चितवन । चितवन जिल्ला यस वर्षको मनसुनमा बाढी र पहिरोको उच्च जोखिममा परेको छ।
जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार, यहाँका २५ हजार ७३३ घरपरिवार अर्थात् १ लाख २८ हजार ६६५ जना मानिस वर्षाका कारण प्रभावित हुने अनुमान गरिएको हो।
जिल्ला प्रशासन कार्यालयको प्रारम्भिक तथ्यांकले राप्ती नगरपालिकालाई सबैभन्दा बढी जोखिममा देखाएको छ, जहाँ १० हजार १०९ घरका ५० हजार ९५० जना प्रभावित हुने अनुमान गरिएको छ। यसैगरी, भरतपुर महानगरपालिकामा ६ हजार ६३५ घरका ३३ हजार १७५ जना, माडी नगरपालिकामा ३ हजार ९४६ घरका १९ हजार ७३० जना, र रत्ननगर नगरपालिकामा २ हजार ३८१ घरका ११ हजार ९०५ जना प्रभावित हुन सक्ने देखिएको छ।
कालिका नगरपालिकामा १ हजार पाँच परिवारका ५ हजार २५ जना, खैरहनी नगरपालिकामा ३ सय २० परिवारका १ हजार ६०० जना, र इच्छाकामना गाउँपालिकामा १ हजार २५६ परिवारका ६ हजार २८० जना मानिस प्रभावित हुने अनुमान गरिएको गरिएको छ ।
बाढीका कारण हुन सक्ने सम्भावित घटनाहरूलाई मध्यनजर गर्दै सुरक्षाका लागि सबै तयारी गरिएको पाइएको छ । नदी किनारमा बसोबास गर्नेहरूलाई सतर्कता अपनाउन अनुरोध गर्दै उद्धारका लागि आवश्यक जनशक्ति, खाद्यान्न, स्वास्थ्य सामग्री र अन्य उपकरणहरू तयारी अवस्थामा राखिएको जानकारीमा आएको छ ।