गणेश आचार्य ##
विश्व दृष्टिकोण भनेको दुनियाँलाइ हेर्ने तरिका, मान्यता वा विश्वास हो । त्यो फरक फरक मान्छेहरूका बिचमा फरक फरक हुन सक्छ । तर सत्य भने एउटै हुन्छ । त्यो दृष्टिकोण, मान्यता वा विश्वास कुन आधारमा छ ? त्यो नै सबभन्दा महत्वपूर्ण कुरा हो । अलौकिता वा रे का आधारमा छ की, तथ्य वा हो का आधारमा छ ? त्यो नै सबैभन्दा महत्वपूर्ण कुरा हो । यहा रे का आधारको हैन, हो का आधारको विश्व दृष्टिकोणलाई प्रकाश पार्न खोजिदैछ । जो यथार्थ र ऐतिहासिक द्वन्द्वात्मक भौतिकबादी विश्व दृष्टिकोण वा कम्युनिस्ट विश्व दृष्टिकोण हो ।
कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताको विश्व दृष्टिकोण केवल एउटा राजनीतिक विचारधारामा सीमित छैन । यो एक गहिरो दार्शनिक चेतना, वैज्ञानिक विश्लेषण र समाज तथा इतिहासप्रति वैज्ञानिक दृष्टिकोण हो । यसले मानिस, प्रकृति, समाज र इतिहासलाई परिवर्तनशील र द्वन्द्वात्मक प्रक्रियाको रूपमा बुझ्छ । यसको आधारमा मुख्यतः कार्ल माक्र्स, फ्रेडरिक एंगेल्स, भ्लादिमिर लेनिन, माओत्सेतुङ जस्ता महान विचारकहरूको सिद्धान्तहरू रहेका छन्, जसले कम्युनिस्टहरूको सोचलाई आकार दिएका छन् ।
परिवर्तनशील संसार र द्वन्द्वात्मक भौतिकवाद :
कम्युनिस्ट दृष्टिकोण अनुसार संसार स्थिर छैन, सबै वस्तु, प्रक्रिया र सामाजिक संरचनाहरू निरन्तर परिवर्तनशील छन् । यो परिवर्तन आकस्मिक वा स्वतःस्फूर्त होइन द्वन्द्वात्मक भौतिकवाद अनुसार हरेक वस्तु वा प्रक्रियाको भित्री विरोधाभासहरूले त्यसलाई निरन्तर रूपान्तरण गर्छ । पुँजीवादी समाजमा श्रमिक र पुँजीपति वर्गबीचको द्वन्द्व यसको स्पष्ट उदाहरण हो । यी द्वन्द्वहरूले पुरानो सामाजिक व्यवस्था हटाएर नयाँ प्रणाली जन्माउँछन् ।
इतिहासको वैज्ञानिक व्याख्या :
कम्युनिस्टहरू इतिहासलाई देवत्व, भाग्य वा व्यक्तिको इच्छाशक्तिको प्रभावबाट होइन, सामाजिक उत्पादन प्रणाली र वर्ग संघर्षको ऐतिहासिक विकासक्रमको रूपमा बुझ्छन् । इतिहासको मुख्य चालक शक्ति वर्ग संघर्ष हो, जसले मानव समाजलाई आदिम साम्यवाद, दासप्रथा, सामन्तवाद, पुँजीवाद र समाजवादजस्ता चरणहरूमा अघि बढाएको छ। प्रत्येक युगमा सामाजिक उत्पादनका साधनहरूको विकास र उत्पादन सम्बन्धहरूको परिवर्तनले नयाँ सामाजिक र राजनीतिक व्यवस्था जन्माउँछ । उदाहरणको रूपमा, यूरोपको औद्योगिक क्रान्तिले पुँजीवादी उत्पादन प्रणालीलाई जन्म दियो, जसले नयाँ वर्गहरू पुँजीपति र मजदुर लाई जन्म दियो । यसले पुरानो सामन्तवादी व्यवस्थालाइ चुनौती दियो र नयाँ वर्ग संघर्षको कारण बन्यो । कम्युनिस्टहरू यसलाई ऐतिहासिक प्रक्रिया र सामाजिक क्रान्तिको पूर्वाधार मान्दछन् ।
वर्गीय संरचना र सामाजिक विभाजन :
कम्युनिस्ट दृष्टिकोणले मानव समाजलाई जात, धर्म, भाषा वा राष्ट्रियताको आधारमा मात्र नभई उत्पादन सम्बन्ध र वर्गीय विभाजनको आधारमा विश्लेषण गर्छ । पुँजीवादी समाजमा मुख्य दुई वर्ग हुन्छन् श्रमिक वर्ग, जसले उत्पादन गर्छ, र पुँजीपति वर्ग, जसले उत्पादनका साधनहरू नियन्त्रण गरेर श्रमिकको उत्पादनबाट नाफा आर्जन गर्छ । यस वर्गीय विभाजनले शोषण, असमानता र अन्याय सिर्जना गर्छ ।
कम्युनिस्ट आन्दोलनको मूल उद्देश्य शोषण र वर्गीय अन्यायको अन्त्य गरी समानता र स्वतन्त्रतामा आधारित नयाँ समाज स्थापना गर्नु हो । उनीहरू विश्वास गर्छन् कि श्रमिक वर्गले मात्र आफ्नो वर्ग चेतना जागृत गरेर र संगठनबद्ध भएर पुँजीवादी प्रणालीलाई परास्त गर्न सक्छ ।
सामाजिक र वैचारिक परिवर्तन :
कम्युनिस्ट दृष्टिकोणमा क्रान्ति वा परिबर्तन केवल हिंसात्मक विद्रोह मात्र होइन । यो व्यापक सामाजिक, आर्थिक र वैचारिक रूपान्तरणको प्रक्रिया हो । विद्यमान राज्य संरचना सधैं शासक वर्गको हितमा काम गर्छ, जसले शोषित वर्गका अधिकारहरू दबाउँछ । त्यसैले, राज्य एक वर्गीय उपकरण हो । कम्युनिस्टहरूले राज्यलाई शासक वर्गको नियन्त्रणबाट मुक्त गरेर श्रमिक वर्गको नेतृत्वमा नयाँ राज्य (जसलाई डिक्टेटरशिप अफ द प्रोलिटेरियट भनिन्छ) स्थापना गर्नुपर्ने विश्वास राख्छन् । यसले उत्पादनका साधनहरूको सामाजिक स्वामित्व सुनिश्चित गरी पुँजीवादको अन्त्य गर्ने र समाजवाद निर्माण गर्ने बाटो खोल्दछ ।
अन्तर्राष्ट्रिय एकता र विश्वव्यापी संघर्ष :
कम्युनिस्ट दृष्टिकोणले वर्ग संघर्षलाई अन्तर्राष्ट्रिय स्तरमा हेर्छ । ‘संसारका सबै श्रमिक एक हौँ’ भन्ने नाराले पुँजीवादी शोषणले सीमाना नचिनेको, श्रमिक वर्ग विश्वभर समान पीडामा रहेको र त्यसको सामना गर्न विश्वव्यापी एकता आवश्यक रहेको देखाउँछ ।यो अन्तर्राष्ट्रिय ऐक्यबद्धता पुँजीवादको विश्वब्यापीकरण र यसको अन्तर्राष्ट्रिय शोषणसँग लड्न अपरिहार्य छ । सोभियत संघ, चीन, क्युबा, भियतनाम जस्ता क्रान्तिहरूले विश्वभरिका श्रमिक आन्दोलनहरूलाई प्रेरणा दिएका छन् ।
धर्म र परम्परासँगको सम्बन्ध :
माक्र्सवादी दृष्टिकोणमा धर्म सामाजिक चेतनाको रूप हो, जसले जनतालाई वर्तमान सामाजिक यथार्थताबाट ध्यान हटाएर काल्पनिक राहत दिन्छ । ‘धर्म जनताको अफिम हो’ भन्ने भनाइले धर्मलाई पुँजीवादी शोषण प्रणालीको समर्थन गर्ने उपकरणको रूपमा हेर्छ । धर्मले जनतालाई शोषण र अन्यायलाई स्वीकार गर्न उत्प्रेरित गरेको हुन्छ । तर बिडम्बना आजको युगमा धेरै आफुलाई कम्युनिस्ट बताउनेहरूले धार्मिक विश्वासलाई प्रत्यक्ष चुनौती नदिई सामाजिक समन्वय र सहकार्यको माध्यमबाट धर्मसँग सन्तुलन कायम गर्ने नीति अपनाएका छन् । धर्मलाई राजनीतिक शोषणको माध्यम बन्न नदिनु उनीहरूको प्रमुख उद्देश्य हो । यो बैचारिक रुपमा कमजोर सोचाइ हो । धर्म यथार्थ कुरा नभएर काल्पनिक कुरा मात्र हो । जो यथार्थता सित मेल खादैन ।
शिक्षा र जनचेतना निर्माण :
कम्युनिस्टहरूका लागि जनचेतना निर्माण अत्यन्त आवश्यक छ । जनताले आफ्नो शोषित अवस्था बुझ्न र त्यसको कारण पत्ता लगाउन नसकेसम्म क्रान्ति सम्भव हुँदैन । त्यसैले उनीहरू शिक्षा, प्रशिक्षण, संगठन र प्रचारमार्फत वर्ग चेतना फैलाउन जोड दिन्छन् । यो चेतनाले जनतालाई राजनीतिक रूपमा सक्रिय बनाउने, आर्थिक शोषणको विरोध गर्ने र सामाजिक न्यायको लागि संघर्षमा उभ्याउने काम गर्दछ । जनचेतना बिना क्रान्तिको सम्भावना न्यून हुन्छ । त्यसैले कम्युनिस्टहरूलाई जनशक्ति निर्माण नै सबैभन्दा ठूलो प्राथमिकता हुन्छ । त्यो जनशक्ति अन्धता र काल्पनिकताको हैन यथार्थ र बैज्ञानिक धरातलमा उभिएको हुनु पर्दछ ।
न्याय र समानता :
कम्युनिस्ट दृष्टिकोणमा न्याय केवल कानुनी प्रक्रिया वा अधिकारको विषय मात्र होइन । यो सामाजिक–आर्थिक संरचनासँग घनिष्ठ रूपमा जोडिएको हुन्छ । उत्पादनका साधनहरू केही व्यक्तिहरूको कब्जामा हुँदा समानता, स्वतन्त्रता र मानव अधिकारको कुरा केवल कागजमा सीमित रहन्छ । त्यसैले कम्युनिस्टहरू निजी सम्पत्तिको अन्त्य, उत्पादनका साधनहरूको सामाजिक स्वामित्व र समान वितरण प्रणालीको पक्षमा उभिन्छन् । उनीहरूले न्यायपूर्ण समाजलाई यस्तो ठान्छन् जहाँ हरेक व्यक्तिले आफ्नो क्षमता अनुसार योगदान गर्न र आवश्यकताअनुसार लाभ लिन सक्छ ।
मानव स्वभाव र सामाजिक संरचना :
कम्युनिस्ट दर्शनले मानव स्वभावलाई समाज र वातावरणबाट निर्मित मान्दछ । पुँजीवादी समाजले मानिसलाई स्वार्थी, प्रतिस्पर्धी र लालची बनाउँछ भने, सामाजिक संरचना परिवर्तन गरेर सहकार्य, समानता र सुरक्षा सुनिश्चित गरेमा मानिस स्वाभाविक रूपमा सामूहिक हितमा सोच्ने प्राणी बन्न सक्छ । यसले कम्युनिस्टहरूलाई विश्वास दिलाउँछ कि मानिसको स्वभाव परिवर्तनशील छ र राम्रो सामाजिक संरचनाले मानिसको स्वभाव सुधार गर्न सकिन्छ। यो मानवीय चेतनामा सामाजिक प्रभावको गहिरो विश्वास हो ।
प्रविधि र विकास :
कम्युनिस्ट नेताहरू प्रविधिको विकासलाई सामाजिक परिवर्तनको शक्तिशाली साधन मान्दछन् । उत्पादनका साधनहरूमा प्रविधिको उन्नतिले उत्पादन प्रक्रियालाई सरल, दुरुस्त र प्रभावकारी बनाउँछ । तथापि, पुँजीवादी समाजमा प्रविधिको प्रयोग केवल पुँजीपति वर्गको नाफा बढाउन सीमित हुन्छ, जसले श्रमिकलाई विस्थापित गर्छ र शोषणलाई अझ गहिरो बनाउँछ । कम्युनिस्टहरू उत्पादनका साधनहरूको सामाजिककरणसँगै प्रविधिको न्यायपूर्ण वितरण र प्रयोगमा जोड दिन्छन्, जसले सबै वर्गलाई समान अवसर र जीवनस्तर सुधार्न सहयोग पुर्याउँछ ।
महिला मुक्ति र लैंगिक समानता :
कम्युनिस्ट विश्व दृष्टिकोणमा लैंगिक समानता र महिला मुक्तिमा पनि महत्वपूर्ण स्थान राख्छ । माक्र्सवादी विचारमा, महिला उत्पीडन उत्पादन सम्बन्ध र वर्ग संरचनासँग जोडिएको सामाजिक समस्या हो । कम्युनिस्ट आन्दोलनहरूले महिला अधिकार र समानताको लागि सक्रिय संघर्ष गरेका छन् । उनीहरू विश्वास गर्छन् कि महिलालाई उत्पादन प्रक्रियामा समान सहभागिता दिलाउनु र सामाजिक तथा घरेलु भूमिकामा रहेको असमानता हटाउनु क्रान्तिको आवश्यक जिम्मेवारी हो । यसले मात्र पुरा समाजलाई मुक्त पार्न सकिन्छ ।
पर्यावरण संरक्षण र दिगोपन:
कम्युनिस्टहरू पुँजीवादको सीमाहीन लाभको खोजीले प्राकृतिक स्रोतहरूको दोहन र वातावरणीय विनाश निम्त्याएको ठान्छन् । उत्पादनका साधनहरूको सामाजिक स्वामित्वद्वारा मात्र दिगो र न्यायपूर्ण पर्यावरणीय नीति सम्भव हुन्छ । कम्युनिस्ट दर्शनले मानव र प्रकृति बीचको सहजीवन सुनिश्चित गर्ने दायित्व बुझाउँछ, जसले दीर्घकालीन रूपमा मानव जातिको हित सुनिश्चित गर्छ ।
सांस्कृतिक परिवर्तन र जनसँस्कृति :
कम्युनिस्टहरू सांस्कृतिक चेतनालाई सामाजिक परिवर्तनको महत्वपूर्ण अंग मान्दछन् । सांस्कृतिक मूल्य र परम्पराहरू मानिसहरूको सोच र व्यवहारमा गहिरो प्रभाव पार्छन् । त्यसैले सांस्कृतिक पुनर्निर्माण, जनसँस्कृति विकास र सामूहिक चेतना जागरणका कार्यक्रमहरू कम्युनिस्टहरूको क्रान्तिकारी कार्ययोजनामा पर्छन् । नयाँ समाजले नयाँ संस्कृति र जीवनशैली जन्माउँछ, जुन समानता, सहयोग र सामूहिकताको मूल्यमा आधारित हुन्छ।
व्यावहारिक संगठन र कार्यशैली :
कम्युनिस्टहरूको दृष्टिकोण केवल सैद्धान्तिक होइन, व्यावहारिक कार्यशैलीमा आधारित हुन्छ । कम्युनिस्ट सदस्यहरू संगठन निर्माण, राजनीतिक कार्यक्रम, आन्दोलन, क्रान्ति र शासन प्रणालीमा सक्रिय हुन्छन् । उनको काम केवल विचार फैलाउने मात्र होइन, व्यवहारमा लागू गर्ने पनि हो । दीर्घकालीन योजना, जनसहभागिता र वैचारिक संघर्षलाई प्राथमिकता दिने उनीहरूको प्रवृत्ति हुन्छ । दर्शन जीवनलाई बदल्ने उपकरण हो भन्ने बुझाइ उनीहरूमा गहिरो हुनुपर्दछ ।
निष्कर्ष :
कम्युनिस्ट नेताहरूको विश्व दृष्टिकोण दार्शनिक, वैज्ञानिक र राजनीतिक दृष्टिकोणको समिश्रण हो । संसारलाई परिवर्तनशील र द्वन्द्वात्मक प्रक्रियाको रूपमा बुझेर वर्गीय असमानता, शोषण र अन्यायको अन्त्य गर्दै समानताको समाज निर्माण गर्ने प्रतिवद्धता यसको मूल आधार हो । मानव जातिको मुक्ति राजनीतिक मात्र नभई सामाजिक, आर्थिक र वैचारिक परिवर्तनमा निहित छ । कम्युनिस्ट दर्शन जनताको दुःख बुझ्ने मात्र होइन, त्यसको समाधान खोज्ने र लागू गर्ने संघर्ष पनि हो । कम्युनिस्टहरूका लागि दर्शन केवल अध्ययनको विषय होइन, संघर्ष र निर्माणको मार्गदर्शक सिद्धान्त हो, जसले मानव समाजलाई नयाँ युगतर्फ लैजान प्रेरित गर्छ ।