधारामा आधारित भएमा त्यसले समाजलाई रूपान्तरण गर्न सक्छ ।
नेपालमा पनि यो प्रवृत्ति स्पष्ट देखिन्छ । नेपाली समाजमा नेता र जनताबिचको सम्बन्ध केवल व्यक्तिपूजामा सीमित छैन तर पछिल्लो समय चितवनमा रवि लामिछानेप्रति महिलामाझ देखिएको उत्साह र समर्थन विशेष गरी भावनात्मक र अन्धसमर्थनको उदाहरण बनेको छ । कतिपय महिला खुलेरै भन्छन् कि उनीहरू “रविका लागि गोपिनी बन्न तयार” छन् । यसमा केवल राजनीतिक मूल्याङ्कन, नीति वा दीर्घकालीन दृष्टिकोणको आधार छैन बरु वीरपूजक मानसिकता, करिस्मा र व्यक्तिगत आकर्षण प्रधान छ ।
यो समर्थनलाई केवल नकारात्मक मात्र ठान्नु उपयुक्त हुँदैन । यसले देखाउँछ, नेपाली समाजमा पुराना दलप्रति वितृष्णा बढिरहेको छ र नयाँ नेतृत्वको खोजी भइरहेको छ । मानिस नवीनताप्रति आकर्षित छन् तर समस्या तब उत्पन्न हुन्छ, जब यो उत्साह विचार र नीतिभन्दा व्यक्तिगत आकर्षणमा सीमित रहन्छ । अन्धसमर्थनले लोकतान्त्रिक प्रक्रियामा अस्थिरता ल्याउँछ । आलोचनात्मक चेतना कमजोर भएको समाजमा व्यक्तिगत करिस्मा मात्र आधार भएर उठेका नेताले दीर्घकालीन र सकारात्मक परिवर्तन ल्याउन सक्दैन ।
ज्वलन्त उदाहरण के हो भने सहकारी ठगी मुद्दामा रविलाई अदालतले छोड्दा न्याय मरेको छैन भनेर रमाउँछन् । थुन्ने आदेश गर्दा प्रतिशोध भयो भन्छन् । प्रतिशोध भयो मात्र हैन, अदालतमा अनुसन्धानमा भएको मान्छेको पक्षमा नाराजुलुस, हस्ताक्षर र आन्दोलनसमेत गर्छन् । यो नै खतरनाक वीरपूजक प्रवृत्ति हो । यसलाई दर्शनशास्त्रले स्वाभाविक मान्दछ तर यसको परिणाम भयानक र खतरनाक हुन्छ ।
इतिहासले प्रमाणित गरेको छ, अन्धसमर्थनले “अग्लो बाघ” लाई पूजा त गर्छ तर अन्ततः त्यो बाघले समाजलाई खाने खतरा रहन्छ जबकि सचेत क्रान्तिकारी वीरताको पूजा भयो भने,त्यही बाघ समाजको रक्षक बन्न सक्छ । नेपाली समाजले आज यही पाटो बुझ्न जरुरी छ । वीरपूजक प्रवृत्तिलाई विचार, चेतना र सामाजिक जिम्मेवारीसँग जोड्न सकियो भने मात्र देशको राजनीतिक र सामाजिक भविष्य सुरक्षित रहन्छ ।
नेपालमा रास्वपा र रवि लामिछानेको उदयले पुराना दलप्रतिको वितृष्णा र जनताको आक्रोशलाई अवसर प्रदान गर्ऱ्यो तर यो आक्रोश वैचारिक दृष्टिले कम विकसित छ । रविको नेतृत्व भावनात्मक, करिस्मामुखी र व्यक्तिगत आकर्षणमा केन्द्रित छ । नीति र दीर्घकालीन दृष्टिकोण कमजोर छ । यसले देखाउँछ कि विचारहीन आक्रोशले कुनै दीर्घकालीन राजनीतिक रूपान्तरण गर्न सक्दैन ।
दार्शनिक दृष्टिले हेर्दा, यो प्रवृत्ति केवल व्यक्तित्वको कमजोरी होइन, जनताको सामूहिक चेतनाको कमजोरी हो । हामी जब सामूहिक चेतनामा विश्वास गर्छौं, तब बाहिरी शक्ति आवश्यक हुँदैन । “अग्लो बाघ” केवल हाम्रो कल्पना हो । वास्तविक शक्ति हाम्रो सङ्गठन, श्रम र विचारमा छ ।
अन्तत प्रश्न यहीँ छ : हामी कस्तो जनता बन्ने ? भिड भएर वीरको पूजा गर्ने जनता कि विचारवान् भएर आफ्नै शक्ति चिनेको जनता ? जब हामी आफ्नै सामूहिक चेतनाको बलमा उठ्छौँ, तब इतिहास बनाउने हात हाम्रै हुन्छ, भविष्य लेख्ने कलम हाम्रै हुन्छ । बाकी सबै कुरा हाम्रै काँधमा निर्भर छ ।