काठमाडौँ । अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) ले चीन र भारतमाझ सम्पन्न लिपुलेक सम्झौता खारेज गर्न माग गरेको छ ।
अध्यक्ष लोकराज भुसालद्वारा २०८२ भदौ ५ गते बिहीबार प्रेसवक्तव्य जारी गर्दै अन्टुकले सो माग गरेको हो ।
वक्तव्यमा अन्टुकले भारत र चीनद्वारा नेपाली भूमिमाथि गरिएको हस्तक्षेप मान्य नहुने बताउँदै त्यसको अविलम्ब खारेजीको माग गरिएको छ ।
वक्तव्यमा भनिएको छ– “चीन र भारतले नेपाली भूमि लिपुलेकलाई व्यापारिक नाकाको रूपमा सञ्चालन गर्ने गरी गरेको सहमतिको अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) विरोध व्यक्त गर्दछ । महासङ्घ उक्त सम्झौता नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको विरुद्ध भएको ठहर गर्दछ । नेपाली भूमिको अतिक्रमण हुने गरी गरिएको सो सम्झौता नेपाली जनतालाई मान्य छैन । त्यसैले सो सम्झौता अविलम्ब खारेज हुनुपर्दछ । नेपाल सरकारले यस सम्बन्धमा तत्कालै चीन र भारतसित कूटनीतिक पहल तीव्र बनाउँदै यसलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्दछ । यस सम्बन्धमा हामीले सम्पूर्ण देशभक्त नेपालीसित आवाज उठाउनका लागि अनुरोध गर्दछौँ ।”