काठमाडौँ । सरकारका बहालवाला दुई मन्त्रीहरू घुस प्रकरणमा मुछिएपछि प्रधानमन्त्री केपी शर्मा ओली धर्मसङ्कटमा परेका छन् ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र भूमिव्यवस्था, सहकारी एवम् गरिबी निवारणमन्त्री बलराम अधिकारीको विषयमा प्रधानमन्त्री सङ्कटमा परेका हुन् ।
२०८२ असार ३० गते सोमबार बिहान मात्रै बिचौलियासँग ७८ लाख घुस डिलमा प्रत्यक्ष जोडिएका मन्त्री गुप्तासँग प्रधानमन्त्री ओलीले बालुवाटारमा एक घण्टा लामो छलफल गरेका छन् ।
भाटभटेनी सुपर मार्केटको सहयोगमा निर्मित टिचिङ अस्पतालको भवन उद्घाटन तथा त्रिचालिसौँ वार्षिकोत्वस समारोहलाई सम्बोधन गर्दै गर्दा आरोपित दुवै मन्त्रीबारे ओलीले केही बोलेनन् ।
आफू नेतृत्वको क्याबिनेटका दुई मन्त्री घुस प्रकरणमा मुछिएको अडियो नै भाइरल भइसक्दा पनि प्रधानमन्त्रीको मौनता उदेकलाग्दो मानिएको छ ।
त्यसो त उनले भ्रष्टाचारीको मुखै नहेर्ने बताउँछन् । उनले आफू पनि भ्रष्टाचार नगर्ने अरूलाई पनि गर्न नदिने भनेर यसअघि दिएको भाषण अहिले पनि भाइरल भइरहेको छ ।
त्यस्तै, केही दिनयता उनले सामाजिक सञ्जालमार्फत् सरकारको प्रगति र सुशासनको दाबीसमेत गर्दै आएका छन् ।
यसअघि भिजिट भिसा प्रकरणमा दैनिक ५० लाखभन्दा बढी रकम उठाएको प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकलाई प्रधानमन्त्री ओली र काङ्ग्रेस सभापति शेरबहादुर देउवाले सबै शक्ति लगाएर जोगाएका थिए तर यसपटक गुप्ता र अधिकारीका हकमा प्रधानमन्त्रीलाई सजिलो नभएको बताइन्छ । गृहमन्त्रीको हकमा प्रमाणको रूपमा कुनै अडियो थिएन तर विमानस्थल अध्यागमनमा दैनिक उठाइने ५० लाखभन्दा बढी रकमको मुख्य अंश उनको सचिवालयसम्म पुग्ने गरेको आरोप लागेको थियो ।
तर दुई दलको संरक्षणमा उनीमाथि कुनै छानबिन समिति बनेन । अब लेखकलाई जोगाएका दुई दलमाथि एकसाथ दुई मन्त्रीमाथि लागेको आरोपको पनि सामना गर्ने देखिएिको छ ।
हालै तीन दिन झापा बसेर आएका ओलीमाथि ती दुई मन्त्रीला बर्खास्त गर्न दबाब परेको छ तर अडियो संसारभर भाइरल भइसक्दा पनि ओलीले त्यसलाई सुन्न नभ्याएकोजस्तो व्यवहार गरिरहेका छन् ।
गुप्तालाई तत्कालै बर्खास्त गरेर अधिकारीलाई पनि छानबिनमा तान्नुपर्ने दबाब बढिरहँदा ओली आफैं भने के गर्ने भन्ने अलमलमा छन् ।
कतिपय मिडियाले उनको सचिवालयलाई उद्धृत गर्दै गुप्ता र अधिकारीलाई बर्खास्त गर्ने या एक वर्ष पुगिसकेकाले सेट नै फेर्नेमा ओली अलमलमा छन् ।
‘यो सरकार बनेको पनि एक वर्ष पूरा भएको छ । अहिले प्रधानमन्त्रीज्यू प्रश्न उठेका मन्त्री मात्रै हटाउने या सेटै फेर्ने विषयमा छलफलमा हुनुहुन्छ’ समाचारमा उल्लेखछ– ॅकाङ्ग्रेससँग छलफल भइरहेकाले दुवै दलका मन्त्रीको सेट नै फेर्ने दिशामा पनि कुरा अघि बढिरहेको छ ।’
मामिला के हो ?
यस सम्बन्धमा मन्त्री गुप्ताले आफूलाई सरकारी निवासमै ल्याएर घुस रकम छाडेर गएकोसमेत स्वीकारेका छन् तर आफूले कुनै बैङ्क खाता या कतै लिएको भने स्वीकारेका छैनन् ।
कास्की जिल्ला भूमि आयोगको अध्यक्षमा आफूले भनेको व्यक्तिलाई नियुक्ति दिलाउन र त्यहाँका मालपोत अधिकृतलाई थमौती गर्नका लागि गुप्ता र विचौलियाबिच छ महिनाअघि ७८ लाख रुपैयाँ घुसको डिल गरिरहेको कुराकानी तीन दिनअघि बाहिरिएको थियो ।
अडियोमा भूमिव्यवस्था, सहकारी एवम् गरिबी निवारण मन्त्री अधिकारीलाई २० लाख घुस दिनेलगायतका कुराकानी छ । अडियो प्रमाणसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पनि उजुरी परिसकेको छ । संसद्मा यसबारे विपक्षीले सरकारलाई घेरिरहेका छन् ।
उता मन्त्री गुप्ताले अडियो एआई प्रयोग गरेर बनाइएको दाबी गरेका छन् ।