टेकराज भुसाल#
अर्घाखाँची । भूमिकास्थान नगरपालिका १ र २ मा पर्ने प्रमुख व्यापारिक केन्द्र पिपलनेटा बजारको ढलान सडक निर्माण कार्य सम्पन्न भई बिहीबार औपचारिक रूपमा उद्घाटन गरिएको छ । लुम्बिनी प्रदेश सरकार अन्तर्गत सहरी विकास मन्त्रालय र भूमिकास्थान नगरपालिकाको संयुक्त लगानीमा निर्माण सम्पन्न उक्त सडकको उद्घाटन भूमिकास्थान– २ का वडाध्यक्ष बुद्धि बहादुर थापाले रिबन काटेर गर्नुभएको हो ।
उद्घाटन समारोहमा बोल्दै वडाध्यक्ष थापाले समग्र भौतिक पूर्वाधारको विकासले गाउँमा विकासको लहर ल्याएको बताउनुभयो । तर उहाँले विकास गाउँमा पसिसकेको भए पनि जनसंख्या भने सहरतिर पलायन भइरहेकोप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभयो ।
“अब विकास गाउँ पसिसकेको छ, तर मान्छेहरू सहर पस्न खोजिरहेका छन्, यो विकृति हो ।” वडाध्यक्ष थापाले भन्नुभयो, “हामीले सोंच र व्यवहारमा परिवर्तन ल्याएर गाउँमै समृद्धिको आधार तयार गर्नुपर्छ ।”
उहाँले गाउँमा नै रोजगारी, उत्पादन र अवसर सिर्जना गर्न सकिने सम्भावना रहेको उल्लेख गर्दै युवालाई सकारात्मक सोंचका साथ गाउँमै टिक्न प्रेरित गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नगर कार्यपालिका सदस्य खुमा बेलवासे, केशरा परियार, भूमिकास्थान नगरपालिका १ र २ का वडा सदस्य मेघराज खनाल, नारायणप्रसाद खनाल, गोपालबहादुर नेपाली, भूमिकास्थान युवा संजालका संयोजक तथा पत्रकार टेकराज भुसाल, निर्माण कम्पनी युनिक कन्स्ट्रक्सनका कृष्ण केसी लगायत कर्मचारी, सुरक्षा निकाय र स्थानीयको उत्साहजनक उपस्थिति रहेको थियो ।
लुम्बिनी प्रदेश सरकार अन्तर्गत सहरी विकास मन्त्रालयको करिब २९ लाख र भूमिकास्थान नगरपालिकाको २ लाख ५० हजार लगानीमा युनिक कन्स्ट्रक्सनले उक्त ढलान कार्य सम्पन्न गरेको हो ।
पिपलनेटा बजार भूमिकास्थान नगरपालिकाको आर्थिक, सामाजिक तथा व्यापारिक केन्द्रका रूपमा रहेको छ । उक्त ढलान सडक निर्माणपछि यातायात, व्यापार तथा स्थानीय जनजीवन थप सहज हुने विश्वास लिइएको छ ।
कार्यक्रम पिपलनेटा बजार सुधार समितिका अध्यक्ष तिलक खनालको अध्यक्षता, उपाध्यक्ष बिष्णु शर्माको संचालनमा सम्पन्न कार्यक्रममा सडक ढलान कार्यमा सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।