पूर्णबहादुर शाही ##
कर्नाली प्रदेश हाम्रो सुर्खेत राजधानी
ज्वाला बल्न्या पञ्चकोशी, त्यही छन् तेलका खानी
कैलाश पर्वत मानसरोवर, राजा जान्या बाटो
जो जान्छ टेकेरै जान्छ, कर्नालीको माटो
हुम्ला, जुम्ला मुगु, डोल्पा, हुँदै कालीकोट
दैलेख, सुर्खेत, पश्चिम रुकुम, सल्यान, जाजरकोट
शान्ति रास्कोट लिमी भ्याली, सिञ्जा, पञ्चकोशी
ऐतिहासिक सम्पदा हुन् गरौँ यिनको खोजी
सत्ता फेऱ्यौँ सरकार फेऱ्यौँ, फेरिएन रीति
दलालीराज अन्त गरी, ल्याऔँ जननीति
भ्रष्टाचारी दलालहरू देशलाई चुस्दैछन्
व्यवस्था बदल्यौँ तर अवस्था उस्तै छन्
युवाजति पराई देश बाँझै छन् खेतबारी
बेसहारा छन् वृद्धवृद्धा रुँदैछन् चौपारी
बेथितीले जरो गाड्यो हराइगयो तिथि
अत्याचारको अन्त्य गरी बसाल्नुछ विधि
सरकार फेऱ्यौँ सत्ता फेऱ्यौँ सोचाइ फेरिएन
सत्ताकै हानथापमा व्यस्त तल हेरिएन
लुटी खान्या ठुलाबडा गरिबलाई सास्ती छ
आलोपालो सत्तास्वार्थ उनैको मस्ती छ
सुनकाण्ड, भुटानी काण्ड भिजिट भिसा काण्ड,
सुनिता–नमिता काण्ड सहकारी काण्ड
कोई कोई त मन्तरी भया कोई अध्द चोर भया
देश उभो लाग्दैन होक्या सबैको सोर भया
कहिले तल गोलाहाट मोहोर पैसा चल्थ्यो
सारपैँचो आपसमा हुन्थ्यो अर्जेन्ट गर्जो टर्थ्यो
राम छियो रमाइलो छियो, अर्गानिक खान थियो
एकआपसमा सम्मान थियो ठुलालाई मान थियो
बाइसपाखा अठार दरा उहिलेको कर्णाली
घाँटीको गल्पासो भयो सङ्घीय प्रणाली
यो प्रणाली फाल्नैपर्छ प्रयोगमा ल्याइसक्यौँ
देशलाई कङ्गाल बनाउने चालबाजी पाईसक्यौँ
(रासकोट–४, कालीकोट हाल वीरेन्द्रनगर–३ सुर्खेत)

