काठमाडौं । धमिराको पिसाबबाट च्याउ फल्छ भन्दा पत्याउन गाह्रो होला, तर प्रकृतिमा यस्तै अनौठा र आश्चर्यजनक घटनाहरू भइरहेका हुन्छन् । नेपालका विभिन्न जंगली क्षेत्रमा पाइने ‘देवल च्याउ’ यस्तै एक अद्भुत प्राकृतिक उपज हो, जुन धमिराले बनाएको अग्लो ढिस्को (देवल) मा उम्रन्छ र यसको उत्पत्तिको कारण धमिराको पिसाबलाई मानिन्छ । यो च्याउ पौष्टिक र अत्यन्तै स्वादिष्ट हुने भएकाले स्थानीय स्तरमा निकै लोकप्रिय छ ।
कसरी बन्छ देवल च्याउ ?
धमिरा, जसलाई एक कुशल इन्जिनियर पनि मानिन्छ, उसले आफ्नो र्याल र माटो मिसाएर वर्षौं लगाएर अग्लो र कलात्मक घर बनाउँछ, जसलाई ‘देवल’ भनिन्छ । यो देवलभित्र लाखौं कोठाहरू, रानी धमिराको विशेष कक्ष र व्यवस्थित सामाजिक संरचना हुन्छ ।
वर्षायाममा पानीले देवललाई गलाउन वा भत्काउन सक्ने खतरा हुन्छ । यसबाट बच्न धमिराले आफ्नो देवलको पर्खालमा एक प्रकारको रसायनयुक्त पिसाब छर्किन्छ । जब पानी पर्छ, यही रसायनले माटोलाई झन् बलियो बनाउँछ र देवल भत्किनुको साटो चट्टानजस्तै कडा बन्छ । यही वर्षाको पानी र धमिराको पिसाबबीचको रासायनिक प्रक्रियाले देवलको वरिपरि एक विशेष प्रकारको च्याउ उम्रने वातावरण तयार गर्छ, जसलाई ‘देवल च्याउ’ भनिन्छ।
देवल च्याउ बाहिरबाट सानो देखिए पनि यसको जरा देवलको भित्री भागसम्म फैलिएको हुन्छ । स्वादिष्ट च्याउको खोजीमा मानिसहरूले जरासहित च्याउ निकाल्नका लागि धमिराले वर्षौं लगाएर बनाएको कलात्मक देवल भत्काइदिने गर्छन् । यसले गर्दा, एक छाक मिठो च्याउका लागि प्रकृतिको एउटा अद्भुत संरचना र हजारौं धमिराको बासस्थान क्षणभरमै नष्ट हुन्छ ।
यो च्याउ धमिराको देवलबाटै निस्कने भएकाले यसको नाम ‘देवल च्याउ’ रहन गएको हो । स्थानीयहरूले यसलाई विभिन्न परिकार बनाएर खाने गर्दछन् ।
यद्यपि, देवल च्याउ जति नै स्वादिष्ट मानिए पनि जंगली च्याउको उपभोगमा भने अत्यधिक सावधानी अपनाउन विज्ञहरूले सुझाव दिएका छन् । नेपालमा हरेक वर्ष जंगली र विषालु च्याउ खाएर सयौ“ मानिस बिरामी पर्ने र कयौंले ज्यान गुमाउने दुःखद घटनाहरू सार्वजनिक हुने गरेका छन् । त्यसैले, कुनै पनि जंगली च्याउको पहिचान नगरी र राम्ररी नचिनिकन खानु ज्यादै ख तरनाक हुन सक्छ ।