काठमाडौँ । नेकपा (मसाल) ले रुपन्देही प्रतिनिधिसभा क्षेत्र नं. ३ का लागि बद्रे आलम जनताले संसद्मा आउनुपर्ने ठानेको व्यक्ति भएको दाबी गरेको छ ।
महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८२ साउन ३ गते प्रेसवक्तव्य जारी गर्दै पार्टीले सो दाबी गरेको हो ।
आलमको जीवन सादगी, सरलता, इमानदारी र जनसेवामा बितेको दाबी गर्दै मसालले उहाँले जितेमा नै देशको कल्याण हुने बताइएको छ ।
मसालले राष्ट्रिय जनमोर्चाको छवि निष्कलङ्क भएको र सोहीअनुसार आलमको चरित्र कायम भएको बताएको छ ।
आगामी कात्तिक १७ गते हुने चुनावमा उहाँलाई मतदान गर्न मसालले आम जनतासित अपिल गरेको छ ।
यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :
“रुपन्देही क्षेत्र नं. ३ को उपचुनावका लागि राष्ट्रिय जनमोर्चाले राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार र तराई–मधेस जनवादी मोर्चाका अध्यक्ष का. बद्रे आलमलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । नेकपा (मसाल) ले त्यो उपचुनावमा उहाँको उम्मेदवारीलाई वीरतापूर्वक समर्थन गर्दै उहाँको पक्षमा मतदान गर्नका लागि भैरहवाका त्यो निर्वाचन क्षेत्रका सम्पूर्ण मतदातासित हार्दिक अपिल गर्दछ ।
का. बद्रे आलको उम्मेदवारी उहाँको व्यक्तिगत वा राष्ट्रिय जनमोर्चाको दलीय आवश्यकता मात्र होइन, त्यो एउटा राष्ट्रिय महत्त्वको विषय हो । त्यो राष्ट्रिय महत्त्वको विषय यस कारणले हो कि देशमा सही राजनीतिक चरित्र भएका वा इमानदार व्यक्तिहरू संसद्मा नपुग्दा देशको सम्पूर्ण राजनीतिक व्यवस्था नै अस्तव्यस्त हुने वा भ्रष्ट हुने काम भइरहेको छ । त्यसकारण संसद्मा इमानदार व्यक्तिहरू नै पुग्नुपर्दछ भन्ने जनताको आम सोचाइ रहेको छ ।
जनताले आम रूपमा जुन व्यक्तिहरू संसद्मा आउनुपर्दछ भन्ने सोच्दछन्, का. बद्रे आलम त्यही प्रकारको उम्मेदवार हुनुहुन्छ । उहाँको सम्पूर्ण जीवन सादगी, सरलता, इमानदारी र जनसेवामा बितेको छ । उहाँले कहिल्यै कुनै प्रकारको बेइमानी, ठगी वा भ्रष्टाचार गर्नुभएको छैन । देशको राजनीतिमा सबैतिर ठगी, बेइमानी, भ्रष्टाचार बढेर गएको र पृष्ठभूमिमा उहाँजस्ता उम्मेदवारले जितेर संसद्मा गएपछि नै देशको कल्याण हुने कुरा स्पष्ट र निश्चित छ । त्यस अर्थमा उहाँ रूपन्देहीको चुनावका लागि एउटा योग्य र श्रेष्ठ उम्मेदवार हुनुहुन्छ भन्ने हाम्रो दृढ मत छ । आम जनतालाई पनि त्यो थाहा भएको कुरा हो ।
चुनावमा कैयौँ उम्मेदवारले झुटा प्रकारका आश्वासन वा पैसाको बलमा चुनाव जित्ने प्रयत्न गर्दछन् । जसले त्यसरी चुनाव जित्दछन्, उनीहरूले चुनाव जितेर गएपछि पनि त्यही प्रकारको भ्रष्ट व्यवहार गर्ने गर्दछन् र त्यसरी त्यसबाट देश र जनतालाई धोका नै हुने गर्दछ । पहिलेदेखि नै देशमा त्यस्तो हुँदै आएको छ र अहिले पनि त्यस्ता उम्मेदवारले नै चुनाव जितेमा देशमा पुनः त्यही प्रकारको दुर्गति बढ्दै जानेछ । त्यस्तो हुन नदिनका लागि का. बद्रे आलमजस्ता उम्मेदवारको विजय हुनु राष्ट्रिय दृष्टिकोणले नै निर्णयात्मक महत्त्वको कुरा हो ।
कुरा खालि उहाँको मात्र होइन, उहाँले प्रतिनिधित्व गर्ने पार्टी राष्ट्रिय जनमोर्चाको पनि हो । देशको राजनीतिमा संसद्भित्र वा बाहिर त्यसको छवि सधैँ स्वच्छ र निष्कलङ्क रहने गरेको छ । संसद्बाट चुनेर गएका त्यसका सांसद वा सरकारमा मन्त्री भएका त्यसका नेताहरूले पनि कहिल्यै कुनै आर्थिक अनियमितता वा भ्रष्टाचार गरेको एउटा पनि रेकर्ड छैन । त्यसले पूर्वाधारका लागि लगेको रकमको पनि कुनै हिनामिना नगरीकन पूरै नै विकास कार्यक्रममा लगाउने गरेको छ । विरोधी पार्टीले पनि राष्ट्रिय जनमोर्चामाथि त्यस प्रकारको आक्षेप लगाउन सक्दैनन् र जनतालाई पनि त्यो आम रूपमा थाहा भएको कुरा हो । त्यसकारण राष्ट्रिय जनमोर्चाका जुन उम्मेदवार चुनावमा जितेर जान्छन्, उनीहरूले पनि त्यस प्रकारको कुनै गल्ती वा अनाचार नगर्ने कुराको नै ग्यारेन्टी छ । त्यो कुरा राष्ट्रिय जनमोर्चाका अहिलेसम्म संसद्मा जितेर गएका सबै उम्मेदवारको व्यवहारबाट नै प्रमाणित हुँदै आएको छ ।
त्यसैले राष्ट्रिय जनमोर्चाका उम्मेदवार का. बद्रे आलमलाई भारी मतले विजय गराउनको लागि नेकपा (मसाल) ले भैरहवा क्षेत्र नम्बर ३ का सम्पूर्ण मतदातासित हार्दिक अपिल गर्दछ ।”