श्रीगंगानगर (भारत)। भारतका विभिन्न शहरहरुमा अलपत्र परेका नेपालीको उद्धार र राहतमा निरन्तर खटेको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले श्रीगंगानगरबाट १२० नेपालीको उद्धार गरेको छ ।
मूलप्रवाहका केन्द्रीय सदस्य कृष्ण जीसी र केन्द्रीय सदस्य एवं क्षेत्रीय सचिव त्रिभुवन भट्टराईको विशेष पहल एवं नगरअध्यक्ष गिरु प्रसाद न्यौपाने, सचिव वसन्त भण्डारी लगायत नगर समितिको सक्रियतामा शुक्रबार १२० जनालाई स्वदेश पठाइएको हो । जसमा प्युठानको प्युठान नगरपालिकाका ४५ जना, ऐरावती गाउँपालिकाका ४ जना, झिमरुकका ६१ जना र दाङका १० जना रहेका छन् ।
ति श्रमिकहरुलाई आ–आफना गाउँपालिका तथा नगरपालिकाहरुसँग सम्पर्क गराई बसमार्फत नेपाल पठाएको मूल प्रवाहले जनाएको छ । उनीहरु जेठ २५, गते बिहान कृष्णनगर नाकाबाट सम्बन्धित पालिकाहरुले आ–आफ्ना स्थानीय तहमा लगि क्वारेन्टिनमा राख्ने व्यवस्था समेत भइसकेको मूल प्रवाहका केन्द्रीय सदस्य एवं क्षेत्रीय सचिव त्रिभुवन भट्टराईले जानकारी दिनु भएको छ ।
स्मरण रहोस् श्रीगंगानगर नगर समितिले यसभन्दा पहिला पनि करिब २२० जना श्रमिक नेपालीहरुलाई स्वदेश पुर्याई आ–आफ्ना स्थानीय निकायमा क्वारेन्टिन राख्ने व्यवस्था समेत मिलाई सकिएको छ ।