काठमाडौँ । राष्ट्रिय जनमोर्चाले सिन्धुपाल्चोककी ११ वर्षीया बालिकाको सामूहिक बलात्कार र हत्याको घटनाको सम्बन्धमा सामाजिक र मनोवैज्ञानिक अध्ययनको आवश्यकतामा जोड दिएको छ ।
केन्द्रीय उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलको हस्ताक्षरमा २०८२ असार १४ गते शनिबार प्रेसवक्तव्य जारी गर्दै राजमोले सो धारणा व्यक्त गरेको हो ।
राजमोले उक्त घटनाका दोषीको सम्बन्धमा तत्कालै छानबिन गरी कारबाही गरिनुपर्ने आवश्यकतामा समेत जोड दिएको छ ।
निर्मला पन्त हत्या तथा बलात्कार घटनाको सन्दर्भ जोड्दै राजमोले देशमा यस खालका घटनाको पुनरावृत्ति भएकोमा चिन्ता व्यक्त गरिएको छ ।
सिन्धुपाल्चोक घटनालाई प्रतिनिधिमूलक रुपमा लिँदै राजमोले यस्ता घटनाको तहसम्म पुग्न सरकार र सम्पूर्ण समाजको ध्यानाकर्षण गराएको छ ।
यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :
” सिन्धुपाल्चोकमा एउटी ११ वर्षीया बालिकामाथि सामूहिक बलात्कार र हत्याको घटना अत्यन्त क्रुर, अमानवीय र विभत्स घटना हो । त्यो घटनाले कैयौँ गम्भीर प्रश्नहरू उठाएको छ । त्यो घटनाको लागि जिम्मेवार व्यक्तिमाथि कानुनअनुसार कडा कारबाही वा दण्डसजाय हुनुपर्छ र हुने नै छ । त्यो अपराधका लागि जिम्मेवार व्यक्तिहरूले सायद जीवनभरि नै जेलमा बिताउनुपर्नेछ तर त्यस प्रकारको कारबाहीले मात्र त्यो अपराधजन्य कारबाहीको जबाफ दिने छैन र त्यसबारे अरु गम्भीरतापूर्वक विचार गर्नुपर्ने देखिन्छ । सरकार र सम्पूर्ण समाजको त्यसप्रति ध्यान जानुपर्ने आवश्यकता छ ।
अहिले सिन्धुपाल्चोकमा जुन घटना भयो, त्यो आफ्नो प्रकारको एउटा मात्र घटना होइन, देशमा त्यस प्रकारका कैयौँ घटना हुने गरेका छन् ।
त्यसकारण त्यो घटनालाई एउटा व्यक्तिगत वा स्थानीय घटनाको रुपमा मात्र बुझ्नु सही हुने छैन । आखिर देशमा त्यस्ता घटनाहरू किन भइरहन्छन् ? त्यस्ता घटनाहरू हाम्रो समाजको बनावट वा सामाजिक मनोविज्ञानका परिणाम हुन् । त्यसकारण त्यस प्रकारका घटनाको रोकथामका लागि सम्पूर्ण समाजको नै उपचार हुनुपर्ने आवश्यकता देखिन्छ । त्यसको लागि सर्वप्रथम यो कुराको अध्ययन गर्नुपर्ने आवश्यकता छ ः हाम्रो समाजको कुन प्रकृति वा मनोविज्ञानका कारणले त्यस प्रकारका घटना हुने गर्दछन् ? त्यो विषयको अध्ययन गर्नका लागि सरकारले विशेष ध्यान दिनुपर्ने आवश्यकता छ र देशका बुद्धिजीवी, समाजशास्त्री वा मनोवैज्ञानिकको त्यसप्रति ध्यान जानुपर्ने आवश्यकता छ ।
समाचारपत्रमा प्रकाशित समाचारको विवरणअनुसार बालिकाको आफ्नै परिवारको नाता पर्ने व्यक्तिसमेतले उनलाई मकैबारीमा लगेर सामूहिक रुपले बलात्कार गरे र उनलाई हत्या गर्नको लागि भिरबाट फालिदिए । उनी गएर एउटा रुखमा अड्किएको देखेपछि उनलाई रुखबाट झारेर ढुंगाले टाउकोमा हानेर अनुहारसमेत नचिन्ने गरेर वनमा फालिदिए । कति क्रुर र हृदयविदारक थियो त्यो घटना ।
थाह भएअनुसार उक्त बालिकाका आमा र बुबा दुबै वैदेशिक रोजगारीमा गएका थिए र उनीहरू आफ्ना दिदीभिनाजुसित बस्ने गर्दथिन् ।
त्यसरी आफ्ना अभिभावकहरूू विदेशमा भएको अवस्थामा एउटी बालिकामाथि त्यस प्रकारको बर्बर अत्याचार गरिएको थियो । त्यो अपराधका लागि जिम्मेवार व्यक्तिहरूमाथि प्रहरीले कारबाही सुरु गरिसकेका छन् तर त्यो घटनाको सामाजिक र मनोवैज्ञानिक पक्षमाथि विचार गर्दा त्यस प्रकारका अपराधको रोकथामका लागि ठोस र प्रभावशाली कदम उठाउनुपर्ने आवश्यकताप्रति हामीले सरकारको गम्भीर ध्यानाकर्षित गर्न चाहन्छौँ । अब सिन्धुपाल्चोककी ती तामांग बालिकाको मृत्यु भइसकेको छ । अब उनीप्रति श्रद्धाञ्जली प्रकट गर्नु, उनका सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नु र उक्त अपराधका लागि जिम्मेवार व्यक्तिहरूलाई दण्डसजाय दिनुबाहेक केही बाँकी रहेको छैन तर देशभरका अरु बालिकाहरूप्रति पुनः त्यस प्रकारको अन्याय हुन नपाओस्, त्यसको लागि सरकार र सम्पूर्ण समाजको गम्भीर जिम्मेवारी हुन जान्छ । यो साँच्चिकै दुःखको कुरा हो कि निर्मला पन्तको बलात्कार र हत्यापछि पनि त्यस प्रकारका घटनाको सिलसिला रोकिएको छैन ।
सिन्धुपाल्चोको घटनापछि त्यस प्रकारको सिलसिला अगाडि बढ्न नपाओस्, त्यसका लागि हामी सबैको ध्यान जानुपर्ने आवश्यकता छ ।”