तौलिहवा । अखिल नेपाल जनजाति सम्मेलन कपिलवस्तुले एकतिसौँ विश्व आदिवासी दिवस मनाएको छ ।
केन्द्रीय सदस्य केहरसिंह पुनको प्रमुख आतिथ्यमा २०८२ साउन २४ गते (अगस्त ९) का दिन सो कार्यक्रम सम्पन्न भएको हो ।
‘सम्पूर्ण आदिवासी जनजाति एक हौँ, गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गरौँ, विश्व आदिवासी दिवसको भावना आत्मसात गरौँ’ मूल नाराका साथ उक्त दिवस मनाइएको आयोजकले जनाएको छ ।
कार्यक्रममा अखिल नेपाल किसान महासङ्घ (अप्फा) का उपाध्यक्ष शिव पौडेल, रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सदस्य मानबहादुर नेपाली र राष्ट्रिय जनमोर्चा कपिलवस्तुका अध्यक्ष रामप्रसाद बेलबासेको पनि आतिथ्य रहेको थियो ।
जिल्ला अध्यक्ष मानबहादुर सिँजापतीको अध्यक्षता तथा जिल्ला सदस्य बेगमबहादुर बुढामगरको सञ्चालनमा सो कार्यक्रम सम्पन्न भएको हो ।
उपस्थित सहभागीलाई जनजाति सम्मेलनका जिल्ला सदस्य ज्ञानबहादुर थापाले स्वागत गर्नुभएको थियो ।