(२०६४ चैत २७ गते संविधानसभा निर्वाचनको वातावरणमाझ रौतहटको राजपुर फरहदवामा रहेको राजा इँटाभट्टामा काम गर्थे, भारतको बिहार सीतामढीका ४३ वर्षीय गौरीशङ्कर राम चमार । नेपाली काङ्ग्रेसका नेता मोहम्मद आफताब आलमको उक्त इँटाभट्टामा विस्फोटमा परेर बाँचेका तिनै चमारले २०८२ असार २२ गते आइतबार रिपोर्टस् क्लबमा आफ्नो अनुभूति यसरी व्यक्त गरे । उक्त घटनामा यथेष्ट प्रमाण नभेटिएको भन्दै उच्च अदालत वीरगन्ज इजलासले आलमलाई सफाइ दिएको छ । फैसलामा बम पड्किएकै पुष्टि हुन नसकेको उल्लेख छ । के भन्छन् चमार ? उनकै शब्दमा ।)
म रौतहटको राजा इँटाभट्टामा काम गर्दै थिएँ । हप्ताको दिन थियो । पैसा लिन मलाई बोलाएर लिएर गयो । हामी तीन जना थियौँ । मलाई भन्यो– भाइ, यता आएर तिमी आफ्नो पैसा लिएर जाऊ ।
घरको ढोकाको छेउमा पुगेको थिएँ कि बम पड्कियो । आगो लागेपछि म भागेँ । घरको पछाडि पानी थियो । त्यहाँ पानी हालेँ । फेरि म भागेँ । त्यसपछि मलाई थाहा भएन कि म कहाँ हो ? एकैचोटी मेरो आँखा खुल्यो सीतामढीमा ।
आँखा खुलेपछि मैले आमालाई सोधेँ– कहाँ हो यो ?
आमाले भन्नुभयो– यो सीतामढी हो । म तिमीलाई अस्पताल लिएर गइरहेको छु । केही चिन्ता नगर । ठिक हुन्छ तिमीलाई ।
त्यसपछि मेरो आँखा फेरि बन्द भयो । मेरो इलाज (उपचार) तीन महिनाजति भयो । मलाई साढे तीन लाख आइसी (भारतीय रुपैयाँ) खर्च भयो । आफताबले एकचोटी पनि सोधेन, मान्छे कस्तो छ, के छ ? एक रुपैया पनि दिएन । सोधेको पनि छैन ।
आज म सरकारसँग निवेदन गर्छु, त्यस्तो मान्छेलाई छोड्नुभएन । त्यसलाई कडाभन्दा कडा सजाय दिनुपऱ्यो ।
निर्वाचनको एक दिनपहिला बेलुकातिर बम विस्फोट भएको थियो । अफताब आलमको काकाको घरमा । मैले पनि सुनेको त्यहाँ धेरै मान्छे जलेको छ, गाउँको मान्छेले मलाई उठाएर कसरी भारतसम्म पुऱ्याए, मलाई थाहा भएन । दुई जना मेरो गाउँको मान्छे पनि जलेको छ, एउटाको हातमा र अर्कोको अलिकति खुट्टामा लागेको छ । कति मान्छे घाइते भए, त्यो त मलाई थाहा भएन । होस भए पनि थाहा हुन्छ, कतिलाई लागेको थियो भन्ने ।
त्यहाँ बम विष्फोट भएको छ, मलाई बम लागेको छ । अदालतको फैसलाले मलाई अन्याय भएको छ मैले भनिराखेको छु । मलाई त्यसैमा बम लागेको छ । अरू मान्छे चाहिँ कति मऱ्यो, मलाई थाहा भएन । इलेक्सनको एक दिनपहिला भएको छ । आफताब आलमले नै बम विस्फोट गराएको त मैले भन्न सक्दिनँ तर उसैको घरमा भएको छ ।
सुरुसुरुमा एसपी कार्यालय (प्रहरीचौकी) मा मैले बयान दिँदा मेरो घरमा गएको थियो । म घरमा नहुँदाखेरी त्यसको मान्छे गएर मेरो आमालाई भनेको छ– तिम्रो छोरा त गयो (मऱ्यो) अब । तिम्रो छोरा दुई/चार साल बितेपछि बाँच्दैन । आफताब आलमको मान्छे गएर भनेको छ । मलाई धम्की दिएको छ ।
आफताब आलम छुटेकोमा मलाई दुःख लाग्यो, बम बनाएर, बम फ्याँकेर । हामी पीडित मान्छे । त्यस्तो मान्छे छुट्यो, मलाई धम्की पनि दिएको छ । मलाई मार्छ, त्यस्तो मलाई लागेको छ ।
अब मलाई डर भयो । मेरो शारीरिक अवस्था नाजुक छ । काम पनि भेटिँदैन, काम गर्न पनि सक्दिनँ । म मर्ने कि बाँच्ने, मैले केही पनि देखिनँ ।
(रुँदै) कसरी बाँचौँ म यो दुनियाँमा ?