अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अलास्काको एंकोरेजमा वार्ता गरेपछि युक्रेन युद्धविराम सम्बन्धी अन्तिम निर्णय युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको हातमा रहेको बताउनुभएको छ ।
फक्स न्यूजलाई दिएको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले आफू, पुटिन र जेलेन्स्कीबीच चाँडै एक संयुक्त बैठक हुने जानकारी दिनुभयो, यद्यपि बैठकको मिति र स्थानबारे विस्तृत विवरण दिनुभएको छैन । “हामीसँग यसलाई पूरा गर्ने राम्रो सम्भावना छ, “ट्रम्पले भन्नुभयो । उहाँले युरोपेली मुलुकहरूलाई पनि अलिकति संलग्न हुनुपर्ने उल्लेख गर्दै, तर अन्ततः यो जिम्मेवारी जेलेन्स्कीको रहेको बताउनुभयो ।
यसअघि शुक्रवार, ट्रम्प र पुटिनबीच एंकोरेजस्थित संयुक्त बेस एल्मेन्डोर्फ–रिचार्डसनमा झण्डै तीन घण्टा लामो वार्ता भएको थियो । यो सन् २०२१ पछि दुई राष्ट्रपतिबीच भएको पहिलो प्रत्यक्ष भेटवार्ता थियो ।
अमेरिका–रूस शिखर बैठकः वार्ता सकारात्मक ,तर कुनै सम्झौता भएन
अमेरिका र रूसबीच २०२५ अगस्ट १५ मा अलास्काको एंकोरेज सहरमा सम्पन्न शिखर बैठकलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘अत्यन्तै फलदायी’ भएको बताउनुभयो, तर युक्रेन युद्ध समाधानका लागि अपेक्षित ठोस सहमति भने हासिल हुन सकेन।
झन्डै तीन घण्टा लामो वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले केही महत्वपूर्ण विषयमा सहमति भएको जनाए पनि युद्धविराम वा अन्तिम समाधानसम्बन्धी ठोस निर्णय सार्वजनिक गरिएको थिएन।
राष्ट्रपति पुटिनले वार्तालाई आपसी सम्मान र रचनात्मक वातावरणमा सम्पन्न भएको उल्लेख गर्दै युक्रेनको सुरक्षा सुनिश्चित गर्नु आवश्यक रहेको धारणा राख्नुभयो। साथै, उहाँले द्वन्द्वका ‘मूल कारणहरू’ समाधान नगरी स्थायी शान्ति सम्भव नहुने भन्दै युरोपेली मुलुकहरूलाई उक्साउने प्रयास नगर्न आग्रह गर्नुभयो ।
यद्यपि दुबै नेताले संवाद र समझदारीलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ, प्रारम्भिक चरणको यो बैठक तत्कालिक उपलब्धिबिना टुंगिएको देखिएको छ ।