काठमाडौं । ओलीले आफूसँग प्रतिस्पर्धा गर्न आउन लागेको भन्दै विद्या भण्डारीलाई एमालेको गत केन्द्रीय समितिको बैठकले सक्रिय राजनीतिबाट रोक लगाई सकेको छ । यसै बीच एमाले नेतृ भण्डारीले सम्पर्क कार्यालय खोलेकी छिन् ।
नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीले २०४८ सालको चुनाव प्रचार प्रसार गरेको घरमै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सम्पर्क कार्यालय खोलेकी छिन् । तर एमालेको हालै सम्पन्न केन्द्रीय समितिको निर्णय अनुसार आगामी भदौ २०–२२ मा ललितपुरको गोदावरीमा हुने दोस्रो विधान महाधिवेशनमा सहभागी हुन भण्डारी सहभागि हुन पाउने छैनिन् ।
‘अहिले फर्निचरसहित सामानको व्यवस्थापन भइरहेको छ’, उनीनिकट एक एमाले नेताले भने, ‘अब चाँडै नै औपचारिकरुपमा सम्पर्क कार्यालय सञ्चालनमा आउनेछन् । उहाँले यही कार्यालयबाट नेता–कार्यकर्तासँग संवादसहितका राजनीतिक गतिविधि अघि बढाउनु हुनेछ ।’
उनले काठमाडौंको थापा गाउँस्थित मण्डला नाटक घरनजिकैको उक्त घरमा आफ्नो सम्पर्क कार्यालय खोलेकी हुन् । उक्त घरमा अबको केही दिनमै कार्यालय उद्घाटन गरिने भएको छ ।
भण्डारीले पूर्वराष्ट्रपतिकै रुपमा सम्मानित भएर बस्नुपर्ने निष्कर्षसहितको अन्तरपार्टी निर्देशनसमेत ओलीले जारी गरिसकेका छन् । ओलीको निर्देशन अनुसार एमालेको ११ औँ महाधिवेशनमा समेत भाग लिन नदिने गरी निषेधीत भइसकेकी छिन् ।