हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको जनप्रतिनिधिहरू जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) र जिल्ला प्रहरी प्रमुख (एसपी)विरुद्ध आन्दोलित बनेका छन् ।
कार्यशैलीलाई लिएर पटक–पटक विवादमा आएकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ र प्रहरी प्रमुख उपरीक्षक विश्वराज खड्काविरुद्ध जनप्रतिनिधि पहिलोपटक आन्दोलनमा उत्रिएका हुन् ।
जनप्रतिनिधिमाथि भएका आक्रमणका घटनामा संलग्नलाई एक महिना बित्दासमेत पक्राउ गर्न नसकेको भन्दै हेटौंडाका मेयर, उपमेयर र १९ वटै वडाका वडा अध्यक्षहरु आन्दोलनमा उत्रिएका हुन् ।
प्रशासन र प्रहरीको निकम्मा पनको विरोधमा जनप्रतिनिधिहरु आन्दोलनमा उत्रिनु परेको हेटौंडा उपमहानगरका प्रवक्ता तथा १ नम्बर वडा अध्यक्ष सविन न्यौपानेले बताए ।
आफ्नै गृह जिल्ला (माइती)समेत रहेको मकवानपुरको प्रजिअ बनेर आएदेखि नै श्रेष्ठ आफ्नो कार्यशैलीका कारण विवादमा तानिएकी छन् । कमजोर समन्वयकारी भूमिका र रवाफिलो कार्यशैलीले उनलाई पटक–पटक विवादमा तानेको छ ।
हेटौंडा अस्पतालविरुद्धको रचनात्मक आन्दोलनलाई दबाउन राज्यशक्तिको दुरुपयोग गर्दै धरपकडमा उत्रिएकी श्रेष्ठविरुद्ध सडकमै नाराबाजी लागेको थियो । सडकमै टायर बालेर विरोध भएको थियो । उनीविरुद्ध नेपाली कांग्रेसलगायतका दलहरुले प्रशासन बाहिर आन्दोलन नै गरेका थिए ।
पत्रकारहरुलाई रोक्न उनले परिसरको गेटसम्मै फोटो र भिडियो खिच्न मनाही रहेको पोष्टर टाँस्न लगाएकी छन् । पत्रकारहरुलाई कार्यकक्षमै फोटो र भिडियो खिच्न रोक्दै अच भद्र व्यवहार गरेपछि पत्रकार महासंघ मकवानपुर शाखाको बैठकले उनलाई क्षमायाचना गर्न अनुरोध गर्ने निर्णयसमेत गरेको थियो ।