काठमाडौं । दुग्धजन्य पदार्थहरू विदेशबाट अवैध रुपमा आयात भइरहँदा नेपाली उत्पादन भने बिक्री नभएर गोदाममै थन्किएका छन् । नेपालका डेरी उद्योगहरूले उत्पादन गरेका दुग्धजन्य पदार्थहरू बिक्री नभएर गोदाममै थन्किरहेको हो ।
नेपालकै उत्पादनले स्थानीय बजार धान्न सक्ने भइसकेको ठहर गर्दै सरकारले विदेशबाट दुग्धजन्य पदार्थ गएको फागुन २ मा रोक लगाएको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको कृषि तथा पशुपन्छी व्यवसाय प्रवद्र्धन महाशाखाले आयातमा रोक लगाएको हो । मन्त्रालयले यसबारे खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग लगायत सम्बन्धित निकायहरूलाई यसबारे जानकारी गराउँदै आयात रोक्न भनिसकेको थियो ।
नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालका अनुसार नेपालका डेरीहरूले किसानलाई दुग्धजन्य पदार्थको ७ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ । भुक्तानी गर्न बाँकी रकमभन्दा धेरै मूल्यमा उत्पादनहरू बिक्री नभएर गोदाममै थन्किएको उनी बताउँछन्। सरकारी स्वामित्वको दुग्ध विकास संस्थानले म्याद गुर्जिन लागेपछि मूल्य समायोजन गरेर ३ सय टन धुलो दूध र ३ सय टन मखन बिक्री गर्न नसकेर गोदाममै थन्किएको छ ।