धनगढी । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीया कमला आउजीको छाउगोठमा ज्यान गएको छ ।
श्रीमानसँगै भारतमा मजदुरी गरेर आएकी कमला छोरालाई पढाउन भनेर घर फर्किएकी हुन् ।
उनका ६, ८ र १२ वर्षीय छोराहरू विद्यालय भर्ना भएर पढिरहेका थिए । भारतमा मजदुरी गरेर जोहो गरेको पैसाले कमलाले कृष्णपुरमा हालै एक तले पक्की घर पनि बनाएकी थिइन् ।
शुक्रबार साँझ कमला आउजीलाई महिनावारी बार्न परम्पराअनुसार उनी छाउगोठमा बस्दै आएकी थिइन् ।
छिमेकी सुके आउजीको घरमा बनाइएको छाउगोठमा सुत्न गएकी कमलालाई सुतेकै बेला सर्पले डसेको थियो ।
बाँया गालामा सर्पले डसेको थाहा पाएपछि उनले छरछिमेकीलाई खबर गरेकी थिइन् । बोल्न सक्ने अवस्थामै रहेकी कमलालाई डसेको करेत सर्प उनको विस्तरा नजिकै हिंडिरहेको अवस्थामा भेटिएको भिडियोसमेत स्थानीयले बनाएका थिए ।
उनका छिमेकी सुचित्र शाहकाअनुसार राति करीब साढे १२ बजे सर्पले कमलालाई डसेको कुरा थाहा भएको थियो । उनलाई तत्कालै अटो रिक्सा खोजेर उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको थियो ।
प्रादेशिक अस्पतालमा बिरामीको चापका कारण आईसीयू र भेन्टिलेटर खाली थिएनन् । झन्डै डेढ घण्टापछि कमलालाई आईसीयूमा राखेर उपचार सुरु गरिएको शाह बताउँछन् ।
‘सर्पले डसेपछि राति नै हामीलाई खबर गरिएको थियो । हामीले तत्काल अटोरिक्सामा राखेर प्रादेशिक अस्पताल पुगाएका थियौं’, शाहले भने, ‘त्यहाँ आईसीयू र भेन्टिलेटर खाली थिएन । डेढ घण्टापछि मात्र आईसीयूमा राखिएको थियो । तर उहाँलाई बचाउन सकेनौ्र ।’
बेलैमा उपचार नहुँदा अन्ततः कमलाको शनिबार साँझ ८ बजे निधन भयो ।