दाङ । दाङको राप्ती फर्निचर व्यवसायी समितिले राष्ट्रिय जनमोर्चा दाङलाई ज्ञापनपत्र बुझाएको छ ।
समितिका अध्यक्ष प्रभुनाथ चौधरीले २०८२ साउन १ गते बिहीबार केन्द्रीय सदस्यसमेत रहनुभएका राजमो दाङ जिल्ला अध्यक्ष गणेश आचार्यलाई ज्ञापनपत्र बुझाउनुभएको हो ।
ज्ञापनपत्रमा फर्निचर व्यवसाय दर्ता गरेर मात्र काम गर्न दिनुपर्ने अन्यथा त्यसरी अवैध रूपमा गरिएको कामलाई रोक्नुपर्ने, काठमिस्त्रीहरूको क्षमता अभिवृद्धिको व्यावहारिक तालिम सञ्चालन गर्नुपर्ने, समिलको अनुमति लिएकालाई मात्र फर्निचर र समिल अनुमति लिएकालाई समिल चलाउन दिनुपर्ने, यस कार्यको अनुमगन गर्नुपर्नेलगायत माग राखिएका छन् ।
ज्ञापनपत्र बुझ्दै जिल्ला अध्यक्ष आचार्यले यो विषय राज्यको विषय भएको र तपाईंहरू पनि राज्यलाई फाइदा हुने कुरा नै गर्नुभएकोले यो विषयमा स्थानीय सरकार र स्थानीय प्रशासनलाई ध्यानाकर्षण गराउने प्रतिबद्धता जाहेर गर्नुभयो ।