असारको झरी, आकाश र धर्ती एक भएको जस्तो, अनवरत पानी बरसिरहेको थियो । पहाडका सिंढीजस्ता गराहरू पानीले भरिएर टलपल गरिरहेका थिए, मानौं प्रकृतिले आफ्नो अनुपम कला क्यानभासमा पोतेको होस् । यस्तो मौसममा धेरैजसो मानिस घरभित्रको न्यानोमा ओत लागेका थिए । तर, प्रकृतिको यो सुन्दर तर कठोर दृश्यको बीचमा, एउटा जीवन्त संघर्ष चलिरहेको थियो ।
त्यही गराको हिलोमा, शरीरमा निलो प्लास्टिक बेरेर एक आकृति निहुरिरहेकी थिइन्— सानुमाया । पानीका थोपाहरू उनको प्लास्टिकको कवचमा ठोक्किएर छरपस्ट हुन्थे, तर हिलो र पानीको चिसो सिधै उनको पैताला र हातहरूमा बिझिरहेको थियो । उनका हातहरू, चिसोले राता–पिरो भए तापनि, कुशलताका साथ धानको बीउलाई हिलो माटोबाट उखेल्दै थिइन् । हरेक बीउमा उनि आफ्नो भविष्य देखिरहेकी थिइन् ।
उनको लागि टाउकोमाथि कुनै छाना थिएन, तर केही पर एउटा कालो छाताले एउटा सानो डोको र प्लास्टिकको झोलालाई जतनले ओताइरहेको थियो। त्यो छातामुनि उनी थिइनन्, उनको आराम थिएन । त्यहाँ उनको जिम्मेवारी र माया थियो—छोराको लागि घरबाट ल्याएको खाजा, एकसरो न्यानो कपडा र आफ्नो थाकेको शरीरलाई एकछिन आड दिने चौतारीजस्तै थियो त्यो छाता । त्यो छाताले पानीबाट जोगाएको वस्तु उनको लागि आफ्नै शरीरभन्दा महत्वपूर्ण थियो ।
सानुमायाको लागि यो पानी कष्ट मात्र थिएन, यो अमृत पनि थियो । यही पानीले उनको खेत सिञ्चित हुन्थ्यो, यही पानीले रोपेको बीउलाई हुर्काउँथ्यो र सुनौला बालाहरू झुलाउँथ्यो । किसानको जीवन नै यस्तै हो—जोसँग लड्नुपर्छ, उसैसँग माया पनि गाँस्नुपर्छ। पानीले दिने चिसो र कष्ट सहेर नै धर्तीले दिने न्यानो अन्न फलाउन सकिन्छ ।
एकछिन उनले कम्मर सोझाइन् र परपरसम्म फैलिएका गराहरूलाई हेरिन् । यी गराहरू उनका बाजे– बराजुले पसिनाले सिँचेका थिए । यो माटोमा उनीहरूको रगत र पसिनाको गन्ध थियो । आज उनी त्यही माटोमा आफ्नो पसिना मिसाइरहेकी थिइन्, ताकि आउने पुस्ता भोकै नपरोस् । यो उनको लागि केवल काम थिएन, यो एउटा निरन्तरता थियो, एउटा यज्ञ थियो ।
यो तस्बिरमा देखिएकी सानुमाया एउटी व्यक्ति मात्र होइनन्, उनी सम्पूर्ण किसान जगतको प्रतिनिधि हुन् । उनी त्यो हरेक किसानको प्रतीक हुन्, जो घाम, पानी, हुरी, बतास नभनी माटोसँग खेल्छ र करोडौंका लागि अन्न उब्जाउँछ। उनीहरूको यो मौन तपस्या र त्यागलाई हामीमध्ये धेरैले आफ्नो भान्सामा पाकेको भात खाँदा सायदै सम्झिन्छौं ।
हाम्रो थालमा आउने चम्किलो चामलको हरेक दानाको पछाडि यस्तै हिलो, पानी र पसिनाले लतपतिएको एउटा जीवन्त कथा लुकेको हुन्छ । यो तस्बिर केवल एक दृश्य होइन, यो नेपाली किसानको कठोर परिश्रम, अदम्य साहस र माटोप्रतिको अटुट प्रेमले गाएको एउटा मार्मिक गीत हो । यो प्रकृतिको काव्य हो, जसलाई किसानले आफ्नो पसिनाले लेख्छ।
–जनार्दन पाण्डे
हिलोमा फुलेको ममता
हिलोमा फुलेको ममता
Advertisement
तपाईको प्रतिक्रिया