काठमाडौं । पूर्व राष्ट्रपति विद्या भण्डारीले आफू सक्रिय राजनीतिमा फर्किने र सदस्यता नबीकरण गरेको अभिव्यक्तिसँगै एमालेमा भित्र बढेको विवाद साम्य हुने भन्दा पनि पार्टी अध्यक्ष ओली नै सशंकित भई विभिन्न अभिव्यक्तिहरू दिइरहेका छन् । च्यासलमा आजदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दैै आफूहरुमाथि हमला भइरहेको र त्यसमा लगानी नै भइरहेको जिकिर समेत गरे ।
‘अस्ति पोलिटब्युरो एकढिक्का छ, हामीले हाम्रो अभिभारा बुझेका छौँ, हाम्रो जिम्मेवारी बुझेका छौँ’ ओलीले शंका गर्दै भने, ‘मलाई अचम्म लागेको छ, हामीलाई असाधारण हमला भैराखेका छन्, यी त्यसै भएको छैनन् । लगानी गरेर भएका छन् ।’
आफूहरूले मिसन २०८४ भनेको र त्यसको संकल्प गरेर पोलिटब्युरो बैठकबाट निस्केको भए पनि हिजोदेखि त्यसलाई असफल पार्न तयारी सुरु भएको ओलीले टिप्पणी गरे।
‘हामीले मिसन ८४ भनेका छौँ, बहुमत नभै काम गर्न सकिन्न’, ओलीको भनाइ छ, ‘एकमना एकता नभै हाम्रो नीति लागू गर्न सकिन्न । अस्तिका दिन त्यो संकल्प गरेर निस्कियौँ, हिजो अरु तयारीहरू भइरहेका छन् ।’