काठमाडौं । भारतको उत्तराखण्डमा आएको बाढीपहिरोमा जाजरकोटको कुशे गाउँपालिकाका १३ जना र बर्दिया मधुवनका चार जना गरी कम्तिमा १७ जना नेपाली नागरिक परेको आशंका गरिएको छ ।
बर्दियाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार आफन्त र त्यहाँ रहेका नेपालीमार्फत चार जना बेपत्ता र तीन जना घाइते भएको जानकारी प्राप्त भएको हो ।
नेपालसँग सिमाना जोडिएको उत्तराखण्ड प्रदेशको उत्तरकाशी जिल्लास्थित पहाडी क्षेत्रमा २० साउनमा एक्कासी आएको बाढी र पहिरोले धराली लगायतका बस्ती तहसनहस बनाएको छ ।
त्यहाँ काम गर्नका लागि गएका नेपालीहरु पनि चपेटामा परेको बताइन्छ । भारत सरकारले सेना र विपद् उद्धार टिमको सहयोगमा खोज तथा उद्धार कार्य जारी राखेको छ ।
सरकारको कूटनीतिक प्रयास जारी
प्रधानमन्त्री केपी शर्मा ओलीले भारत उत्तराखण्डको बाढीपहिरोमा नेपालीसमेत परेको खबरले चिन्तित भएको बताएका छन् ।
साथै त्यहाँ रहेका नेपालीहरुको उद्धारका लागि दूतावासमार्फत् कूटनीतिक छलफल पनि भएको उनको भनाइ छ ।
ओलीले फेसबुकमा लेखेका छन्, ‘छिमेकी मित्रराष्ट्र भारतको उत्तराखण्डमा बाढीले ठूलो जनधनको क्षति पुगेको दुस्खद खबरले चिन्तित छु । बाढीमा १७ जनाभन्दा बढी नेपाली नागरिक पनि परेको खबर आएको छ ।
उनीहरूको उद्दारको लागि दूतावास मार्फत तत्काल कूटनीतिक छलफल भएको थियो ।’
प्रधानमन्त्री ओलीले बाढीपहिरोमा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।