दैलेखमा एक सय १२ अर्ब घनमिटर मिथेन ग्याँस र नवलपरासीमा एक सय वर्षलाई पुग्ने कच्चा फलाम (धाउ) भेटिएको खुसीको खबर छ यद्यपि समाचारको तथ्यमा तलमाथि हुन सक्नेछ । त्यसका बाबजुद सत्य हो : दैलेखमा मिथेन ग्याँस भेटिएको छ र धौवादीमा फलामको कच्चा पदार्थ छ । कतिपयले दैलेखमा पेट्रोल भेटिएको दाबीसमेत गरेका छन् । यस विषयमा समयक्रममा थप तथ्य प्रकाशमा आउँदै गर्ला । फेरि पनि मिथेन ग्यास पेट्रोलियम पदार्थजस्तै खनिज पदार्थ हो । दैलेख र धौवादी पछिल्ला खुसीका खबर हुन् । मनाङमा युरेयिनम भेटिएको यसअघि खुलासा भइसकेको छ भने देशका विभिन्न स्थानमा विभिन्न खनिज पदार्थ छन् । यस्ता खनिज पदार्थमा धातुदेखि ग्याँस र अन्य पदार्थसम्म छन् । वास्तवमा नेपालमा खनिज पदार्थको ठोस, गम्भीर र विस्तृत अध्ययन भएकै छैन । यदि विस्तृत खोजअनुसन्धान गर्ने हो भने यहाँ प्रशस्त खनिज पदार्थ छन् । यी खनिज पदार्थले देशको अर्थतन्त्र र नेपाली जनताको जनजीवनमा फरक पार्न सक्नेछन् । यो सम्भावनाप्रति शङ्का गर्नुपर्दैन । आवश्यकता यस विषयलाई गम्भीरतासाथ लिनु हो । हाम्रो भूगोलभित्रको प्राकृतिक सम्पदा र सम्भावनाबारे सही नीति अपनाउने विषय हो । अहिले चर्चामा रहेको दैलेखको मिथेन ग्याँस र धौवादी फलामखानीको विषयलाई पनि यही सन्दर्भमा लिनुपर्दछ ।
कुनै पनि देशमा खनिज पदार्थ भेटिनु नयाँ विषय होइन । विश्वभरिका विभिन्न देशमा विभिन्न खनिज पदार्थ भेटिने गरेका छन् । यस्ता खनिज पदार्थले कैयौँ देशको कायाँपलट पनि हुने गरेको छ । उदाहरणका लागि खाडी मुलुकलाई लिन सकिन्छ । कुनै समयको हरियाली देश एकाएक बन्जर बन्दै जाँदा त्यहाँ भेटिएको पेट्रोलियम पदार्थका कारण ती मुलुक सम्पन्न र समृद्ध बनेका छन् । त्यसै प्रकारले जमिनमुनिको खनिज र जमिनमाथिको प्राकृतिक सम्पदालाई सदुपयोग गर्न सक्दा विश्वका थुप्रै देश उन्नति, प्रगति र समृद्धिको उकालोमा छन् तर हामी भने शताब्दिऔँ पछाडि छौँ । हामीकहाँ बल्लतल्ल खनिजको सम्भावनाबारे अध्ययन हुन थालेको छ । ढिलै भए पनि यस्तो अनुसन्धानलाई स्वागत गरिनुपर्दछ तर अब के हुन्छ ? नेपालले यस्तो प्राकृतिक सम्भावनालाई सामाजिक उन्नतितर्फ बदल्न सक्छ ? हामी त्यही देशका वासिन्दा हौँ, जसले पानीको महङ्खवलाई हालसम्म बुझ्न सकेको छैन । पानीलाई ‘बगिजाने प्राकृतिक वस्तु’ मात्र ठानेर त्यसको सदुपयोग गर्न सकेको छैन । प्रशस्त जलसम्पदा भएको देशका वासिन्दा हामी खानेपानीको अभाव खेपिरहेका छौँ; विद्युत्को अभाव खेपिरहेका छौ; सिँचाइको अभाव खेपिरहेका छौँ; पानीको बहुउपयोगबारेमा त हाम्रो ध्यान गएकै छैन । हाम्रो यस्तो कमजोरी, खासगरी शासक वर्गको गम्भीर दृष्टिविहीनताले गर्दा हाल देखा परेको दैलेखको मिथेन ग्याँस र धौवादी फलामखानीको उपयोग सम्भव होला ? अहिले छलफलमा रहेको आव २०८२/८३ को बजेटमा यी खनिज निजी क्षेत्रलाई सुम्पिने नीति सार्वजनिक भएको सन्दर्भमा यसप्रति शङ्का उत्पन्न हुनु स्वाभाविकै हो ।
कुनै पनि देशमा खनिज वा प्राकृतिक सम्पदा भेटिनु सामान्य विषय हो । सामान्यतः प्रकृतिले ठगेको देश कुनै छैन । मानिस यस्तो प्राणी हो, जसले जुनसुकै पदार्थको पनि उपयोग मूल्य सिर्जना गर्न सक्दछ । यस्तो अवस्थामा खनिज पदार्थलाई देश र जनताका लागि उपयोग गर्न सक्नु मुख्य विषय हो । हाम्रा देशका सत्तासिन वर्गले यस्तो अनुकूलतालाई उपयोग गर्न सक्ला ? यसबाट जनता लाभान्वित हुन सक्लान् । यो मुख्य विषय हो । त्यसकारण खनिज पदार्थ वा प्राकृतिक सम्पदा उपयोगको सन्दर्भमा देशभक्तिपूर्ण दृष्टिकोण धेरै महङ्खवपूर्ण विषय बन्न जान्छ । त्यसैले खनिज पदार्थ देश र जनताको पक्षमा उपयोग होस् । यसबारे हामी सचेत हुनुपर्दछ ।
(युगदर्शन साप्ताहिक, वर्ष १६, अङ्क ३६, २०८२ असार ११ गते बुधबारको सम्पादकीय)