• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

अटिजमलाई हेर्ने नजर कहिले होला परिवर्तन ?


  •   बिहिबार, भदौ ०५, २०८२ मा प्रकाशित
  • विराटनगर । केही वर्षअघिको कुरा हो, मीरा चुडालको फोनमा घण्टी बज्यो । त्यो फोनको घण्टी आफन्तको छोराको जन्म दिनको भोजको निम्ताको लागि थियो । निम्ता सबै परिवारलाई नै थियो । मीराले समय मिलाएर आउने प्रतिबद्धता पनि ब्यक्त गर्नुभयो । जब कुराकानी टुङ्ग्याएर फोन राख्नुभयो, तब उहाँको मनमा कुराकानीकै क्रममा भएको एक बाक्यले चस्स घोच्यो । ॅपालो गरेर आउनु नि’ आफन्तको कुरा गराई अनुसार पालो गर्नुपर्ने कारण थियो १२ वर्षीय छोरो सेजल ।

    Advertisement

    उनको १२ वर्षीय छोरा अटिजमको समस्यामा थिए । अटिजमकै कारण अन्य बच्चाभन्दा केही भिन्न व्यवहार र चकचके स्वभाव थियो । त्यस्तो स्वभाव भएकै कारण आफन्तले छोरोलाई घरमा राखेर पालो परेर आउनु भन्ने मनसाय राख्नु मीराको लागि त्यति सामान्य लागेन । उहाँलाई धेरैपटक  सोच्न बाध्य गरायो ।

    एउटा सामान्य जन्म दिनको भोजमा जान श्रीमान् श्रीमतीले किन पालो गरेर जानुपर्ने थियो र ? आखिर अभिभावक परिवार सबै सहभागी हुनेवाला नै थिए । उहाँको मनमा अनेकौ विचारका ज्वाराभाट चल्न थाले । “तपाई जानुस, आशिर्वाद दिएर आउनुस, म बाबु हेरेर बस्छु” मीराले श्रीमानलाई जन्म दिनको भोजमा जान अनुरोध गर्दै आफू नजाने निर्णय सुनाउनुभयो । केही समयअघि फोनमा हासीखुसी कुरा गरेकी श्रीमती एकाएक नजाने भनेपछि श्रीमानले कारण जान्न चाहनुभयो । उहाँले बेलिबिस्तार लगाउनुभयो पनि । उही बाक्य, ॅपालो गरेर आउनु नि ।’

    यति कुरा मीराको कानमा मात्र गुञ्जिरहेन, उहाँको मातृबात्सल्यता नराम्रोसँग खल्बलाइदियो । त्यसैले श्रीमानले सम्झाउँदा पनि उहाँ पार्टीमा सहभागी नहुने निर्णयमै अडिग रहनुभयो । “कसैले मेरा सन्तानलाई समस्या देख्छ भने त्यो समस्या हाम्रो होइन, उनीहरुको समस्या हो, त्यसैले मलाई त्यो पार्टीमा जान मन लागेन म गइन” मीराले भन्नुभयो, “बाबुलाई अटिजम छ भनेर हामीले स्वीकारिसकेका छाँैं र हामीलाई आफ्‌नो छोरालाई अरूसँग दाँजेर हेर्नु आवश्यक लाग्दैन, उसलाई जे–जति सकिन्छ, सिकाउँदै जान्छौंँ र अटिजम सम्बन्धमा बुझ्दै, बुझाउँदै पनि जानेछौँ ।” आफन्त छिमेकी भनेकै दुःखसुखमा काम लाग्नुपर्छ भन्ने उहाँको मान्यता हो । परिवार, छिमेकी, आफन्त, समाज आखिर केका लागि ? हुन त मीराका लागि घटना नौलो घटना भने थिएन । छोरो तीन वर्ष हुँदा उनलाई अटिजमको समस्या पत्ता लागिसकेको थियो ।

    पेशाले स्टाफ नर्स, विराट नर्सिङ होममा स्टाफ नर्सको जिम्मेवारी सम्हाल्दै आउनुभएकी उहाँले छोराको हेरचाहको लागि जागिर त्याग गरेर बस्नुपर्‍यो । “त्यो मेरो लागि त्याग थिएन आवश्यकता थियो”, उहाँ भन्नुहुन्छ, “आमाहरुले सन्तानको लागि गरेको हरेक सम्झौता आवश्यकता हुन्छ, त्याग हुँदो रहेनछ तर सबैका परिवार समाजले यो कुरा कहाँ बुझ्छन् र ?” यसबीचमा उहाँले अनेकौं विभेदपूर्ण व्यवहार महशुस गर्नुपरेको अनुभव छ उहाँलाई । “म एक पढे लेखेको महिलाले त समाजबाट त्यस्ता कति दुव्यबहार अदृश्यरुपमा भोग्नुपरेको छ भने अरुको अवस्था के होला ?” उहाँ प्रश्न गर्नुहुन्छ ।

    अटिजम समस्या भएका बालबालिकाका अभिभावकले बच्चाको कारण समाजमा फरक व्यवहार भोग्नुपरेको गुनासा सुन्ने गरिन्छ । मीरा भन्नुहुन्छ, “सबैको घरमा कोही न कोही बिरामी या रोगी भएकै हुन्छन् । हामीलाई त सामान्य लाग्छ, अटिजम भएका हाम्रा छोराछोरीलाई हेर्ने नजर किन यस्तो ?”

    विसं २०७० तिर उहाँले छोरालाई भर्खरै मन्टेश्वरीमा भर्ना गराउनु भएको थियो । केही महिना बित्दै जाँदा स्कुलबाट अचम्मका खबर आउन थाले । होमवर्क नगर्ने, पेन्सिल नसमात्ने, अरुसँग नखेल्ने, कक्षामा कहिलेकाहीँ अत्यन्त चुपचाप बस्ने । शिक्षकले अभिभावकलाई भने, “बाबु अरु बच्चाभन्दा फरक देखिन्छ ।” यो कुरा सुनेपछि मीराले छोरालाई काठमाडौँस्थित कान्ति बाल अस्पतालमा लैजानुभयोे । विभिन्न परीक्षणपछि चिकित्सकले छोरालाई अटिजम स्पेक्ट्रम डिसअर्डर भएको बताएपछि उहाँ खङरङ्ग हुनुभयो । चिकित्सकको भनाइ स्पष्ट थियो अटिजमको कुनै निश्चित औषधि छैन तर समयमै थेरापी र सही व्यावहारिक अभ्यास सुरु गरिएमा बालबालिकाको क्षमता उल्लेख्य रूपमा सुधार हुन्छ ।

    बालबालिकाको अवस्था सुधार गर्ने उद्देश्यले उहाँले ॅअटिजम केयर नेपाल’ काठमाडौँमा राखेर विशेष थेरापी कक्षामा पढाउन थाल्नुभयो । तर लामो समयसम्म काठमाडौँमा कोठा लिएर बस्नु आर्थिक रूपमा सम्भव थिएन । उहाँ भन्नुहुन्छ, “त्यो समयमा बिराटनगरमा अटिजमबारे काम गर्ने कुनै संस्था थिएन, न विशेष शिक्षा दिने विद्यालय नै । हामीजस्ता अभिभावक अन्योलमा थियौँ  आफ्‌ना बच्चालाई कहाँ लैजाने ?” जसोतसो झण्डै दुई वर्ष कटिजम केयर नेपाल काठमाडौँमा बिशेष थेरापी कक्षामा राख्नुभयो ।

    विराटनगर फर्केपछि बरगाछीस्थित प्रगतिमार्ग आदर्शटोलमा अटिजमका समस्या भएका बालबालिकालाई हेर्ने अटिजम केयर सोसाइटीमा राखेर पढाउन थाल्नुभएको छ । उहाँ आफू पनि सोही संस्थामा कार्यक्रम अफिसरको  रुपमा कार्यरत हुनुहुन्छ । झण्डै एक दशकको अनुभवमा उहाँले बुझेको कुरा अभिभावकका तर्फबाट मुख्य सहयोग भनेकै अटिजमलाई स्वीकार्नु हो, त्यसपछि मात्र परिवार–छरछिमेकले उनीहरूमाथि नराम्रो व्यवहार गर्ने हिम्मत गर्दैनन् ।

    अटिजम भएका बालबालिकालाई धेरैभन्दा धेरै माया दिएर अपनत्व र सुरक्षित महसुस गराउनुपर्ने उहाँको भनाइ छ । उनीहरूका गल्ती र कमीकमजोरीलाई दण्डित गर्ने, रिसाउने, डर–त्रास भर्ने काम गरेमा उग्र व्यवहार झन् बढ्न सक्छ । उनीहरूलाई माया गर्दै जाँदा विस्तारै धेरै कुरा बुझाउन सकिन्छ । बुझाइलाई बढाउँदै लैजाने तरिका पनि यही हो । घरपरिवारले अटिजममैत्री व्यवहार गर्न र सहजै सिक्ने वातावरण बनाउन सके उनीहरूको जीवनलाई सरल र सामान्य बनाउन सकिने भएकाले उहाँ यसपतर्फ सधँै सचेत भएको बताउनुहुन्छ ।

    अभिभावककै पहलमा अटिजम केयर सोसाइटी स्थापना

    अटिजम भएका बालबालिकाको उपचार र हेरचाहका लागि विराटनगरमा अभिभावककै पहलमा २०७५ सालमा नेपाल अटिजम केयर सोसाइटी स्थापना भएको छ । यस संस्थाबाट हाल १४ जना अटिजम भएका बालबालिकाले नियमित सेवा लिइरहेका छन् । २०७० सालतिर आफ्‌ना बच्चामा अटिजमका लक्षण देखिएर काठमाडौँमा उपचार गराउन बाध्य भएका अभिभावकले स्थानीयस्तरमा सुविधा नहुँदा संस्था खोल्ने निर्णय गरेका थिए । सुरुमा करिब १०–१२ जना अभिभावकले अटिजम केयर नेपाल, काठमाडौँबाट तालिम लिएर सोसाइटी स्थापना गरेका थिए ।

    हाल यस सोसाइटीमा ३० भन्दा बढी सदस्य छन् । केही बालबालिकाले यहाँको थेरापीबाट सुधार भई सामान्य विद्यालयमा भर्ना पनि भएका छन् । सोसाइटीमा मन्टेश्वरी तालिम प्राप्त शिक्षिका र नर्समार्फत सञ्चार सीप, सामाजिक विकास र व्यावहारिक तालिम दिने गरिन्छ । सोसाइटीका अध्यक्ष बास्तोला भन्न्नुहुन्छ, “अटिजमबारे अझै समाजमा ज्ञानको कमी छ । धेरै अभिभावकले बच्चाको समस्या स्वीकार गर्न हिचकिचाउँछन् तर समयमै थेरापी सुरु गरे सुधारको सम्भावना धेरै हुन्छ ।” उहाँका अनुसार सोसाइटीले अभिभावकलाई निःशुल्क परामर्श सेवा पनि दिँदै आएको छ । अटिजमका कारण बालबालिकामा स्पष्ट रूपमा सञ्चार र सामाजिक कठिनाइ देखिने भएकाले प्रारम्भिक उमेरमै थेरापी अपरिहार्य हुने बास्तोलाले बताउनुभयो ।

    प्रदेश सरकारले सस्थाका बच्चाका लागि आइपर्ने प्राथमिक स्वास्थ्य उपचारका लागि आवश्यक प्राथमिक उपचारका लागि रु एक लाख सहयोग गर्दै आएको छ, त्यसले पनि संस्थालाई काम गर्न प्रेरणा र हौसला मिल्दै आएको छ । अहिलेसम्म पनि धेरै अभिभावकलाई अटिजम के हो थाहा नभएको बताउँछन् । धेरै अभिभावक आफ्‌ना बच्चामा अटिजमको लक्षण देखिए पनि उनीहरू स्वीकार गर्न हिचकिचाउने गरेको उहाँको भनाइ छ ।

    उहाँ भन्नुहुन्छ, “यसको मुख्य कारण भनेको ज्ञानको कमी हो । अटिजम भएका बालबालिकालाई जति चाँडो विशेष थेरापीमा सहभागी गराइन्छ, व्यवहार परिवर्तनको सम्भावना त्यति नै छिटो हुन्छ ।” अटिजमसँग लड्नु केबल बालबालिकाको मात्र होइन, परिवारकै सङ्घर्ष भएकाले  सोसाइटीले निकट भविष्यमा विशेष विद्यालय स्थापना गर्ने र जिल्लामा जनचेतना कार्यक्रम विस्तार गर्ने योजना समेत रहेको उहाँले सुनाउनुभयो ।

    अटिजम रोग होइन, समस्या हो

    अटिजम कुनै रोग नभएर यो जन्मजात हुने एक विशेष खालको विकासात्मक अपाङ्गता भएको चिकित्सकको भनाइ छ । नवजात शिशु तथा बालरोग विशेषज्ञ डा सुमित घिमिरेका अनुसार बच्चा आमाको गर्भमा विकास हुने क्रममा हुने जेनेटिक परिवर्तन वा बाहिरी कारकको असरले मस्तिष्कको स्नायु विकासमा गडबडी आउँछ, यसका कारण सामाजिक सीप, सञ्चार क्षमता र व्यावहारिक अनुकूलतामा समस्या देखिन्छ ।

    अटिजम भएका बच्चामा प्रायःघुलमिल हुन गाहे हुने, एउटै काम दोहोर्‍याइराख्ने, सीमित रुचिमा मात्र केन्द्रीत हुने र स्पष्ट रूपमा कुरा गर्न कठिनाइ हुने लक्षण देखिन्छन । “अटिजमका लक्षण प्रायः जन्मिएको तीन वर्षमै प्रष्ट चिनिन थाल्छ,” डा घिमिरे भन्नुहुन्छ । डा घिमिरेका अनुसार अटिजमबाट प्रभावितमध्ये एक तिहाइदेखि आधा बच्चाले शब्द स्पष्ट उच्चारण गर्न सक्दैनन्, जसका कारण दैनिक जीवनका गतिविधि र सामाजिक सम्बन्धमा नकारात्मक असर पर्छ । कतिपय अवस्थामा ती बच्चाले आफैंले भनेको शब्द दोहोर्‍याउने, औंलाले देखाएको वस्तु नहेर्ने, हात ओल्टाउने, टाउको घुमाउने वा ठोक्नेजस्ता क्रियाकलाप देखाउँछन् ।

    अटिजमलाई सामान्यतया अटिजम ॅस्पेक्ट्रम डिसअर्डर’ पनि भनिन्छ, जसमा लक्षण व्यक्तिपिच्छे फरक–फरक देखिन सक्छ । कोही बच्चा अत्यधिक सक्रिय हुन्छन् भने कोही अति निष्क्रिय । तर दुवै अवस्थामा पनि सामाजिक अन्तरक्रिया, सञ्चार सीप र कल्पनाशक्ति विकासमा अवरोध देखिन्छ ।

    हालसम्म अटिजमको पूर्णउपचार पत्ता लागेको छैन तर विशेष शिक्षा, व्यावहारिक तालिम र अभिभावकको सक्रिय भूमिकाले धेरै सुधार ल्याउन सकिने डा घिमिरेको धारणा छ । “उपचारको मुख्य उद्देश्य अटिजम भएका व्यक्तिलाई आफ्‌नो हेरचाह आफैँ गर्ने, सामाजिक बन्ने, व्यावसायिक सीप सिक्ने र जीवनस्तर उकासेर आत्मनिर्भर बनाउनु हो,” उहाँले भन्नुभयो । अटिजमलाई रोग ठानेर लुकाउनु हुँदैन, समयमै पहिचान गरी उपचार र तालिम सुरु गर्नु नै सबैभन्दा प्रभावकारी उपाय भएको उहाँको ठम्याइ छ ।

    बिहिबार, भदौ ०५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.